बोम्जन गुरुङ, सउल ।

"प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" अर्थात् "शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।"

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यस संस्थाले ल्होसार/ल्होछार लगायत समायानुकूल विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो पटक पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हलमा मनाउने प्रारम्भिक तयारी भईरहेको तमु धीं दक्षिण कोरिया केन्द्रिय कार्यसमितिका अध्यक्ष जित गुरुङले जानकारी दिए । यही २०१८ अक्टोबर २८ तारिक आइतबार बसेको तमु धीं को बृहत भेलाले यस कार्यक्रमको लागि प्रारम्भिक चरण अन्तर्गतको कलाकार छनौट, हल व्यवस्थापन, साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन कार्यलाई उच्च प्राथमिकता राख्दै तमु (गुरुङ) समुदायको महान् पर्व फो-ल्होसार/ल्होछारको तयारी तीव्र पारिएको हो ।

यसपटकको फो-ल्होसार/ल्होछारमा पनि लागि नेपालबाट राष्ट्रिय कलाकार ल्याउने सर्व-सम्मत निर्णय भएको छ । जसमा नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । "बुझें मैले नि", "नाकमा झुम्के बुलाकी", "नौ रङ्गी सपना", "सालैजो" लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसकेकी र गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)मा नायिकाका भूमिकामा रहेर अब्बल अभिनय मार्फत आम दर्शकको मन जित्न सफल साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गर्न समेत भ्याएकी कलाकार गुरुङले ल्होसारको रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउनेमा कलाकार व्यवस्थापन संयोजक हिमानी गुरुङ बताउँछिन् । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं भन्दा बढि स्टेज कार्यक्रमहरु साथै यस अघि जापान, हङ्कङ्, युके तथा कतार लगायतका देशमा आफ्नो प्रस्तुतिसँगै आम दर्शक/श्रोताको वाहवाही र प्रशंसा बटुलिसकेकी छन् । धेरै संस्था एवं आयोजकहरुबाट सम्मान ग्रहण गरिसकेकी उनी वास्तवमै अति चर्चित कलाकार हुन् ।

साथै उक्त दिन तमु (गुरुङ)को बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, कौरा नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र हाँस्य प्रहशन रहने संस्थाका साँस्कृतिक विभाग संयोजक सबिन गुरुङ/पुरन गुरुङ/दल बहादुर गुरुङले जानकारी दिए । सुविधा सम्पन्न हलमा आयोजना हुने यस कार्यक्रममा तमु (गुरुङ) हरुको यो रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली अचार, मासु, भुटुवा, सेलरोटी सहित थुप्रै खानाको परिकारको व्यवस्था गरिने हल व्यवस्थापन संयोजक तथा संस्थाका संरक्षक-सल्लाहकार भिम गुरुङ साथै केन्द्रिय कोषाध्यक्ष रुपा गुरुङले बताएका छन् । संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङ थप्छन्-आपसी सद्भाव र बन्धुत्वलाई मझबुत बनाउदै यो कार्यक्रमले संस्थाको इतिहासमा एउटा अर्को नौलो आयाम थपिनेमा आयोजक विश्वस्त छौं ।

कार्य्रकमलाई थप उत्साहजनक उपस्थिति सहित रोचक र आमन्त्रित अतिथिहरुलाई भरपूर मनोरञ्जन दिनका लागि यो पटक अझै पृथक ढङ्गले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको छ । यसका लागि विभिन्न पोर्टल न्यूज, अनलाइन समाचार, विभिन्न फेसबुक पेज साथै तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१९ जनवरी ०६ तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो-ल्होसार/ल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरियाले कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।