काठमाडौं, १७ माघ । घरमै बसेर कम्प्युटरमा का गरी मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा बेरोजगार युवाहरुको लाखौं रुपैयाँ ठगी भएको छ । कम्प्युटरमा टाइप र डिजाइनसम्बन्धी काम गरेर मासिक ६ लाख कमाउन सकिने भ्रममा पारेर एक दम्पतीले आठ युवाबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेका छन्।

आजको नयाँ पत्रिकामा खबर छ– भी इन्फोनेट प्रालि नामको कम्पनीका नाममा भारतीय युवक ३४ वर्षीय विकास द्विवेदी र उनकी श्रीमती ३५ वर्षीय अस्मिता घिमिरेले युवाहरुलाई ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत १८ असोजमा एक दैनिक पत्रिकामा विज्ञापन छपाएर उनीहरुले आकर्षक कमाइको प्रलोभनमा पारी डिपोजिटबापत पैसा मागेर ठगी गरेका हुन् ।

जागिरका लागि आवेदन दिने आठजनासँग सुरुमा पाँच लाख ६० हजार रुपैयाँको दरले उनीहरल्े डिपोजिट लिएका थिए । त्यसपछि पनि कम्पनीको नेपालमा शाखा विस्तारका लागि भन्दै पटक–पटक पैसा मागेको प्रहरीले जनाएको छ ।

पैसा लिएर शाखा कार्यालयसमेत खोलेकाले युवाहरु ढुक्क भएका थिए । त्यसरी डिपोजिट र लगानीबापत भनेर एकै व्यक्तिबाट २० लाख रुपैयाँसम्म लिएका थिए ।

कामको अर्डर नआएपछि प्रहरीको शरणमा मासिक ६ लाख रुपैयाँ कमाइ हुने विश्वासमा परिसकेकाले यवाहरुले सरसापट गरेरसमेत पैसा बुझाएका थिए । इमेलमा कामको अर्डर आउँछ भन्दै झुलाउँदै पैसा लिँदै गरेको डिएसपी कार्कीले बताए । तर, पैसा बुझाएको तीन महिना बित्दा पनि कामको अर्डर नआएपछि ठगिएको महसुस गरी उनीहरु प्रहरीमा उजुरी लिएर गएका थिए ।

ललितपुर प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका दम्पत्तीले पैसा लिएका स्विकारेका छन्, तर ठगी गरेको भने स्वीकार गरेका छैनन् । आफूहरु काम दिने प्रक्रियामै रहेको उनीहरुको दाबी छ ।