काठमाडौं, मंसिर १५ । अहिले बजारमा धेरै सीसी र अग्ला बाइक आएका छन्। हेर्दा आकर्षक देखिने यस्ता बाइक तपाईंको हाइट, शरीरको क्षमता र तौललाई मिल्न नसक्ने पनि हुन्छन्। त्यसैले आफूलाई चलाउँदा सजिलो हुने किसिमको बाइकको मात्र चयन गर्नुपर्छ। स्टाइल र सीसी हेरेर किन्नुभयो भने चलाउँदा त्यस्ता बाइक तपार्इंले नियन्त्रण गर्न सक्नु हुँदैन। यसको कारण दुर्घटना हुने सम्भावना बढी रहन्छ।
बाइक दुर्घटना हुँदा शरीरमा पर्ने चोटमध्ये टाउकाको चोट सर्वाधिक जोखिमपूर्ण हुन्छ। अहिले बजारमा धेरै नयाँ डिजाइनका हेल्मेट छन्। त्यसैले स्टाइलभन्दा पनि आफ्नो टाउकाको सुरक्षा गर्ने किसिमको गुणस्तरलाई हेर्ने गर्नु पर्छ। यसका लागि पैसा केही बढी भए पनि खर्च गर्न आनकानी गर्नु हुदैंन।
सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन अधिकांश बाइक चालकले अगाडि वा पछाडिको एक मात्र ब्रेक लगाउने गर्छन्। यसो गर्दा बाइक लड्ने सम्भावना बढी हुन्छ। यसैले यस्तो अवस्थामा दुवै पांग्राको ब्रेक लगाउन सकेमा बाइकलाई स्थिर गर्न सकिन्छ। यो कार्यलाई अभ्यासका रूपमा प्रयोग गर्नु राम्रो मानिन्छ।
बाइक चलाउदाँ धेरै कम चालकले बाइकको माइल मिटरलाई हेर्ने गर्छन्। यो न्दा बढी अगाडिको भागलाई हेर्ने गरेका हुन्छन्। त्यसैले कुनै स्थानमा गति सीमितको बोर्ड राखेको हुन्छ भने सोही गतिमा चलाउनु पर्छ। यसबाहेक आफ्नो बाइकको माइल मिटरमा हेरेर आफ्नो गति नियन्त्रण गर्न सके दुर्घटना हुने सम्भावना धेरै कम हुन्छ।
सबै बाइकको आआफ्नै किसिमको गति सीमित हुन्छ। त्यसैले आफ्नो बाइकको सीमाभन्दा बढी गतिमा चलाउनु भनेकै दुर्घटना गर्नु हो भने बाइकको गतिअनुसार चलाउनु पनि हाम्रो देशको सडकमा दुर्घटना निम्त्याउनु हो। त्यसैले हाम्रो जस्तो सवारी चाप हुने मुलुकमा जति विस्तारै सवारी चलाउन सक्यो त्यत्तिनै राम्रो हुन्छ।
गुडीरहेको सवारीसाधन र आफ्नो सवारीसाधनको बीचमा न्यूनतम पनि १० मिटरको दूरी हुनु राम्रो मानिन्छ। यो दूरी जति टाढा राख्न सक्यो तपाईंलाई भवितव्य हुदाँ रोक्न सजिलोसमेत हुन्छ। यसैले बाइक चालकले आफ्नोभन्दा ठूला सवारीसाधनसँग जति सक्दो टाढाको दूरीमै बसेर चलाउनु राम्रो मानिन्छ।
बाइकमा भएको सिंग्नलको प्रयोग समयअनुसार गर्न जान्नुपर्छ। मोड्ने बेलामा दिने सिग्नल, रोक्ने बेलामा, ओभरटेक गर्ने बेलामा दिने सिग्नलको सही सदुपयोग गर्दा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। यसबाहेक बाइकमा रहेको साइड मिररलाई पनि प्रयोगमा ल्याउँदा दुर्घटना हुने सम्भावना कम हुन्छ। अन्नपूर्ण पोस्टबाट










