देवराज घिमिरे राष्ट्रिय राजनीतिका प्रभावशाली नेता एवं नेकपाका प्रदेश नं. १ का अध्यक्ष हुनुहुन्छ । पार्टीका विभिन्न तह हुँदै केन्द्रीय सदस्यको रुपमा काम गरिरहनु भएका उहाँले राष्ट्र, जनता र परिवर्तनका लागि महत्वपूर्ण योगदान दिनुभएको छ । जिल्लामा मात्र होइन राष्ट्रिय राजनीतिमा स्थान बनाउन सफल घिमिरेले निरकुंशताका विरुद्ध भूमिगत लडाइँ लड्नु भएको छ । केन्द्रीय सांसदको रूपमा भूमिका निर्वाह गरिसक्नुभएका घिमिरेले राष्ट्रिय राजनीतिका सन्दर्भमा दिनुभएको विचारोत्तेजक भनाइको सम्पादित अंशः
पछिल्लो राष्ट्रिय राजनीति र सरकारको कामलाई कसरी हेर्नु भएको छ ?
अहिले राष्ट्रिय राजनीतिमा त्यस्तो उल्लेख्य फेरबदलहरू छैनन् । कुनै विवेचना नै गर्नु पर्ने परिस्थिति पनि छैन । मुलुकको राजनीति आशालाग्दो रूपमै अगाडि बढिरहेको छ । जहाँसम्म सरकारका कामको विषय छ, त्यो आफ्नो गतिमा अगाडि बढिरहेको छ । सबै कुरा जनताको चाहानाअनुसार हुन सकिरहेको छैन तर देशको समग्र अवस्था, स्रोत साधनको सम्भावना र परिस्थितिको जटिलतालाई हेर्दा मुलुकलाई सरकारले ठीकै ढंगले अगाडि बढाइरहेको छ । पहिलो कुरा निर्वाचनको परिणाम आइसकेपछि पनि यो सरकार बनाउन नै निकै सकस गर्नुप¥यो । अर्थात निर्वाचन सम्पन्न भएको तीन महिनापछि फागुन महिनामा सरकार बनेको थियो । समयको हिसाबले सरकार बनेको सात महिना भए पनि कामको हिसाबले सरकारले काम गरेको चार महिनामात्र भएको छ । यति छोटो समयमै सबै काम सम्पन्न गर्न सम्भव हुँदैन । तर केही नै काम नभएको ढंगले प्रचार गरिएको छ । यसले के देखाउँछ भने कम्युनिस्टविरोधी विचार राख्ने शक्तिहरू यो सरकारलाई असफल पार्न र काम गर्न नदिन योजनाबद्ध रूपले लागेका छन् । यसका बावजुद सरकारले देश विकासका लागि नीति र कार्यक्रम ल्याएको छ । त्यसअनुसारको बजेट ल्याएको छ र कार्यान्वयन गर्न योजना बनाएर लागिसकेको छ । मौलिक हकलगायत अत्यावश्यक कानुनहरू बनाइसकेको छ । नयाँ मुलुकी ऐन आएर कार्यान्वयनमा गइसकेको छ । नयाँ नीति र कार्यक्रमअनुसार बजेटको उपयोग भइरहेको छ । विकास निर्माणका कामहरू पनि अगाडि बढिरहेका छन् । प्रदेश र स्थानीय तहका सरकारका संरचनाहरू बनिसकेका छन् । संघीयता कार्यान्वयनमा गइसकेको छ । विदेशनीतिअन्तर्गत छिमेकीहरूको सम्बन्ध थप मजबुत र सुमधुर बनिसकेको छ । चीनसँग पारवहन सन्धि लगायत बन्दरगाहको सुविधाका बारेमा सरकारले उपलब्धि हाँसिल गरिसकेको छ । भारतसँगको सम्बन्ध पनि नयाँ स्तरले अगाडि बढिसकेको छ । सिन्डिकेट तोड्ने स्वच्छ प्रशासन र भ्रष्टाचारविरुद्धका काममा ध्यान पु¥याईरहेको छ । तस्करी नियन्त्रणका कामहरू अगाडि बढिरहेका छन् । अघिल्लो सरकारले बिगारेका कामहरूलाई सुधार्नेदेखि रित्तिएको ढुकुटी भर्ने काममा पनि सरकार द्रुतताका साथ लागिरहेको छ र सफलता पनि पाइरहेको छ । यति गर्दा गर्दै पनि कम्युनिस्टविरोधीहरूको कुप्रचारले केही समस्या भएको छ । त्यसलाई चिर्नका लागि जनतासम्म पुग्न नपाउँदा र जनतासम्म पु¥याउने पार्टीको तल्लो संयन्त्र बन्न केही ढिलाई हुँदा केही विरोधीहरूले गलत प्रचार जनतामा पु¥याउन खोजेका छन् । त्यसलाई हाम्रो पार्टी र सरकारले चिर्न पाएको छैन । काम थुप्रै भएका छन् । जनताका चाहानाअनुसार काम गर्न सरकार अगाडि बढ्न खोजी पनि रहेको छ, कामहरू योजनाबद्ध रूपमा अगाडि बढि पनि रहेका छन् । तर सबै संयोजन नमिल्दा केही ढिलो भएको छ ।
सरकार र जनताले चाहेअनुसार काम हुन नसक्नुमा हाम्रो आन्तरिक समस्या छ कि बाह्य समस्या पनि छ ?
अहिलेको परिवर्तित सन्दर्भमा हाम्रा नीति कार्यक्रम, योजना, लक्ष र जनताको अपेक्षाअनुसार काम हुन नसक्नुमा कतिपय आन्तरिक र कतिपय बाह्य कारणहरू पनि छन् । आन्तरिक कारण भनेको सरकारले जसरी काम गर्न खोजेको छ त्यसअनुरूप कर्मचारी संयन्त्र र निकाय परिचालित हुन सकिरहेको छैनन्, कम्युनिस्ट सरकारलाई असफल पार्न खोज्ने आन्तरिक शक्तिहरू सक्रिय छन् । यसको अर्थ हिजो हामी एकात्मक शासन प्रणालीमा थियौं, त्यसलाई बदलेर संघीय शासन प्रणालीमा जाँदैछौं । यस्तो अवस्थामा सरकारको कामहरू सम्पादन गर्ने नीति कार्यक्रम लागू गर्ने संयन्त्रहरू निर्माण गर्नु पर्नेछ, स्थानीय र प्रदेश संरचना निर्माण गर्नुपर्ने, ती सञ्चालन गर्न कर्मचारीको व्यवस्थापन कसरी गर्ने, त्यसलाई सञ्चालन गर्ने ऐन कानुनहरू निर्माण गर्ने, तिनीहरूको अधिकार र कर्तव्य के के हुने, कसको मातहतमा हुने, त्यसलाई स्थायित्व दिने श्रोत साधन कसरी व्यवस्थापन गर्ने भन्ने विषयले नै समय धेरै खेर गएको छ । ती अंग प्रत्याङ्गले जसरी काम गर्नु पर्ने हो त्यसरी गर्न सकेका छैनन् । अर्को विरोधीहरूले कम्युनिस्ट सरकारलाई कसरी असफल बनाउन सकिन्छ भनेर गौंडो कुरेर बसेका छन् । यसमा मुलुकका आन्तरिक शक्तिहरू पनि र उनीहरूले केही त्यस्ता बाह्य शक्तिहरूलाई पनि परिचालित गरिरहेका छन् । स्वभाविक रूपले हाम्रो अहिलेको सरकार बलियो पार्टीको बलियो सरकार भएको र दक्षिण एसियाकै ठूलो पार्टीको सरकार बनिरहेको अवस्थामा यसलाई विभिन्न समस्या ल्याउने कुरामा प्रत्यक्ष रूपमा स्वदेशी र अप्रत्यक्ष रूपमा कम्युनिस्टविरोधी शक्तिहरू क्रियाशील छन् । यसलाई सरकारले राम्ररी बुझेको छ ।
सचिवालयको बैठक नै स¥यो स्थायी, कमिटीको बैठक बस्न सकेको छैन, समस्या कहाँनेर भयो ?
सचिवालयको बैठक बसेर सबै गृहकार्य गर्ने भन्दा भन्दै केही विषयमा छलफल गर्नु पर्ने र चाडबाडको सन्दर्भले सरेको हो । हालै बसेको सचिवालयको बैठकले तल्लो पार्टी कमिटी र जन संगठन निर्माणदेखि अन्य विषयमा तयारी गरेर लानका लागि महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललाई पार्टीले जिम्मेवारी सुम्पिएको छ । त्यसले केन्द्रीय कमिटीको जिम्मेवारी बाँडफाँट र प्रदेश कमिटी बनाउने छ । यसमा अलि ढिलाचाहिँ भएकै हो तर यसका पछाडि हाम्रो पार्टीका अध्यक्षहरूको व्यवस्तता, सरकारका कामहरू प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने परिस्थिति, अन्तर्राष्ट्रिय सम्बन्धका सभा सम्मेलनका काममा जानु पर्ने अवस्था, छिमेकीहरूसँगको सम्बन्ध सुधारको काम सम्पन्न गर्नुपर्ने अवस्था, आर्थिक उपार्जनका कामहरू, सरकारका दैनन्दिनका काममा व्यस्तता, पार्टीभित्रको सन्तुलन मिलाउनु पर्ने बाध्यता तथा कार्यदलमा भएका सचिवालय सदस्यहरू पनि सरकारमै रहेर काम गरिरहेको परिस्थितिमा समय अभावले गर्दा ढिला भएको हो, अन्य कुनै कारणले होइन । काम गरिसकेपछि पछुताउनुभन्दा पहिले नै सोच विचार छलफल गरेर गरौं भन्ने भावनाले काममा केही ढिला भएको हो ।
अहिले बनेको दुई सदस्यीय कार्यदलले समयमै काम सक्छ ?
काम ढिलाई हुनुमा सबैको कार्य व्यस्तता नै हो भन्ने कुरा आइसकिहाल्यो । यसका सन्दर्भमा दिनै तोक्न त नसकिएला तर यसले सबै कुरा मिलाएर प्रदेश कमिटी र अध्यक्ष द्वयसँग परामर्श गरेर काम गर्छ, लामो समय लिंदैन । सकभर १२÷१३ को स्थायी कमिटी बैठक लगत्तै सम्पन्न होला, भएन केही दिन छलफल विचार विमर्श गर्नुपर्ने भए पनि दुईचार दिन भित्रमा काम सम्पन्न हुन्छ ।
यी काम सम्पन्न गर्न पार्टीभित्र समस्या भएर भन्छन् नि हो त ?
होइन हाम्रो पार्टीभित्र कुनै समस्या छैन । हरेक निर्णय सहमतिका साथ नै भएका छन् । केही समयपहिले भएको प्रदेश ईञ्चार्ज र पदाधिकारी चयनको विषय विधि, पद्धतिसंगत भएन । स्थायी समितिले गर्नुपर्ने त्यसो भएन सचिवालयले ग¥यो भन्ने कुरा आएको हो । त्यो कुरा सचिवालय बसेर त्यसमा केही त्रुटि कमी कमजोरी भएको छ भने मिलाउने कुरा भइसकेको छ । तल्ला पार्टी कमिटीको एकता गर्ने सन्दर्भमा कसलाई जिम्मेवारी दिँदा पार्टी राम्ररी अगाडि बढ्छ, कस्ता व्यक्तिलाई जिम्मेवारी दिने भन्ने विषयमा छलफल र बहस हुन्छ । उपयुक्त व्यक्तिले जिम्मेवारी पाउँछ त्यसमा कुनै विवाद छैन । धेरै नेता कार्यकर्ता भएको पार्टीमा सुझबुझ साथ काम गर्न खोज्दा केही समय लाग्छ तर त्यो अन्यथा विषय होइन ।
अब बस्ने स्थायी कमिटी बैठकमा यी सबै काम पूरा हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
सम्भावना त देखिन्छ । त्यो बेलासम्म यो कार्यदलले काम सक्छ भन्ने मैले ठानेको छु । यद्यपि, चाडबाडको बेला भएको, पार्टीका आन्तरिक काम थुप्रै भएको, भारतीय कम्युनस्टि पार्टीका नेता सीताराम याचुरीसँग छलफल र भेटघाटमा बस्नु पर्ने एवं पार्टीको चियापान कार्यक्रम पनि यतिबेलै परेको हुनाले केही समय लाग्न पनि सक्छ । तर समय लामो जाँदैन।
मन्त्रिपरिषद्को कामबाट प्रधानमन्त्री सन्तुष्ट नभएकोले मन्त्रिपरिषद् फेरबदल हुने कुरा बाहिर आएको छ त्यस्तै हो ?
पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुनु भएकोले र अर्का पार्टी अध्यक्ष पार्टीकै आन्तरिक काममा व्यस्त हुनु भएकोले यो विषयमा गहन छलफल हुन नपाएको हुन सक्छ । पार्टीका नेता कार्यकर्तालाई जिम्मेवारी दिने फेरबदल गर्ने कुरा राम्ररी हुन नसक्दा किन भएन, कसरी राम्रो हुन्छ भन्ने सन्दर्भमा पार्टीमा छलफल हुने कुरा स्वभाविक हो । यो बारेमा समीक्षा नभएको निकै लामो समय भयो त्यसैले कामको समीक्षा हुने, समीक्षा गर्दा केही नयाँ ढंगले जानुपर्ने अवस्था पार्टी नेतृत्वले देख्यो भने त्यसो हुन पनि सक्छ । यो मन्त्रिपरिषद्ले ठीकै काम गरिरहेको छ, राम्रै गरिरहेको छ । प्रचारमात्र गलत भएको छ भन्ने सोच्यो भने यही मन्त्रिपरिषद् चल्न पनि सक्छ । यो सामान्य कुरा हो । यसमा मेरो कुनै टिप्पणी छैन ।
एक नम्बर प्रदेश पार्टी सरकारको संयोजन कत्तिको मिलेको छ, पार्टीको काम कत्तिको भइरहेको छ ?
प्रदेश कमिटी बनेको धेरै भएको छैन । यसले आफ्ना काम सुरु गर्न पाएको छैन । यद्यपि, पार्टीका कामहरू सुचारु रूपले भइरहेका छन् । म एक नम्बर प्रदेशको पार्टी अध्यक्ष भएपछि पार्टीका नेता कार्यकर्ता र जनतासँग भेटघाट छलफल गरिरहेको छु । पार्टी सञ्चालनका योजनाहरू बनाइरहेको छु । प्रदेश सरकारसँग पनि सम्योजन गर्ने गरी काम अगाडि बढाउने सोच गरिरहेको छु । तर तल तलसम्म पार्टी कमिटी बनिनसकेको र पार्टी कमिटी लामो समयदेखि क्रियाशील हुन नपाएकोले हामीले सोचेअनुसार काम हुन पाएको छैन । नेता कार्यकर्ताले यो काम चाँडै होस् भन्ने चाहाना गरेका छन् । तल्ला कमिटी बनेपछि यी काम सोचेअनुसार अगाडि बढ्छन् । यसमा पार्टी नेतृत्व लागि पनि रहेको छ । तत्काल यी काम अगाडि बढाउन एकता प्रक्रिया नसकिएकोले परिणाम आउने गरी प्रदेश सरकार र पार्टीको संयोजन हुन सकिरहेको छैन । अब चाँडै हुन्छ ।
प्रधानमन्त्रीको सुखी नेपाली, समृद्ध नेपाल निर्माणले सार्थकता पाउला ?
निश्चित पाउँछ । प्रधानमन्त्रीको भोक पनि यही भएको र जनताको चाहाना पनि यस्तै भएकोले यो निश्चित हुन्छ । यो काम यही सरकारले पूरा गर्छ । यसको खाका सरकारले बनाई पनि सकेको छ । त्यसअनुरूपको नीति कार्यक्रम र बजेट अगाडि बढिसकेको छ, कार्यन्वयन हुँदैछ । त्यसअनुरूप सरकार र सरकारको टिम लागिरहेको छ । वैदेशिक सहयोग भित्र्याउने काम पनि यो सरकारले तीव्रताका साथ अगाडि बढाइरहेको छ । समृद्धिका बाटाहरू खनिन थालेका छन्, समस्याका गाँठाहरू फुक्दैछन् र त्यसका प्रतिफलहरू पनि आउन थालेका छन् । सबैको सहयोग भयो र प्रधानमन्त्रीको योजनाअनुसार काम भयो भने पाँच वर्षभित्रै समृद्धि प्राप्त हुन्छ । त्यो यात्रामा मुलुक निकै अगाडि बढिसकेको छ ।छलफल साप्ताहिकबाट










