गौराहद, ३ असोज । सभाहल खचाखच थियो, बस्ने ठाँउ खाली थिएन, बाहिर सिम्सिम् पानी परिरहेको थियो । भित्र र बाहिर भवनको पेटीमा उभिएर कार्यक्रममा सहभागि हुनेहरुको संख्यापनि कम थिएन । उपस्थित सबैले उत्साहित भएर लगभग एक हजार भन्दा बढीको गड्गडाहट् तालिले संकल्प प्रस्ताब पास गर्दा हल तथा आसपासको क्षेत्र गुञ्जयमान थियो । सबैको संकल्प एउटै थियो ‘हामी अब देखि प्याज, लसुन र खोर्सानी आपm्नै करेसा बारिमा उत्पादन गर्छौं,  बजारमा आएर किन्दैनौं ।’ यो संकल्प कुनै राजनीतिक दलका नेता कार्यकर्ता तथा मन्त्रीहरुले खाने सपथ जस्तो फिक्का र अपत्यारिलो थिएन । यो संकल्प राज्यबाट उपेक्षित ग्रामिण परिबेस र जनजीवनका सच्चा इमान्दार पौरखी किसानहरुको थियो जो आफु आबद्ध सहकारीको बार्षिक साधारण सभामा भागलिइरहेका थिए ।

  यो संकल्प गरेपछि देखि झापाको एक सहकारीमा आबद्ध शेयर सदस्यले लसुन, प्याज र खोर्सानी नकिन्ने भएका छन् । झापाको गौरादह नगरपालिका– ७ स्कुलचौनमा रहेको महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाको १७ औं वर्षिक साधारसभामा शेयर सदस्यले प्याज, लसुन र खोर्सानी आँफै उत्पादन गर्ने, बजारबाट नकिन्ने संकल्प गरेका हुन् । बचत र ऋणको कारोबारमा मात्र सिमित अधिकांस सहकारीको भिड भित्रबाट यो सहकारीले नयाँ रचनात्मक अभियानको सुरुवात गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चालु आर्थिक बर्षका लागि प्रस्तावित कार्यक्रम अन्तर्गत  आत्मानिर्भरताका लागि संकल्प प्रताव शीर्षकमा संस्थाका अध्यक्ष मित्रदेव काफ्लेले सो संकल्प प्रस्ताब सभामा पेश गरेका थिए । अध्यक्ष काफ्लेका अनुसार उक्त सहकारीमा ८५ प्रतिशत भन्दा बढी   शेयर सदस्यहरु पूर्ण रुपमा कृषि पेसामा निर्भर छन् । देशको अर्थतन्त्र मजबुद बनाउन कृषिजन्य प्याज, लसुन खोर्सानी लगाएतको भारतबाट गरिने आयात प्रतिस्थापन गर्दै स्वदेशमै  आत्मनिर्भर बन्नु पर्छ भन्ने अभियान आवस्यक रहेकाले आफ्नालागि उत्पादन गर्न सक्ने कृषिजन्य बस्तु आफै उत्पादन गर्न शेयर सदस्यहरुबाट सो संकल्प गरिएको अध्यक्ष काफ्लेले बताए ।

कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन र कार्यन्वयन गर्न सहकारीले नै प्राबिधिक सहयोग  समेत उपलब्ध गराउने साथै शेयर सदस्यहरुले ब्यवहारमा कार्यन्वयन गरे–नगरेको अनुगमन समेत गरिने सहकारीका सचिव बेदु भण्डारीले जानकारी दिए । शेयर सदस्यहरुले आफ्नै करेसाबारीमा आफुलाई आवस्यक कृषिजन्य लसुन, प्याज, खोर्सानी आफै उत्पादन गरेपछि किन्न खर्चहुने सो रकम सहकारीमा क्रमश बचत गर्दछन् । यसरी बचत बढ्दै जादा शेयर सदस्य सक्षम र समृद्ध हुदैजाने तथा सहकारी पनि सवल हुदैजानेमा आफु बिश्वस्त रहेको बताउछन् सो संस्थाका कोषध्यक्ष युवराज बाँस्कोटा । सुन्दा सामान्य जस्तो लाग्ने तर ठूलो महत्व बोकेको यो संकल्प प्रस्ताव अनुकरणीय भएको र यो प्रकारको आत्मनिर्भर बन्ने संकल्पले अभियानको रुप लिनसकेमा सहकारी आन्दोलन नेपालमा सफलभएको प्रमाणित हुने बताउदै सो साधारणसभाका प्रमुख अतिथि नेप्सकुनका केन्द्रीय उपाध्यक्ष अमृता सुब्बाले राज्य जिम्मेवार भएर लाग्न सहकारी मैत्री ऐन तत्काल ल्याउन आवस्यक रहेकामा जोडदिइन् ।

साधारणसभामा अध्यक्षले पेस गरेको अर्को संकल्प प्रस्ताब आगामी २ बर्ष भित्र शेयर सदस्य कागतीमा आत्म निर्भर हुँदै स्कुलचौन बजार लगाएतका बजारमा स्थानीय उत्पादनले आयत प्रतिस्थापन गरी त्यस क्षेत्रबाट निर्यात गर्नसक्ने गरी उत्पादन बृद्धि गर्ने जसका लागि ५० प्रतिशत सम्म कागतीका बिरुवामा संस्थाबाट अनुदानको प्रस्तब पनि सर्ब सम्मत पास गरेको छ । प्याज, लसुन र खोर्सानीमा मात्र होइन कागतिमा समेत शेयर सदस्यहरु क्रमश आत्मनिर्भर बन्ने भएपछि कृषक शेयर सदस्यहरु उत्साहित भएका छन् ।  शेयर सदस्य भएदेखि नै संस्थाबाट कृषि क्षेत्रका लागि धेरै तालिम र सिप प्राप्त गरेको र आर्थिक उपार्जनमा सहयोग पुगेको शेयर सदस्य पुष्पलाल घिमिरेले बताए ।

बचत तथा ऋण सहकारी भएर पनि सेयर सदस्य धेरै कृषक भएकाले कृषक शेयर सदस्यको आर्थिक जीवन उठाउन संस्थाले नमुना एकीकृत सामुुहिक सहकारी खेती, दुध खरिद बिक्रि , पशु नस्ल सुधार सिविर लगाएतका कृषिका क्षेत्रमा सहकारीले सहभागिता तथा अगुवाइ गर्दैरहेको प्रतिबेदनमा उल्लेख छ । १७ औं बर्षको साधारणसभामा आइपुग्दा संस्थाले २९ लाख ९३ हजार खुद नाफा गरेको छ ।

१ हजार २ सय ३२ शेयर सदस्य रहेको सो सहकारीमा कुल चुक्त शेयर पुँजी १ करोड ८ लाख ७३ हजार ९ सय रहेको छ । साधारण सभाको अवसरमा सहकारीले स्व. देवी प्रसाद काफ्ले स्मृती सहकारी पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष रमेश कुमार खरेल तथा स्व. रुद्र बहादुर कट्वाल उत्कृष्ट पशुपालक पुरस्कारबाट टंक ढकाललाई  पुरस्कृत गरेको छ । -