काठमाडौँ । तपाइँले प्रयोग गरिरहनुभएको फोन व्यक्तिगत र तपाइँमा निहित भएपनि तपाइँले त्यसको प्रयोग सहि तरिकाले गरिरहनुभएको छ ? फ्रड फोन बाहेक तपाइँलाई विश्वास गरेर वा तपाइँको फोनमा कल आएका कति प्रतिशत उठाउनुहुन्छ वा उठाउनुहुन्न ? कतै तपाइँले चिटिङ्ग गरिरहनुभएको त छैन ? तपाइँ फ्रड हो ? फोन उठाउनु वा नउठाउनु तपाइँको व्यक्तिगत अधिकार होला तर अर्काको ठाउँमा बसेर हेर्नुहोस त, उसले के सोचेको हुन्छ ? राम्रै तरिकाले वा कारणले नै फोन नउठाए पनि उसले त पक्कै सराप्छ नी । होइन र !
मोवाइल फोनको प्रयोग नगर्ने अब सायद संसारमा कमै होलान् । हाम्रै नेपालको तथ्याङ्कलाई हेर्ने हो भने पनि मोवाइल प्रयोगकर्ता दैनिक बढ्दो छन् । हालै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड बढी प्रयोगकर्ताहरु भइसकेका छन् । यसकारण पनि यो महत्वपूर्ण दैनिकीमा अपरिहार्य बन्दै गएको मोवाइल फोन उपयोगी बन्नुपर्ने सबैको राय हुनसक्छ ।
एकातिर अवस्था यो छ भने अर्कोतिर फोन नउठ्ने सवाल पनि चियो र चासोको विषयभित्र पर्न थालेका छन् । कुनै न कुनै रुपले हामी फोनमा चिटिङ्ग गरिरहेका छौँ । हेर्दा सामान्य लाग्ने यो शब्दले व्यक्तिगत सम्बन्धहरुमात्र बिगारेका मात्र छैनन्, ठूला कम्पनीहरुले यसबाट निम्तिएको घाटा भर्खरै मात्र विश्लेषण गर्दैछन् ।
काम नपरी कसैले प्रायः फोन गर्दैन, यहाँ सम्मकी ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डले पनि । तपाइँको फोन नउठाउने र कल ब्याक नगर्ने व्यवहारले तपाइँले त्यो साथीमात्र टाढा पार्दै हुनुहुन्न ! तपाइँ सदाको लागि ब्लाक लिष्टमा पर्दै हुनुहुन्छ । तपाइँको यो भन्दा सानो तिनो अपारदर्शी दैनिकीले दिर्घकालीन महत्वका कार्यहरुबाट तपाइँ बञ्चित हुनुहुँदैछ । सुखमा हुँदा त ठिकै होला, तर सम्झनुस् त दुःख परेको बेला जम्मा हुनेको संख्याले तपाइँको व्यवहार प्रष्ट पार्दछ ।
व्यक्तिगत फोनकर्ता के भन्छन् ?
मोवाइल फोन वा अन्य फोनको बारेमा अधिकांशतले आपसी मनमुटाव र व्यवहारीक कारण बाहेक अन्य समयमा फोन उठ्ने बताउँछन् । आवश्यकता हेरेर फोनको रेस्पोन्स गर्ने उनीरुको राय छ । उनका अनुसार बढी नै तनाब व्यहोर्ने कुराहरु पटक पटक दोहोरिए फोन नउठ्ने र रिस नै उठेपनि चित्त बुझाउनुपर्ने बताउँछन् । उनीहरुमा अधिकांशतले उही ‘फालेको टालो काम लाग्ने’ नै तर्क दिन्छन् ।
संस्था वा कम्पनीका कर्मचारी/मालिक के भन्छन् ?
नबिग्रिएका कम्पनीहरु सबै कुरामा फिट एण्ड फाइनका कुरा गर्न रुचाउँछन् । सम्बन्धमा दरार उत्पन्न नभएको÷का मानिसहरुसँग कुरा गर्ने नत्र नगर्ने उनीहरुको शैली देखिन्छ । त्यसमा कर्मचारीहरु कोही नियतबस र कोही कम्पनीको कार्यगत वाध्यताले फोन नउठाउनुपर्ने कारण दिन्छन् । उनीहरुमा फोन नउठाउँदाको परिणामबारे ज्ञान भएरपनि अवस्थानुसार यस्तो गर्नुपर्ने बताउँछन् । तर, यही प्रश्न पारदर्शी कम्पनी सञ्चालकलाई सोद्धा जिब्रो टोक्छन् । भन्छन् व्लण्डर गरिएछ ।
गाह्रो साह्रो बाहेक अन्य समयमा पनि फोन नउठाउने र कलब्याक नगर्नेलाई मनोबैज्ञानिक पक्षले हेर्दा मान्छेहरु सेल्फ सेन्टर हाइ हुने, अफु पर्दा गर्ने, अभोइडेन्ट पर्सनालिटी साथै डिस्अर्डर भएको मनोविज्ञानका अध्यापक पदम राज जोशी बताउँछन् । यो एन्टी सोसियल पर्सनालिटी मात्र होइन, रोग नै हो । बरु सिम्टोममात्र सुरु भएको हो या रोगी नै भइसकेको त्यो छुट्याउनुपर्ने जोशी बताउँछन् ।
उसो त फ्रड गर्नेमा माहिर समूहमा यो कुराको कुनै महत्व छैन । उनीहरु व्यक्तिगत अधिकारका कुरा गर्छन् । मनलागे उठाउने र मन नलागे नउठाउने उनीहरुको बानी नै भइसकेको हुन्छ । उनीहरुले पछि रेस्पोन्स गर्ने कुरालाई सहजै इन्कार गर्छन् । जिम्मेवारीता लिएका पक्षहरुमा पनि उनीहरु फितला उत्तर दिन पछि पर्दैनन् । अध्ययनले यस्ता फोन नउठाउने र कल ब्याक नगर्नेमा नियतको सफापन नहुने बताउँछ । व्यवहारमा अपारदर्शी मानिसले फोनको उपयोग भन्दा बेउपयोग गर्ने गरेको पाइएको छ ।
पत्रकार श्रीधर न्यौपाने भन्छन्, ‘आफ्नो त त्यस्तो बानी छैन । तर तपाइँले सोधेको प्रश्नमा गम्भीर बन्दा फोन नउठाउने अवस्था वा पुनः फोन नगर्ने भनेको धोकाखडी नै हो । तपाइँले आफुले आफ्नो तौल आफैँ घटाउनु हो । यस्तो गलत प्रवृतिमा सुधार हुनु आवश्यक छ ।’
हामीले हजार बढी देशभरका व्यक्तिहरुमा यो प्रश्न सोध्यौँ, उनीहरुबाट लगभग एउटैखाले उत्तर आयो । अध्ययनको दौरान उत्तर थियो बेइमानी र धोकाखडी । अधिकांश सहभागीले मानिसको नियतमा नै खोट, रोगी, चिटर, अव्यवहारीक, बेइमानी र संस्थाको गरिमा घटाउने कार्यमा उद्धत रहेको जस्ता गम्भीर आरोपहरु लगाएका थिए ।
संस्थागत फोनमा लापरबाही, खर्चसहित रेपुटेशनमा असर
व्यक्तिगत सवाल र उत्तर यस्ता आएपनि संस्थागत सवालमा धेरै नै फरक देखिन्छ । सम्बन्धमात्र नभएर एक फोन नउठाउँदा दिर्घकालीन रुपमा करोडौँ घाटा लाग्ने आंकलन गर्न सकिन्छ । संस्थागत नम्बर बोकेर तपाइँले दिनको १० जनाको मात्रै फोन नेग्लेट गर्नुहुन्छ भने तपाइँले संस्थागत रुपमा चिटिङ्ग गर्दै हुनुहुन्छ । त्यो दश कल दैनिक बढ्दै जाँदा कम्पनीको रेपुटेशनमा तपाइँको गिर्दो योगदान प्रष्ट्याउँछ ।
आइटेक नेपालका सञ्चालक जीवन न्यौपानेले भने, ‘मेरो कम्पनीमा मिनेटको २८ रुपैयाँ खर्च हुन्छ । नसकेपनि मैले खोजेर पूर्ताल गर्नुपर्छ । यदी मेरा कर्मचारीहरुले क्लाइन्टको फोन उठाइदिएनन भने अत्यधिक घाटाको सामना गर्नुपर्छ । बेला-बेला, यो समस्या आउँछ तर मैले यस्तो समस्या नआओस भनेर कर्मचारीलाई सतर्क गराएको हुन्छु । त्यसै कारणले पनि मेरोमा फोन नउठाउने समस्या कम छ । नभएको चाहिँ होइन ।’
उद्यमी राम भट्टराई भन्छन् ‘उसले फोन उठाउन नचाहेको भन्ने बुझ्नुपर्छ, मतलव तपाइँ उसलाई त्यो समयमा कुरा गर्न नचाहेर पनि फोन नउठाएको हुनसक्छ । तर संस्थागत फोन यदी कुनै कर्मचारीले उठाउँदैन भने त्यो सरासर कम्पनी प्रतिको चिटिङ्ग नै हो ।’
आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले भने, ‘आइएमइ ग्रुपको सवालमा मोवाइल फोन कर्पोरेटका छन् प्रायः उठ्छन पनि । यदाकदा नउठ्ने हुन्, त्योपनि कारणले मात्र । हामी सेवा प्रदाय सँस्था हौँ, फोन नउठाउने कुरै हुँदैन । हामी प्रायः लेण्ड लाइनमै कल गर्नको लागि प्रिफर गर्छौँ र हामीसित कल सेन्टर नै छ ताकी कोहीपनि नछुटोस् । उनले भने कामको दौरानमा कति फोन उठाउन नपाइने पनि हुन्छ । यस्तो अवस्थामा आवश्यकता हेरेर कल व्याक गर्ने गरिन्छ । जानाजान हामीमा यो समस्या छैन । जहाँसम्म कम्पनीलाई धोका दिएको र रेपुटेसनमा असर परेको कुरा एक हदसम्म सहि छ तर यसैलाई सामान्यीकरण गर्न भने सकिँदैन ।’
एक निजी कम्पनीका कर्मचारी प्रकाश सुवेदीले छोट्करीमा कम्पनीले फोन उठाउने वातावरण बनाइदिए कुनैपनि फोन नउठ्ने कुरै नहुने बताए । उनले भने, ‘हामी कोहीसित किन चिटिङ्ग गर्ने ? उनले उल्टै प्रश्न गरे । घाटा कम्पनीलाई हुँदैछ त्यो कुरा सञ्चालकले चाहिँ बुझ्ने की नबुझ्ने ? सम्बन्ध राम्रो हुँदा फोन नउठ्ने र नउठाउने कुरो हुँदैन । यसकारण कम्पनीको व्यवहारले कर्पोरेट नम्बरहरुमा पनि छनौट लागु हुने हुँदा त्यसको क्षति कम्पनीलाई नै पर्नु पर्छ ताकी भविश्यमा राम्ररी काम गरोस् ।’
मानिसले किन फोन रिसिभ गर्दैन ? यस्ता देखिन्छन् कारणहरू
१. व्यस्तताका कारण
२. बोल्ने कुरा नभएर
३. सञ्चार गत्तिलो नभएर
४. एउटै कुरा दोहोरिएर
५. अफ्ट्यारो भएर
६. कुनै अप्रिय घटनाको कारण ।
भिक्टोरियन मिलोन वेवसाइटले सन् २०१३ मा गरेको अध्ययनले ४५ प्रतिशत मानिसहरु मोवाइलमा चिटिङ्ग गर्ने बताएको थियो । त्यसमा अभिभावक, साथी र कम्पनीहरु परेका थिए । चिटिङ्ग वास्तवमै गलत छ । यसले निम्न कुराहरुलाई आमन्त्रित गरिरहेको हुन्छ ।
१. झुट वा चोरी
२. बढी तनाब
३. अप्रतिश्पर्धा
४. प्रगतिको वाधक
५. गिर्दो आत्मसम्मान
६. विश्वास घट्नु
७. बानीको रुपमा विकास हुनु
८. निरर्थक बन्दै जानु
९. स्वार्थी बन्दै जानु ।
यसकारण पनि चिटिङ्गको लागि कसैले समर्थन गर्दैन । यसलाई घटाउनमै सबैको अर्ति र उपदेश हुने गरेतापनि यसको मात्रा व्यस्त समाजमा बढ्दै गएको छ । विशेष गरी फोनमा देखिएको यो समस्याले अधिकलाई (व्यक्तिगत साथै संस्थागत) रुपमा घाटा व्यहोरिरहनु परेको छ । यो विषय पुरानै होला तर क्षतिको बारेमा गरिएको यो अध्ययनले सम्बन्धको नविन पाटोलाई उजागर पक्कै गर्नेछ । भविश्यमा बिग्रने सम्बन्धलाई पनि यो खोज र भोगले दरिलो पार्ने देखिन्छ । त्यो पनि नभएर सोचमा परिवर्तन अवश्य ल्याउने छ । व्यक्ति वा कम्पनीको रेपुटेसनमा यो विषयले सुधारको ढोका पक्कै ढकढक्याउने छ ।



