
सुमनसिंह पौडेल
-सुमनसिंह पौडेल
एउटा किसान पक्कैपनी खोर शब्द संग परिचित छ । किनकी खोरले किसानको ठूलो काम गरिदिएको हुन्छ । त्यसैले किसानको लागि खोर ठूलो प्रयोजनको साधन हो । खोर ओरिपरिबाट बारिएको एउटा सानो ढोका भएको र त्यस ढोका बाहिरबाट सांचो लगाउन मिल्नेगरी किसानले आफ्नो बिवेकको अनुकुलतामा निर्माण गरेको हुन्छ ।
कुकुर , बाख्रा, गाई, बिरालो, पक्षिंजन्य जनवारहरु यी सबैलाइ एउटा किसानले त्यही खोरमा थुन्छ । र एक समय बाहिर निकाल्छ या थुनिरहन्छ । पशु, पक्षिंहरुलाइ खोरमा यसरी राखिन्छ ।
कुकुर स्वतन्त्र भएर डुल्न चाहान्थ्यो होला, बाख्रा आफ्नो बथान लिएर बुर्कुसी मार्दै चर्न कतै जान्थ्यो होला । गाइ आफ्नो बाछा बाच्छी लिएर मोहक ढङ्गले स्तनपान गराउंदै उघ्राएर घांसे मैदानमा चर्याप चर्याप घाँस खान्थ्यो होला । त्यसैगरी बिरालो आफ्ना बच्चा बच्ची र आफ्नै साथी बिरालोसंग आफ्नै साउती लयमा , आफ्नै स्वच्छन्द भावबिनोदमा खुसिको रङ्ग पोख्थ्यो होला । ओ हो १ कुखुरा आफ्ना साना साना चल्ला चल्लिहरुलाइ ओसिलो ओथारोमा ओथारेर आफ्नै भाकाको दुनियामा फुर्किन्थ्यो होला । भाले र पोथिको प्राकृतिक यौन रसरङ्ग खुलेर भुलुक्क भुल्किन्थ्यो होला । सुगा ( गंहु, फापर, धान , मकै, र बंगैचामा फुलेका थुप्रै फुलहरु फलहरु खुलेर खांदै हिंड्थे होला, उड्थे होला ।
कति सुन्दर छ प्राणिहरुको जीवन , जिवहरुको स्वन्छन्दता, कति पवित्र र निश्चल छ । यति पवित्र लाग्ने , यति मिठास र आहा ….यहि खोरको वसमा पिल्सिएको छ । मानविय डर र आंतक संगै ।
यो खोर कसले बनायो होला । रु यसको आवश्यकता किन पर्यो होला रु यसले प्राणी जगतको खुलेर बांच्न पाउने , रमाएर नांच्न पाउने, मस्त मोहक जीवन लिला ब्यतित गर्न पाउने प्राकृतिक अधिकारको हनन गरेको छैन त रु के जिवहरुको पंक्तिमा बलिया र बिबेक भएका पांसुले हरुको मात्रा अस्तित्व हुन्छ रु के यो प्राकृतिक प्रदत्त उत्पादन र यसका साधनहारुमा हस्ट पुस्ट र बलियाहरुकोमात्र अपनत्व छ त रु यी सवालहरुको जवाफ अब पृथ्वीमा खोजिन्छन होला अथवा खोज्न जरुरी भैसकेको छ ।
प्रकृतिले मानव नामका जिवमुर्तिहरु संग यसको जवाफ माग्छ होला । अन्यथा प्राकृतिक बिपत र संकटहरुको माध्यमबाट प्रकृतिले मानवहरुको जिवनमा निर्णायक सवाल गर्ने छ र यसको जवाफ माग्ने छ ।
कस्तो विभेद, जो बिभेद मान्छेका अंश अंशमा संस्कृती भएर दौडिएको छ । मान्छे सानो भन्दा सानो काममा , अवशरमा , योजनामा, प्रतिस्ठामा, स्वार्थमा , चाहानामा, संबेगात्मक कृडामा कंही न कंही विभेद गरिरहेको छ । यसैमा रमाउदै विभेद प्रदर्शन गरिरहेको छ । त्यसैले त होला मान्छे अन्य जीव जिवादिहरुको स्वछन्दताको अधिकार खोसिरहेको छ । मान्छे आफू र आफ्ना स्वयमहरुको विभेद गरि रहेको छ । मान्छे क्रुर बन्दै गैरहेको छ ।
मत भन्छु १ मान्छेको यो दम्भ , यो एकाङ्गिपन र महत्वकांक्षा प्राकृतिक स्वच्छन्दताको बिरोधमा छ । मानिस आफ्नो चिहान आंफै खनिरहेको छ ।
आकाश खुल्न देउ, रात पर्न देउ, उज्यालो हुन देउ, चिच्याउन देउ, कराउन देउ, उड्न देउ, फल्न देउ, फुल्न देउ, निदाउन देउ, छोडिदेउ सबैलाइ जो जस्तो चाहाना राख्छ । यी शब्दहरुको भावभङ्गिबाट निस्किरहने शब्दहरुको बिचरणिय निस्कर्सको यो अर्थ लागोस कि मान्छेहरु अत्यन्तै अत्यचारी बनिसके उप्रान्त सुन्दर समाज निर्माणमा विभेद नगर , प्राणी स्वयमलाइ आफ्ना चाहानाहरुमा चल्मलाउन देउ ……………..!
जम्मा जम्मी मेरो छिमेकि किसान तर्फ फर्किंदा देखिने यति ठूलो विभेद र श्रीजित भावनाहरुको दलानमा बसेर आम मानव जिवनको कत्लेआम गरिरहेका ठालुहरुको खोर हेर्दा केही त भन्नै पर्छ जस्तो लाग्छ ।
मेरो गांउको किसान र मैले बडो उत्सुकतापुर्वक चिहाइरहेको ठालु बिच केही समानता पाएको छु , केही असमानता । मेरो गांउको किसान आफू बाच्नको निम्ति पशुपंक्षीहरुको प्रयोगको निम्ति खोरमा थुन्न पुग्छ । मैले देखेको ठालु आफू बांच्न अर्थात आफ्नो ओरिपरी मडारिरहेका डरहरु लुकाउन मान्छे थुन्दो रैछ । मैले देखेको किसान ती पशुपक्षिंहरुलाइ बिहान खोरबाट निकाल्छ खुल्ला चौर र खुल्ला जंगलका प्राकृतिक घांसे मैदानमा चर्नको लागि छोडिदिन्छ । मैले बुझ्दैगरेको ठालु मान्छेलाइ थुनिदिन्छ र थुन्दोरैछ । उसलाइ बाहिरबाट ढोकामा सांचो लगाएर बिहान एकपटक बेलुका एकपटक सानो ढोकाबाट गुणस्तरहिन खाना खुवाएर थुनेर राखिराख्दो रैछ । हुनत मेरो छिमेकी किसानपनी आफ्नो बिबेक र चेतनाको दम्भमा पशुपक्षिंलाइ खोरमा थुनिरहेको हुन्छ । ठालु त अझ बढेर बिवेक र चेतना आफू समान भएकाहरुलाइ आफ्नो खोरमा थुनिरहन्छ ।
यहाँ किसान र ठालुको आफू बांच्नको निम्ति खोर प्रयोग गर्ने बिसयलाइ चित्रण गर्न खोजिएको छ ।
एउटा बिकट, दुर्गम गाउँ , सानो झुपडी, एकहल गोरु, एउटा गाई, दुई छोराछोरी, एक श्रीमति , केहि कुखुरा, केहि बाख्रा, यसो २०र३० मन धान फल्ने खेत र समग्रमा किसानको त्यो गुजरा, तपांइ आफ्नो मनको आँखा उघारेर केही पाउ कस्ट गरेर त्यस्ता झुपडिहरुमा पुग्नुस त्यांहा गाइले खाने एकबोरा नुन हुन्छ । त्यो नुन त्यो परिवार र त्यांहाका सम्पुर्ण पशुपंक्षि सबैले खाएका हुन्छन ।
सरकार नामको जन्तु आयोडिन नुन खानु पर्छ भनेर सुचित गर्छ , तर किसानको बाध्यता त्यही गाइले बुझेको होला सायद । त्यसैलेत उनिहरु एउटै नुन खान्छन । यसलाइ हामी किसानको समानतानै मानौन हुन्न र रु एकबोरा चापट हुन्छ, भुस हुन्छ, माटे चुलोको माथी अलिकती खाने तेल हुन्छ, बेसार हुन्छ, दुई गेडा प्याज लडेको हुन्छ , केही दाना लसुन , केही दाना आलु, कुच्चिएको पुरानो गाग्रोमा चामल राखिएको हुन्छ , भित्तामा टांसिएको फलेकको र्याकमा छोराछोरीका केहिथान किताब हुन्छन, एउटा कुपि बत्ती, च्यातिएका पुराना ओड्ने ओछ्याउने………… यसरी यस्तै साधनहरुको दुख सुखको साथमा किसानको झुपडी खडा भएको हुन्छ । अनि त्यसरिनै चुलो बलेको हुन्छ किसानको ।
किसानको बाध्यता बिवसता आफू बांच्नलाइ गाई बाख्रा खोरमा हाल्नुपरेको हुन्छ । किसान त्यही र तिनैको सहयोग र आम्दानिका कतिपय कुरामा निर्भर रहेको हुन्छ । र माया र दायित्वका कारण किसान गाई बाख्रालाइ चराउन , अघाउन, किसान समय समयमा बाहिर निकालिरहन्छ । पशुपक्षिंपनि त्यो किसानको माया गर्छन र सहयोग गर्छन । अनि किसानपनी त्यसै गर्छ र उ पशुपक्षिको माया र हेरचाह गरिरहन्छ । यसरी मिलेका छन …………….
किसानलाइ दुख छ , पीडा छ, अभाव छ, उ एकपेट मजाले खाने, एक आंङ्ग लगाउने, र शान्तले निदाउने सपना राख्छ । यहि सपनाको ओरिपरी किसान, मजदुर र श्रमजिविहरुको गुजरा चलिरहेको छ । तर पूरा हुन सकेको छैन त्यो सपना, पूरा भएको छैन यो चाहाना । यसको कारण खोजी भयो…………दिन रात मिहेनत गर्ने, पसिना बगाउने, आफ्नो छाला घाममा डडाएर जमिन संग लडाइ गरिरहने किसान किन भोको भयो रु यस्ता गम्भीर सवालहरुको अंकुरण फुट्यो , ती अंकुरणहरु बढ्न थाले, फुले, बिरुवा हुँदै बयस्क बने र ठालु तिर फर्किएर चोर औंला तेर्साए । र आफ्नो पसिना र मटोबाट भएका श्रीजनाहरुमा बैरिहरुको अधिकार हुनु । आफ्नो मिहेनत पसिना अरुले खानु , आफू भोको रहनु जस्ता अत्यन्तै गम्भीर र महत्वका सवालहरुको दवाव ठालुहरुलाइ पर्न थाल्यो , उनिहरु आफ्नो स्वर्गमा, आफ्नो रमाइलो जिवनमा अँध्यारो देख्न थाले, त्यसैले ठालुहरु आफ्नो खोरहरुमा मान्छेहरुलाइ थुन्न थाले ।
आज मान्छेहरुलाइ तिनै ठुलाठालुहरु हिरासत र जेल नामको खोरमा थुनिइरहेका छन । पशु पक्षिंलाइ थुन्ने किसान धेरै बैज्ञानिक र उच्च चेत भएका रहेछन । ढालुहरु कति निच तल्लोस्तरका रहेछन । किसान आफू बांच्छ, अरुलाइ बंचाउछ , केही अधिकार अरुको छिन्न पुग्छ यधपी त्यो भन्दा बढी माया र चाकर साथसाथै दिन्छ । आफ्नै परिवारका मानवरुपी सदस्य बराबर व्यवहार गर्छ , पशुपक्षिंको अत्यन्तै ख्याल राख्छ । सो बापत ती पशुपक्षीं मार्फत काम लिन्छ किसान ।
प्राकृतिक प्रदत्त प्राणी जगतमा सबैको अधिकार समान हुनु पर्दछ भन्ने मेरो मत रहेको छ । प्रकृतिले सबैलाइ बिस्तारै यस्तै बनाउने छ भन्नेमा मेरो चेतना खुलेर आंउछ । त्यो दिन आओस जुनदिन एउटा सानो कमिला देखि ठुला ठुला हात्ती सम्म र आंफुले आंफैलाइ चेतनशिल घोसणा गरि टोप्लने मान्छे सबै स्वतन्त्र हुनेछ्न । पृथ्वी नामको डल्लो र यसको सुन्दरता प्रकृति सबैको निम्ति साझा हुने छ ।
ठालुहरु कस्ता हुन रु किन मान्छेहरुलाइ थुन्न पुग्छन रु यिनिहरु किसान भन्दा अच्चकाली रहेछन नि रु यिनिहरुले मान्छे थुन्ने घर बनाएका रहेछन ।
केहि कुपात्रहरुको कु( बिचार र उनिहरु द्वारा बिबेचित कानुनको तख्ता पल्टाएर काला कोट लगाउने केही बौदिक रोगिहरुको सुर न तालको कैरनले निकालेको फगत निस्कर्स हरु र सरकारी जागिर र मैलो नारा बोकेका ठालुहरुका हनुमान हरुको बनावटी आरोपहरु र ठालुहरुका जिवनका खातिरदारिमा राजनितिको नाममा बुद्दिबिलास गर्ने केही खलपात्रहरुको भुलभुलैया र यस्तै यस्तै चाम्चोटे, दहिचिउरे, गड्यौला, छेपारे, जे जे भनेपनी गांउका गालीगलौजहरुले सुशोभित भैरहने अवशर पाइरहेकाहरुको माध्यमबाट मान्छे भन्न रुचाउने हामी जस्ताहरुलाइ हिरासत नामको खोरमा ठालु महाजनहरु थुनिरहेका छन ।
हिरासत नामको खोर करिब चार फुटको ढोकाले बन्द हुन्छ । बाहिर ठुलो सांचो झुण्ड्याइएको हुन्छ । सांचो खन्द्रयाङ्ग बज्छ, सबै जिवमुर्तीहरु जर्याक जुरुक्क उठछन र तयार हुन्छन पशुझैं । खाना उदेश्य लिएर उठछन सबै । जसरी एउटा संकेतको आधारमा पशु तयार हुन्छ त्यसै गरि । त्यसबेला भात आएको हुन्छ । ठूलो भांडोमा भात, कुकरमा पातलो दाल, र एउटा भांडोमा पकाएको लतर पतर गाइको खोले जस्तै तरकारी । अनि हतार पतार ढोका खोलिन्छ । खोर भित्र थुनिएकाहरु भाग्छनकी भनेर प्रहरी नामको पहरेदार पाले तैनाथ हुन्छ । भात भित्र छिर्छ, अनि फेरि हतार हतार ढोका लाग्छ । भित्रका १६र१७ जना मान्छे नामका बन्दिहरु थाल बोकेर कुकुरझैं भांडातिर जाइलाग्छन । भटाभट भात तरकारि खाइन्छ र ख्वाइन्छ त्यसपछी त्यो भात लिएर आउनेले भांडो लिएर बाहिर निस्कन्छ । फेरि बाहिरबाट खोरको ढोका लाग्छ गड्याम्म ।
भोकले चर्याएको पेट खानापछी सितल हुन्छ, आनन्द हुन्छ । अब काम केही छैन , ठालुहरुका केही खिसी ट्युरिहरु एकछिन हुन्छन । केही सपनाका पोकाहरु फुकाइन्छ, बिस्कुन लगाइन्छ र केही आत्मरती त्यंहा सल्बलाउन पुग्छ । कति बेजोड र बस्तुबादी छन ती सपना हरु । कति मिथ्या र फोकट लाग्छन । केहिबेर गज्याङ्ग गुजुङ्ग हुन्छ । त्यसपछी खोरमा थुनिएकाहरु कोहि सुत्छन , कोहि आफ्नै लयमा लाग्छन ।
खोरमा थुनिएकाहरुको अभ्यस्त जीवन , ठालुहरुलाइ बडो आनन्ददायी लाग्दो हो । आजकाल खोरहरुमा भित्रै लेटिनको सुबिधा मिलाइएको छ । दिशा, पिशाप गर, बेला मौका नुहाउ, यति सम्मको ब्यवस्थापन ठालुहरुले मिलाइदिएका छन ।
ठालुको घरमा ठूलो जर्मन सेफर कुकुर छ । बिहान! किलो, बेलुका ! किलो मासु कुकुरलाइ खुवाउनै पर्यो । मार्सी धानको चामल, साथमा मासु, अचार, दहि, मोहि, घिउ, अन्य परिकार खानै पर्यो । ठालुनिलाइ नंया फेसनको गहना लाउनै पर्ने भएको छ । महङ्गा सारी र राम्रा फोन बोक्नै पर्ने भएको छ । ब्राण्डेट जीवन बांचेको ठालु परिवारलाइ बैभवको जीवन जिउनु छ । छोरा छोरिहरुलाइ महङ्गा स्कुल र महङ्गो जीवन शैली अनिवार्य बन्दै गएको छ । बेला बेला ठालुको परिवारलाइ बिदेशतिर भ्रमणमा जानै पर्ने भएको छ । ठालुलाइ मोजपुर्ण जिवनको महँगो बिलासी पलङ्गमा निदाएर दम्भी सपना देख्नु छ ।
ठालुको ठूलो महलको मुन्तिर केही झुपडिहरु छन । ती झुपडिका फोहोरी मान्छेहरु बिहान देखि बेलुका सम्म पसिना सरि भएर काम गर्छन । उनिहरुलाइ कडा परिश्रम र मिहेनत गर्नै पर्ने बाध्यता छ । ठालुको घर उसैले बनाइदिएको हो, कुकुरलाइ खुवाउने मासु उसैले पुर्याइदिनु पर्छ । ठालुको घर उसैले सफा गरिदिनु पर्छ , सबैकाम उनिहरुलेनै गरिदिनु पर्छ । तर खान पांउदैनन तिनिहरु, लाउन पांउदैन एक आंङ्ग सग्लो , निदाउन पांउदैनन आनन्दले , सपना देख्ने छुट छैन उनिहरुलाइ । जीवन निकै निरस र निरर्थक छ त्यो गरिबको , त्यो झुपडिको ।
सहन सकेन ! त्यसैले जब जब उ भोको भयो, नाङ्गो भयो, अभाव र गरिबिको मारमा पिल्सिएर तड्पियो । उसले आवाज उठायो, करायो , चिच्च्याएर बोल्यो । खान पाउनुपर्छ, लाउन पाउनु पर्छ , बास पाउनु पर्छ , उपचार र शिक्षा पाउनु पर्छ यिनै कुराहरुको माग राखेर पोखियो । त्यसैले होला उ खोरमा छ, ठालुले बनाएको मान्छे थुन्ने खोरमा । हो उसको नियती यहि खोर संग जोडिएको छ ।
चारै पट्टिबाट बन्द गरिएको एउटा खोरबाट बेला बेला चिहाएर उसका कारिन्दा , हनुमान र तलवीहरुको सान सौकत र रवाफ हेर्ने सुबिधापनि मिलाइएको छ । झ्यालको सानो प्वालबाट यसो चिहाएर हेर्यो भने पुलिस नामका केही हाकिमहरुको चुरिफुरी निक्कै ठूलो छ । अचेल ती हाकिम कारिन्दाहरुको पनि ठालुपथ खुलेको छ । उनिहरुपनी छिट्टै ठालु बन्दैछन । तर उनिहरुका अगाडि बुट बजारेर सलामी र गुलामी गर्ने अरु मान्छे नामका जिवमुर्ती जवान देखेर बिरक्त लागेर आउँछ ।
बिहान उठ्यो डिउटी देखि डिउटी, जिवनका सारा खुसी र चाहानाहरु ठालुहरुका केही स्वार्थ र चाहानामा साटिदिएर जिवित लास बनेर खडा हुने पुलिसहरुको जिवनमा केही चामत्कारिक चेतनाको अंकुरण फुट्नुपर्ने आवश्यकता देखिएको छ । मान्छे थुन्ने हिरासत नामको खोरबाट धेरै कुरा सिक्न जरुरी छ , सिक्न सकिन्छ । यो कुरा प्रहरिहरुले सिक्नु पर्छ ।
यहाँ अर्थात यो खोरमा कहिलैपनी ठालु थुनिन आंउदैन, दलाल तस्कर र भ्रस्टचारी नामका ठुला ठुला मान्छेहरु थुनिन आंउदैनन । मोजमस्ती र बिलासी जीवन बिताइरहेका हरुकोलागी यो मान्छे थुन्ने खोर हुँदै होइन ।
यंहा अहिले सम्म एकपेट खान ठालुको अगाडि हात जोड्दा लात खाएर हिंडेको गरिबले बांच्नको निम्ति गरेका केही झिना मसिना गल्तिहरुको कारण यस खोरमा थुनिन आइपुग्नु पर्ने दुखद बाध्यता छ । जसले बांच्नलाइ पसिना बगाएको छ , र पसिनाको मूल्य मालिक संग माग्ने हिम्मत गरेको छ त्यो थुनिनुपरेको छ । जसले सारा अन्यायको बिरोध गरेको छ , जसले सबैलाइ समान बनाउने सपना देखेको छ र सो बमोजिमको प्रयत्न गरेको छ त्यसले थुनिनु परेको छ । जसले ठालुको साम्राज्य भत्काउने सपना देखेर अगाडि बढेको छ , त्यो थुनिन आइपुगेको छ ठालुको खोरमा ।
ठालुले बनाएको मान्छे थुन्ने खोर र सुख र खुसिको सपना बोक्ने इमान्दारहरुको बिचमा गहिरो नाता रहेछ । त्यसैले यो खोरको चरित्र बदल्न र यंहाबाट दुनियालाइ पाठ सिकाउन जरुरि छ यहाँ थुनिने, थुनिएका जिवमुर्तिहरुले ।
२०७५/०५/०६ इलाम हिरासतबाट



