सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनै पनि कुरामा साझेदारी नभएको गुनासो पोखे । उनले भने, ‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्, त्यसैले सरकारमा रहीरहने कुरा अब स्वीकार गर्न सकिँदैन, यसबारेमा पार्टीभित्रपनि गम्भीर कुरा उठेको छ ।’

डा. लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्ने बारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए । उनले भने, ‘यो सरकारको तौर-तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने नभएको आरोप लगाए । डा. लोहनीले भने, ‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छाउने काम हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले संसदमा टेबुल भएको संविधान संशोधन विधेयकको कुनै औचित्य नरहेको दाबी गरे । लोहनीले भने, ‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएका कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन् ।’ उनले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे ।  उनले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको वताउँदै तर, अहिलेको संशोधन प्रस्ताव थाती राखेर चुनावमा जानु पर्ने वताए । ‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं’ उनले भने, ‘तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माग भनेको नै चुनाव हो ।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने वताए ।

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै भने, ‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ ।’ डा. लोहनीले पछिल्लो समय सरकारी अक्षमता बढिरहेको समेत गुनासो पोखे । उनले भने, ‘जनताले कर तिरेको पैसाबाट दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा व्याज बढिरहेको छ ।’ उनले सरकारसँग विकासका योजना नहुँदा सुशासनको ठाउँमा कुशासन र ईमानको सट्टा बेईमान बढेको बताए ।

उनले भूकम्प पीडितहरुले राहत नपाएको समेत गुनासो पोखे । लोहनीले भने, ‘भूकम्पपीडितले राहत नपाउनु भनेको सरकारको लाचारीपन हो, यो सरकारको नालायकीपन हो ।’ उनले सरकारले जनताको नाममा खेलाची गरिरहेको आरोप लगाए । लोहनीले थपे,‘भूकम्पपीडितलाई राहत दिनु भन्दा पनि हाकिम फेर्नतिर लागे, यसरी कसरी हुन्छ ?’ फरक प्रसँगमा डा. लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेद्धवारी दिने समेत बताए । उनले भने, ‘यो पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा स्थापित गर्न र खासगरी राष्ट्रिय संबद्र्धनवादी दल बनाउनका लागि नेतृत्व गरौं भन्ने मेरो चाहना छ, तर म यसबारेमा दुई÷तीन दिनभित्रै निर्णय गर्छु ।’