काठमाडौं : १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई अदालतले सफाई दिएपछि त्यसको विरोधमा एक महिला सांसद भित्रिवस्त्र (अन्डरवेयर) लिएर संसदमा पुगेकी छन्।
अदालतले गलत फैसला गरेको दावीसहित आयरल्यान्डकी महिला सांसदले सांकेतिक विरोधस्वरुप बलात्कार पीडितका पक्षमा आवाज उठउन त्यसो गरेकी हुन्। त्यहाँको अदालतले बलात्कार अभियोग लगेका २८ वर्षीय पुरुषलाई हालै सफाइ दिएको छ।
सांसद रुथ कैपिंगरले संसदमा निलो रङको फिता भएको अन्डरवेयर देखाउँदै भनिन्, ‘यहाँ अन्डरवेयर देखाउँदा लाजमर्दो हुनसक्छ। तर, हामीले सोच्नुपर्छ कि एक महिलाको अन्डरवेयर अदालतमा देखाइयो भने उसलाई कस्तो हुन्छ होला ?’
किशोरी बलात्कार मुद्दाको सुनुवाईका क्रममा अभियुक्तका वकिलले न्यायाधीशसमक्ष भनेका थिए कि ‘तपाईंहरुले उसको पोशाक पनि हेर्नुपर्छ। उनले थोंग (अन्डरवेयर) लगाएकी थिइन्, जसको अगाडिपट्टी फिता रहेको छ।’ उनले बलात्कार भएको भनिएकी युवतीको छोटो कपडको विषयलाई लिएर टिप्पणी गरेपछि सोसल मिडियामा त्यसको व्यापक आलोचना भएको छ।
यो विषयमा ६ नोभेम्बरमा ‘आइरिस एक्जामिनर’ पत्रिकामा रिपोर्ट प्रकाशित भएको थियो। अभियुक्तले सहमतिमै शारीरिक सम्बन्ध राखेको बताएका छन्। तर, अभियुक्तका वकिल एलिजाबेथ ओकोनेलले दिएको तर्कले सामाजिक सञ्जालमा निकै विवाद भएको छ।
एक्जामिनरको रिपोर्टअनुसार ती वकिलले भनेका छन्, ‘उनी उभियुक्ततर्फ आकर्षित थिइनन्, भेट्न र साथमा बस्न सहमत थिइनन् भन्ने कुराको प्रमाण के छ ?’ सुनुवाईका क्रममा उनले दिएको यो तर्कले विवाद निम्त्याएको हो।
समाचार प्रकाशित भएपछि डबलिन रेप क्राइसिस सेन्टरकी प्रमुखले अधिवक्ताको अभिव्यक्तिप्रति आलोचना गरेकी छन्। समाचारमा बताइएअनुसार उनले फैसालको आलोचना नभइ कानुनी प्रकियामा सुधारको माग गरेकी छन्।
आयरल्यान्डमा यो घटनाबारे सोसस मिडियामा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। कयौं महिलाहरूले आफ्नो ट्वीटरमा अन्डरवेयरको तस्बिर पोष्ट गरेका छन्।
राजधानी डबलिनलगायत कयौं सहरमा प्रदर्शन जारी छ। समाजवादी महिलाहरुको समूहले सोसल मिडियामा अभियान नै चलाएका छन्।



