दस वर्षको उमेरमै लिटल लेडी ताज जितेर होस् या १६ वर्षको उमेरमा मिस टिनको उपाधि। दुबै उपाधि उचाल्दा खुश्बु ओलीलाई त्यतिबेला धेरैले भविष्यको मोडल देखेका थिए। मोडलिङ क्षेत्रको ‘रंगीन दुनियाँ’मा उनी नदेखिएकी पनि हैनन्। केही म्युजिक भिडियोहरूमा अभिनय गरिन्, विज्ञापनहरूमा देखिइन्। त्यसले उनको परिचयलाई मोडलका रुपमा परिभाषित गर्यो।
मिडिया या अन्यले अाफूलाई मोडलका रुपमा परिभाषित गरेको उनलाई त्यति चित्त बुझेको रहेनछ। ‘मोडलिङ कहिल्यै मेरो प्रथामिकतामा परेन। म त समाजसेवी हुँ। सामाजिक क्षेत्रमा अभियान चलाउँछु। आफू पनि सामाजिक कार्यमा व्यस्त छु,’ उनी दाबीसाथ भन्छिन्।
खुश्बुसँग जोडिएर बीचमा केही घटनाक्रम भएपछि उनी एकाएक हराइन्। त्यसपछि खुश्बु एकैचाेटी बिहेको प्रसंगमा छाइन्, अनि फेरि हराइन्।
दृश्य अहिले बदलिएको छ। खुश्बुले अाफ्ना पुराना कुराहरू बिर्सेर नयाँ जिन्दगी बिताइरहेकी छिन्। वैवाहिक जीवन सुरू गरेकी भनिएकी खुश्बु दुनियाँबाट थोरै टाढा छिन्, अाफ्नै चाहना, इच्छाले थालेको र उनैले भन्ने गरेको ‘समाजसेवा’ कर्ममा जीवन बिताइरहेकी छिन्।
सडक बालबालिकाको उज्जवल भविष्य निर्माणका लागि सन् २०१४ मा उनले खोलेको संस्था सेल्टर नेपालमा हाल १४ जना बालबालिका छन्। अभिभावकहरू पत्ता नलागेका सडक बालबालिकाहरूलाई खुश्बुले आश्रय दिइरहेकी छिन्। ‘उनीहरूको शिक्षा-दीक्षा, लालनपालनको जिम्मेवारी हामीले बहन गरेका छौं। यो पूर्णरुपमा गैरनाफामूलक संस्था हो। संस्थाको स्पष्ट उद्देश्य नै सामाजसेवा हो,’ खुश्बुले भनिन्।
हुन त केही समय पहिले पनि अाफूले सडक बालबालिकाको सेवा गरेको उनले बताएकी थिइन्। तर, ‘विविध’ सम्बन्धले उनको यो कर्मलार्इ अोझेल पारिदिएको थियो।

अहिले सेल्टरमा रहेका बालबालिकाको कानुनी रुपमै वैधानिक अभिभावकको जिम्मेवारी अाफूले लिएकाे दाबी उनको छ। केही बालबालिका अझै थपिने क्रममा छन् केहीले भर्खर एसएलसी दिए। सरकारी तथ्यांक अनुसार उपत्यकामा चार सयको हाराहारीमा सडक बालबालिका छन्। तर, उनलाई यो सरकारी तथ्यांकमा चित्त नबुझेको रहेनछ। उनी भन्छिन्, ‘चार सयभन्दा बढी सडक बालबालिकाहरूसँग त मैले आफैंले प्रत्यक्ष भेटघाट गरिसकेकी छु। यदि त्यो तथ्यांक सही हो भने पनि चार सय जना बालबालिकालाई आश्रय दिन नसक्ने हाम्रो कस्तो सरकार हो?’
सडक बालबालिकालाई सेल्टर खाेल्ने कुरा उनकाे मस्तिष्कमा पहिल्यैदेखि थियो। सानै उमेरमा झापाबाट काठमाडौं आएपछि यहाँका सडक गल्लीमा ओहोरदोहोर गर्दा देखिने बालबालिकाको अवस्थाले उनलाई दुखित तुल्याउँथ्यो। उनी सम्झिन्छिन्, ‘जाडोमा त झन् ती बालबालिकाको अवस्था निकै दयनीय हुन्थ्यो, बोराको कपडा बनाएर कठ्यांग्रियर बसेका भेटिन्थे।’
त्यो दृश्यले खुश्बुलार्इ यस क्षेत्रमा प्रवेश गराएको रहेछ। खुश्बु सानै उमेरमा झापाबाट काठमाडाैं अाएकी थिइन्, उनले प्लस टु सम्मको अध्ययन काठमाडौंमै पूरा गरिन्। त्यसपछि लण्डन गइन्। पढाइ सकेपछि यही दृश्य सम्झेर नेपाल फर्किइन्।
‘म लण्डनबाट नेपाल अाउनुको एउटा कारण पनि यही हो। नत्र, लण्डनमा अहिले म आरामको जिन्दगी बिताइरहकी हुन्थेँ होला,’ उनले भनिन्। बुवा, हजुरबुवा सबै जना पहिलेदेखि नै समाजसेवामा सक्रिय भएका कारणा पनि उनलार्इ उत्प्रेरणा जागेको रहेछ।
सेल्टर स्थापनाका सुरुवाती दिनहरू त्यति सजिला थिएनन्, उनले सडक बालबालिकालाई आश्रय दिने निर्णय त गरिन् तर ती बालबालिकालाई आश्रयसम्म ल्याउन नै चुनौती थियो। उनीहरू सडकमै रम्थे, सडक नै उनीहरूको साथी भइसकेको हुन्थ्यो। कतिपय बालबालिकालाई सम्झाउन निकै अप्ठ्यारो भयो। कतिपय भने सडकमा बस्दाबस्दै लागुऔषधको सिकार पनि भएका थिए। उनीहरू लतबाट छुटाउन पनि निकै गाह्रो थियो। उनले सम्झिइन्, ‘मैले सुरूमा दुई जना बालबालिकालाई सेल्टरमा लगेकी थिएँ। उनीहरूलाई राम्रो बनाउन सकेपछि अन्यलाई पनि थप्दै लगेँ।’
पछि उनको सेल्टर सडक बालबालिकासँगै, जेलमा रहेका बालबालिका, प्रहरीले भेटाएको तर अभिभावक नभेटिएका बालबालिकाहरूको पनि आश्रयस्थल बन्यो। उनी भन्छिन्, ‘प्रहरीमा अभिभावक नभेटिएका बालबालिका आएपछि उहाँहरूले हामीलाई फोन गर्नुहुन्थ्यो र हामीले तत्काल त्यसता बालबालिकालाई उद्दार गर्थ्याैं।’

परिवारबाट छुट्टिएर सडकमा पुगेका हालसम्म ३५ जना बालबालिकालाई परिवारसँग भेट गराएको उनको दाबी छ। ‘हामीकहाँ बच्चा आएपछि हामी उनीहरूको परिवार पनि खाेज्छौं, किनकि, बच्चाको नागरिकता लगायत अन्य डकुमेण्टहरू बनाउन परिवार नै चाहिने हो। यदि परिवार भएन भने उनीहरू आफ्नै देशमा पनि गैरनागरिक बनेर बस्नुपर्ने हुन्छ। नागरिकता लगायतका डकुमेण्ट बनाएपछि उसलाई भविष्यमा केही काम गर्न पनि सजिलो हुन्छ,’ खुश्बु भन्छिन्।
छुट्टिएका बच्चाहरूलाई अभिभावकसँग भेटाउँदा उनका दुई खाले अनुभव रहेछन्। धेरैपछि आफ्नो सन्तान देख्दा अभिभावक र अभिभावक भेट्दा बच्चा दुबै भावविह्वल भएको देख्दा उनका पनि आखा रसाए रे। त्यतिबेला आफूलाई जीवनको चरम आनन्द महसुस हुने उनी बताउँछिन्। ‘तर, कुनै बेला यस्तो अवस्था पनि आउँछ कि हामी बच्चाहरूलाई अभिभावककोमा त पुर्याइदिन्छौं। सुरुमा उहाँहरूमा पनि खुशीको माहौल हुन्छ, तर गरिबी, आर्थिक विपन्नताका कारण फेरि ती बालबालिकाहरु सडकमा आइपुगेका हुन्छन्। परिवारसम्म पुर्याएको बच्चा सडकमा देख्दा उनको साह्रै मन पोल्छ,’ उनी भन्छिन्।
पाँच वर्षको उमेरमा सडकमा भेटिएका नवीन चौधरीको उदाहरण उनले दिइन्। उनलाई तीन वर्षभन्दा बढी खुश्बुले आश्रय दिएकी थिइन्। सँगसँगै उनका अभिभावक पनि खोजिरहेकी थिइन्। तेस्रो वर्षमा निकै लामो प्रयासपछि उसको आमा भेटिइन्। ‘आमा-छोरा भेट हुँदाको क्षण म अझै पनि सम्झन्छु, दुबैको मुहारमा जति खुसी थियो, त्यसको दोब्बर खुसी म थिएँ। जीवन जिउनुको सार्थकता मैले त्यहाँ भेटेँ। परिवारका लागि सन्ततिबीचको घनिष्टता, ममता मैले त्यहाँ महसुस गर्न पाएँ,’ उनले भनिन्।
संस्था सञ्चालनका लागि आर्थिक पाटो पनि महत्वपूर्ण हो। सेल्टरमा रहेका बालबालिकाको शिक्षा दिक्षा, लालनपालनमा ठूलो रकम खर्च हुन्छ। संस्थाको आर्थिक व्यवस्थापनबारे उनी भन्छिन्, ‘सुरूमा त परिवारको सपोर्टबाट मैले आफैँ सुरुवात गरेकी हुँ। धेरै ठाउमा मैले व्यक्तिगत खर्च पनि गरेकी छु। अहिले पनि संस्थालाई आवश्यक परेका बेला मैले आफ्नो पकेटबाट पैसा दिने गरेकी छु त्यससँगै, हामी विभिन्न अभियानहरू पनि चलाउँछाैं। कला क्षेत्रका साथीभाइहरूसँग राम्रो सम्बन्ध भएकाले उहाहरुले यसअभियानमा साथ दिनुहुन्छ। भर्खरै मात्र लोकप्रिय गायक एड्रिन प्रधानले संस्थाका लागि च्यारिटी शो गरिदिनु भएको थियो, त्योभन्दा अगाडि हेमन्त रानाले गरिदिनुभएको थियो। उहाँहरूजस्तै, अन्य कलाकारहरुले पनि हामीलाई च्यारिटी शोहरु गरेर सहयोग गरिरहनु भएको छ।’
त्यो सँगसगै संस्थालाई विभिन्न व्यक्तिहरूले व्यक्तिगत रुपमा पनि सहयोग गरिरहेको उनले बताइन्। ‘हामी व्यक्तिगत गएर उहाँहरूलाई भेट्छौं, हामीले गरेका काम, हाम्रो उद्देश्य बताउँछौं। उहाँहरू खुलेर सहयोग गर्नुहुन्छ,’ उनले भनिन्। यस कार्यमा उनलार्इ सन्तोष कार्कीको सहयोग छ।

को हुन् सन्तोष?
केही समयअघि खुश्बु फेरि चर्चामा अाइन्। रामकोटका सन्तोष कार्कीसँग खुश्बुले ले फूलमाला गरिन्। फूलमाला त गरिन् तर अहिलेसम्म उनीहरूको बिहेको मिति भने तय हुन सकेको छैन। उनीहरू सँगै छन्। ‘हामी केही समयपछि बिहे गर्छाैं,’ यो अस्पष्टताबारे खुश्बुले भनिन्, ‘मेरो बिहे भनेर हल्ला चल्यो तर त्यो इङ्गेजमेन्ट मात्र थियो।’

हाल सेल्टर रहेको जग्गा उनै कार्कीले खुश्बुलाई उपलब्ध गराएका रहेछन्। ‘भूकम्पअघि हाम्रो सेल्टर विशालनगरमा थियो,’ उनले भनिन्, ‘भूकम्पले सो भवनमा क्षति पुगेपछि हामी रामकोटमा सरेका छौं। रामकोटमा सेल्टरका लागि जग्गा उपलब्ध गराउन सन्तोषले मलाई सपोर्ट गर्नुभएको हो।’
बुवा श्यामसुन्दर ओली र आमा शकुन्तला ओलीकी कान्छी छोरी हुन्, खुश्बु। उनका दुई जना दाजुभाइ छन्। उनको भविष्यको योजना कम्तीमा पनि काठमाडौंका सडकहरूमा बालबालिकाहरू नहुन् भन्ने छ। सरकारी तथ्यांक अनुसार हाल उपत्यकामा भएका सडकमा भएका चार सय जना बालबालिकालाई आश्रय दिने उनको योजना छ। ‘तत्काल हाम्रा विभिन्न सीमितताले हामीले धेरै बच्चाहरूलाई चाहेर पनि राख्न सकिरहेका छैनौं,’ खुश्बुले भनिन्, ‘भविष्यमा अझै स्रोत जुटाएर सडकमा रहेका बालबालिकालाई पनि आश्रय दिने सोच बनाएकी छु।’
संस्था चलाउन हालसम्म मैले सरकारी मुख नताकेको उनले बताइन्। उनी भन्छिन्, ‘मानिसहरू विदेशबाट डलर ल्याउँछन् भनेको पनि सुन्छु तर एनजिअोमा कसरी डलर अाउँछ मैले देखेकी छैन। मेरोे कमाई कटाएर पनि संस्थालाई बचाइराखेकी छु।’
खुश्बु ओलीसँग केही संक्षिप्त सवालजवाफ :
मोडलिङ जीवनतर्फ फर्किने सोच छ कि छैन?
तत्काल छैन। अफर नआएका हैनन्, फिल्मको पनि अफर आएका हुन्। तर, म एकदमै चुजी छु। मलाई लाग्छ फिल्म निर्माण गर्नु या फिल्ममा खेल्नुका पछाडि कुनै कारण हुनुपर्छ। मलाई समाजिक विषयवस्तुमा आधारित फिल्म खेल्न मन लाग्छ। जसले सामाजिक क्षेत्रका विविध पक्ष उठाओस्, सामाजिक रुपान्तरणमा सहयोग पुर्याओस्।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा तपाईंलाई मनपर्ने अभिनेता र अभिनेत्री को को हुन्?
अभिनेत्रीको कुरा गर्दा मलाई प्रियंका कार्की असाध्यै मन पर्नुहुन्छ। उहाँले मलाई मिस टिनको ताज पनि पहिर्याउनु भएको थियो। उहाँ अभिनयकै लागि जन्मिनुभएको हो जस्तो मलाई लाग्छ। उनीसँगै नेपाली अभिनेतामा दयाहाङ राई मलाई मनपर्ने अभिनेता हुन्।
जीवन के हो जस्तो लाग्छ?
मैले यहाँसम्म आइपुग्दा जीवनमा धेरै उताडचढावको सामना गरेकी छु। मेरो जीवनमा निकै राम्रा दिनहरुरू पनि आए, केही अप्ठयारा परिस्थिति पनि आए। मानिसले ती परिस्थितीसँग जुध्ने हिम्मत राख्नुपर्ने रहेछ। जीवनमा हरेस कहिल्यै खानुहुन्न भनेर म सबैलाई भन्छु। सामान्य अर्थमा जीवन संघर्ष हो जस्तो लाग्छ।
प्रेम के हो?
प्रेमको परिभाषा यही भन्ने त छैन, सबैका लागि यसको परिभाषा भिन्न हुन्छ। युवा उमेरका केटाकेटीहरूका लागि प्रेमको परिभाषा भिन्न हुन सक्छ भने युवा उमेरमा पुगेकाहरूका लागि यो भिन्नै होला। मेरो हकमा यो एउटा सुन्दर अभिव्यक्तिको माध्यम हो। संसारका सबै मानिसहरुलाई जोड्ने पुल प्रेमले गरेको हुन्छ।
शुभदिन बाट



