नेपाल बिखण्डन गर्ने बताउँदै आएका सिके राउतलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । एक हप्ताअघि सिराहाको लाहानमा गठन भएको रैथाने एकता परिषदले आज काठमाडौं नयाँ बानेश्वरमा प्रदर्शन र सभा गर्दै राउतलाई देशद्रोहको मुद्धा लगाएर कारवाही गर्नुपर्ने माग गरेको हो । हिजो जनकपुरबाट पक्राउ परेका राउतलाई आज सिराहा जिल्ला अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । सिराहा प्रहरीले राउतलाई राज्यबिरुद्धको संगठित अपराधमा मुद्धा चलाउने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय लाहानका प्रमुख राजकुमार केसीले त्यही मुद्धा चलाउन अनुसन्धान गरिने बताए । आज बानेश्वरमा भएको सभामा एमाले नेतृ तथा पूर्व सभासद शान्ता चौधरीले सिके राउत व्यक्ति नभएर प्रवृति भएकाले त्यसबिरुद्ध सम्पूर्ण नेपाली जात, भाषा, क्षेत्र, पार्टीभन्दा माथि उठ्नुपर्ने बताइन् । सिके राउतलाई पक्रदै छाड्दै गरिएकोमा अब त्यसो गरे सम्पूर्ण नेपाली एक भएर बिरुद्धमा उत्रिनुपर्ने उनले बताइन् । ‘यही मञ्चबाट म सरकारलाई चेतावनी दिन चाहन्छु, अब पहिले जस्तो सिकेलाई नछाडियोस्, कडाभन्दा कडा कारवाही गरियोस् ।’

कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टीका देव लिम्बू लाबुङले सिके राउत कुनै शक्ति नभएर छिमेकी देशले नेपालबिरुद्ध प्रयोग गरेको एक पात्र मात्र भएको बताए । सिकेलाई पक्रन निकै ढिलो भएको उल्लेख गर्दै लाबुङले अब उनलाई कुनै हालतमा छाड्न नहुने उल्लेख गरे । ‘सिंहदरवार नेपालीले भन्दा बढि छिमेकीले चलाएको देखिएको छ, त्यसैले सरकारले सिकेलाई छोड्न पनि सक्छ । तर, सिकेलाई छाडियो भने अब नेपालीले छाड्ने छैनन्’ लाबुङले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परिषदका संयोजक सन्तोष बराईलीले सिके राउत र उनलाई सघाउने मधेसी मोर्चाले आफ्नो भनेको ठाउँ लाहानबाट रैथाने एकता परिषद गठन भएको जानकारी दिँदै देश टुक्र्याउनेहरुलाई तराई मधेसका जनताले नै नसहने बताए । ‘देश टुक्र्याउनेहरुलाई म चेतावनी दिन चाहन्छु, तराई, पहाड, हिमालका रैथाने नेपालीहरु जागिसकेका छन् । अब देश टुक्र्याउने कुनै षड्यन्त्र रैथानेहरुले सहने छैनन् ।’ बराईलीले छिटै तराई मधेसमा देशबिरोधी षड्यन्त्रबिरुद्ध कार्यक्रम लिएर जाने पनि जानकारी दिए । कार्यक्रम लेखिका कमला सिवाकोटीले संचालन गरेकी थिइन् ।

(यो सामाग्री हामीलेआठैप्रहर डटकमबाट लिएका हौँ )