बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजदेखि शुरु भएको दोस्रो रमपम झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घटन खेलमा आयोजक झापा ११ एफसीले शेर एफ सी कालिम्पोङलाई शून्यका विरुद्ध ५ गोल गरेको छ । झापा ११ को दवदवा रहेको आजको खेलमा शुरुको ४ मिनटमा नै झापाका जर्सी नं. ५ का खेलाडी संजोग राईले पहिलो गोल गरेर खाता खोलेका थिए । त्यसपछि जर्सी नं. १८ का बुद्ध चेम्जोङले ३६औं मिनेटमा र जर्सी नं. १५ का पूजन उपरकोटीले ४०औं मिनेटमा तेस्रो गोल गरेर टीमलाई अग्रता दिलाए । मध्यान्तर अघि ३-० मा अडिएको खेलमा झापा ११ लगातार हावी भयो भने दोस्रो हाफमा पनि उसले थप २ गोल गर्न भ्यायो । दोस्रो हाफको ८४औं मिनेटमा क्याप्टेन कर्ण लिम्बूले अर्को गोल थपे भने ८६औं मिनेटमा जर्सी नं. २० का अफ्रिकन खेलाडी पिटर सेगुनले पाँचौं गोल थपेर खेल अवधि सकियो ।
आजको खेलको म्यान अफ दि म्याच झापा ११ का जर्सी नं. ५ का खेलाडी संजोग राई चुनिए । उनलाई आयोजकका तर्फबाट नगद सात हजार ५०० रुपैयाँ र चाँदीको मेडल प्रदान गरियो । पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरिएको प्रतियोगितामा उनले खेलमा विजयभन्दा पहिलो कुरा मित्रता र मनोरञ्जनको आवश्यकता सुझाए । नेपालमा खेलको अवस्था सुधार गर्न राजनीतिक क्षेत्रबाट सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाउँदै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सरकारका तर्फबाट पनि यथेष्ट भूमिका रहनु पर्ने बताए । प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बाल्मिकी एजुकेशन फाउण्डेसनका विद्यार्थीहरुले स्वागत नृत्य गरेका थिए ।



