जमुना धमला काठमाडौँ ।
पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन तान्न सफल भएको छ।
नागार्जुनको फेदीमा अवस्थित बाइसधारा उद्यानमा दैनिक घुम्न आउने, वनभोज, विवाह र ब्रतवन्ध गर्नेको रोजाइमा पर्न थालेको उद्यानका कार्यालय प्रमुख दामोदर लामाले बताए। ‘दैनिक पाँच सयदेखि छ सय जनासम्म अवलोकन गर्न आउने गरेका छन्, विशेष पर्व र विवाहमा आउनको सङ्ख्या अत्यधिक छ,’ उनले भने। उद्यानमा माया साट्न आउने जोडीको आगमन पनि बढ्दो छ। ‘यहाँको वातावरणमा मन आनन्दित हुन्छ’, मनमैजुबाट घुम्न आएका इन्दिरा खड्काले भनिन्।
त्यस्तै धर्मस्थलीबाट आका अनिल थापालाई यहाँ आएपछि दुई–तीन घण्टा नबसी जानै मान लाग्दैन। ‘यहाँको परिवेशले सारा दुःख नै बिर्सन्छु’, उनले भने। करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांकृतिक, धार्मिक र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण बाइसधारा २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। उद्यान समयानुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बालाजु बाइसधारा उद्यानका नामले परिचित छ।
उद्यानमा प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु ७५, नेपाली नागरिकका लागि प्रतिव्यतिm रु २५ र विद्यार्थीका लागि रु १५ कायम गरिएको छ। उद्यानमा म्युजिक भिडियो छायाङ्कनका लागि रु पाँच हजार, नेपाली चलचित्र छायाङ्कनका लागि रु १० हजार तथा विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार शुल्क निर्धारण गरिएको छ। तत्कालिन राजा जयप्रकाश मल्लले सन् १७३६ मा उक्त क्षेत्र जताततै पानीले जलमग्न भएका कारण पोखरी निर्माण गरेका थिए । त्यसको केही वर्ष पछि राजा रणबहादुर शाहले २१ धाराको बीचमा एउटा अरु भन्दा ठूलो धारा थपी २२ धारा पु¥याएको बताइन्छ। त्यसपछि बिधिवत रुपमा यस स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो।
यहाँ विवाह र ब्रतवन्धका लागि रु पाँच हजार तथा वनभोजका लागि रु दुई हजार शुल्क कायम गरिएको छ। धार्मिक उद्देश्यले पनि बाइसधारा उद्यान त्यत्तिकै महत्वपूर्ण छ। उद्यानभित्र कृष्ण मन्दिर, कुमारीस्थान, वनकाली मन्दिर, बाल बुद्धबूढानीलकण्ठ, सितलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न यहाँ दर्शनार्थी आउने गरेका छन्। चैत्र शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउँदा गोँसाईकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै रोग ब्याधी हराउने जनविश्वास छ।
तिजमा हजारौँको सङ्ख्यामा महिला यहाँ दर्शन गर्न आउने गरेका छन्। यहाँ मन्दिरसँगै बौद्ध गुम्बासमेत छ। आदिकवि भानुभक्त आचार्यले ‘यति दिनपछि मैले आज बालाजु देख्या, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्याँ’ कविता समेत रचना गरेका थिए। विसं २०५१ मा भानु जयन्तीका अवसरमा यहाँ उनको सालिकसमेत स्थापना गरिएको छ। गर्मी याममा यहाँ पौडीपोखरी समेत सञ्चालन गरिन्छ। यो काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो सार्वजनिक पौडी पोखरी पनि हो। रासस



