लमजुङ (बेँसीसहर), माघ । पूर्व अर्थमन्त्री डा रामशरण महतले सम्भावना भएर मात्र मुलुक समृद्ध नहुने दाबी गरेका छन् ।
लमजुङको बाहुनडाँडास्थित चन्द्रोदय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव समारोहमा मंगलबार डा महतले यस्तो दाबी गरेका हुन् ।
‘हामीसँग मुलुक समृद्धिका लागि धेरै सम्भावना छन्’– डा महतले भने , ‘सम्भावना देखेर मात्र देशको विकास हुँदैन, प्राकृतिक स्रोत र साधनलाई समुचित प्रयोग गर्दै सबैले मिलेर काम गर्नुपर्छ ।’ लमजुङमा जलस्रोत, पर्यटन र कृषि तथा जडीबुटीको धेरै राम्रो सम्भावना भएको भन्दै यसको समुचित प्रयोग गर्नसके देश विकासमा ठूलो सहयोग हुने विश्वास व्यक्त गरे ।
उनले अब मुलुक औद्योगिक क्रान्तितर्फ अग्रसर भएको बताए । ‘सुरुमा हामी कृषि क्रान्तिमा थियौँ, अब औद्योगिक क्रान्तिउन्मुख भएका छौँ’– डा महतले भने, ‘समृद्ध देशका लागि औद्योगिक क्रान्ति नै अबको आवश्यकता हो ।’
कार्यक्रममा पूर्वमन्त्री डा महतले शैक्षिक क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने धारणा व्यक्त गरे । ‘राजनीति भनेको निर्वाचनमा मात्रै हो, शिक्षामा र विकासमा राजनीतिक गर्न हुँदैन’– उनले भने । उनले वर्तमान शिक्षा समयानुकूल हुनुपर्ने समेत बताए । प्रविधि अहिलेको आवश्यकता भन्दै उनले आधुनिक युगमा सङ्घर्ष गर्न व्यक्ति पनि आधुनिक हुनुपर्ने धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनराशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे, नेपाली काँग्रेस, लमजुङका सभापति भेषबहादुर पौडेल, नेकपा एमाले जिल्ला उपसचिव सुवास पौडेल लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयले ६० औँ वार्षिकोत्सवका अवसरमा साताव्यापीरुपमा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।



