वीर अस्पतालका स्व. डा. भरत थापा एकपटक काम विशेषले काठमाडौंबाहिर गएका थिए । घर फर्किएपछि श्रीमतीसंग कुरैकुरामा भनेछन्, ‘म त नर्ससंग सुतेर आएँ’ । त्यसपछि श्रीमतीले ¥याख¥याख्ति पार्दै सोधखोज गर्न थालिन् । थापाले महिला होइन पुरुष नर्स हो भनेर सम्झाए । त्यतिले पनि श्रीमतीको मन नमानेपछि थापाले ती पुरुष नर्सलाई घरमै बोलाउनुप¥यो ।
एकताका पुरुष नर्सका रुपमा कार्यरत रमेशकुमार पौडेलको अनुभव हो । स्व. थापासंग उनै पौडेल फिल्डमा जाँदाको अनुभव थियो यो । आजकाल धेरै मानिसलाई पुरुष नर्स पनि हुन्छन् भन्ने थाहा छैन । २०४६ सालअघिसम्म नर्सिङ विषय पुरुषका लागि पनि पढाइन्थ्यो । आइओएमअन्तर्गतका ६ वटा कलेजमा पढाई हुन्थ्यो । जम्मा कोटाको १० प्रतिशत दिइएको थियो पुरुषलाई कोटा । मेरिटका आधारम भर्ना गरिन्थ्यो । इन्ट्रान्स हुँदैनथ्यो ।
०४६ पछि पुरुष नर्सहरुले आन्दोलन गरे । उनीहरुको माग थियो– पुरुष नर्सका लागि २५ प्रतिशत कोटा दिइयोस्, हैन भने पुरुष नर्सलाई पढाउँने व्यवस्था नै खारेज गरियोस् । साँच्चै नै चिकित्साशास्त्र अध्ययन संस्थान –आइओएम) ले पुरुषलाई नर्सिङ पढाउने व्यवस्था नै खारेज गरिदेओस् । केही समय अस्पतालहरुमा सेवा गरेपछि हाल ओम नर्सिङ कलेजमा आबद्ध रहेर अध्यापनमा संलग्न पौडेल सम्झन्छन्, ‘त्यतिबेला आइओएमलाई पुरुष नर्सिङ टाउको दुखाई बनिरहेको रहेछ, साँच्चै नै खारेज नै गरिदियो ।’ २०४६ सालअघि जम्माजम्मी ८० पुरुषले मात्र नर्सिङ पढेका थिए ।
नर्सिङ नपढ्दै पौडेलले पाटन अस्पतालको बहिरंग सेवामा सहायक पदमा काम गरे । बिरामीलाई उनले गर्ने हेरचाह र माया देखेर अस्पतालका डा. पिबि राईले एक दिन सुझाव दिए, ‘तिमी नसिङ पढ’। अनि, उनी आईओएमअन्तर्गतको नर्सिङ कलेजमा भर्ना भए । नर्सिङ पढ्नुअघि उनले पाटन अस्पतालमै कार्यरत नर्ससंग विवाह गरेका थिए । पछि उनको अध्ययनलाई पनि श्रीमतीले नै सहयोग गरिन् ।
नर्सिङ अध्ययन सकेपछि उनको पहिलो पोष्टिङ ओखलढुंगास्थित मिसन अस्प्तालमा भयो । त्यसबेला मिसन अस्पताल उपचारका लागि चर्चित थिए । त्यहाँ रहँदा दुई दिनसम्म हिडेर दुर्गम गाउँमा पुगेर सेवा दिए । खोप कार्यक्रम चलाए । डाक्टरले कुन विभागमा काम गछौं भनेर सोध्दा उनले सर्जरी भनेर जवाफ दिए । ‘किनकि मलाई घाउसंग काम गर्न मन पथ्र्यो’ उनी सम्झन्छन् ।
केही समय पाटन अस्पतालमा पनि सेवा दिए उनले । पुरुषहरुको अपरेशन गर्दा उनलाई नै रोजिन्थ्यो । केही समय सरकारी सेवामा बिताएपछि उनले बिरामीलाई सेवा दिन र हेरचाह गर्न ‘अन्नाचिप’ नामक संस्था खोले । ‘मैले तीन दिनमा मर्छ भन्ने बिरामीलाई तीन महिना र अस्पतालले उपचार हुँदैन भनिएका बिरामीलाई केही समय नर्सिङ सेवा दिएर सहज र रमाइलो वातावरणसमेत बनाई दिएको छु ।’ उनी भन्छन् । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट नर्सिङमा स्नातक (बीएन) तथा एमएसी पनि गरेका छन् ।
रोचक अनुभव
उनी थिए नर्स । तर, नेपाली समाजमा महिला भए नर्स र पुरुष भए डाक्टर हुन्छ भन्ने छाप परेको छ । त्यसले धेरै बिरामीले उनलाई डाक्टर भनेर बोलाउथे । तर, उनीचाहिँ ‘म नर्स हुँ’ भन्थे । बिरामी अनौठो मान्थे । सबैभन्दा रमाईलो बातावरण सिर्जना हुन्थ्यो, डाक्टरसंग तालिममा जाँदा । तालिममा गएका डाक्टरलाई उनी जिस्काउँदैं भन्थे, ‘घरमा भनिदिउँ नर्ससंग संगै सुतेको भनेर ?’ डाक्टरहरुले उनलाई ‘कृष्णजी’ भनेर पनि जिस्काउथे । कयौं महिला नर्सबीच उनीमात्रै एक्ला पुरुष हुन्थे । सुरुका दिन न उनलाई महिला नर्ससंग काम गर्न अप्ठेरो लाग्यो । पछि सहज हुँदैं गयो ।
चाहिन्छ पुरुष नर्स
विश्वभर पुरुष नर्स पनि धेरै भईसकेका छन् । नेपालमा पनि पुरुष बिरामीलाई पुरुष नर्स र महिला बिरामीका लागि महिला नर्स चाहिन्छ । ‘पुरुष नर्सहरु जहाँ पनि, जुनै परिस्थितिमा पनि काम गर्न सक्ने हुन्छन् ।’ उनी भन्छन् ।
अझै बिरामीको सेवामा
अध्यापनका अतिरिक्त उनी अझैं पनि बिरामीको सेवामै तल्लिन छन् । उनले घर र आफ्नै संस्थामार्फत् सेवा दिइरहेका छन् । ‘मेरो सेवा एकपटक लिएपछि मानिसहरु पुनः लिन आउँछन् । पैसा केही महंगो छ । तर गुणस्तरीय सेवा लिने हो भने केही बढी पैसा त अवश्य लाग्छ’ उनी भन्छन् । पौडेलको अनुभवमा मीठो बोली र व्यवहारले बिरामीको ५० प्रतिशत रोग ठीक हुन्छ । २५ मात्र औषधिको भर हो भने बाकी नर्स तथा अन्य कारणले भूमिका खेल्छ । ‘क्रोनिक खालको रोगका लागि तनर्सिङ केयर सबैभन्दा महत्वपूर्ण हुन्छ’ उनले भने ।



