माघ २९ लाग्छ, सुजाता कोइराला लड्नका लागि जन्मेकी हुन् । तीन कारणले, पहिलो, उनी कोइराला परिवारकी हुन् जुन परिवारको पर्यायका रूपमा संघर्षलाई लिइन्छ । अर्को, राजनीतिक करिअरमा उनले आफ्ना बाबु गिरिजासँग जोडिएका सन्दर्भमा पनि संघर्ष गरेका घटना छन् । र, पछिल्लो समय उनी क्यान्सरजस्तो डरलाग्दो रोगसँग लडिरहेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ ।

हो, लामो समय राजनीतिक लडाइँमा सक्रिय कांग्रेस नेतृ सुजाता कोइराला पछिल्ला केही महिना डरलाग्दो रोगसँग लडिरहेकी छिन् । क्यान्सरलाई एक हदसम्म पराजित गरेपछि कोइराला अहिले घरमै आराम गरिरहेकी छिन् ।

केही महिनाअघि सुजाता परिवारका सदस्यसहित मलेसिया घुम्न निस्किएकी थिइन् । त्यसो त कोइरालाको स्वास्थ्यमा पहिलादेखि नै सामान्य समस्या देखिएको थियो । मलेसिया भ्रमणका वेला उनले छोरीको सल्लाहबमोजिम त्यहाँको सन्वे हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरिन् ।

‘प्रारम्भिक स्वास्थ्य परीक्षणमा नै मेरो मन बहकिरहेको थियो । हाम्रो वंशमा धेरैलाई क्यान्सरको समस्या रहँदै आएकाले मलाई कताकता क्यान्सर त भएन भन्ने चिन्ता लागिरहेको थियो ।’

परीक्षण गरेपछि रिपोर्ट राम्रो आए हुन्थ्यो भनेर कोइराला भगवान्को प्रार्थना गर्न थालिन् ।
तर, स्वास्थ्य परीक्षणको रिपोर्ट जे आयो, त्यो कोइरालाको कल्पनामा पनि थिएन । स्तन क्यान्सर भएको पत्ता लागेपछि उनी छाँगाबाट खसेको जस्तो भइन् । उनको हातमा रिपोर्ट थमाउँदै चिकित्सकले भने, ‘तपाईंलाई क्यान्सरको शंका गरियो ।’
‘सोचेभन्दा ठीक विपरीत आएको रिपोर्ट हातमा लिइसक्दा नसक्दै म बोल्न नसक्ने अवस्थामा पुगेँ । पछि त्यही अस्पतालमा तत्काल भर्ना हुने निर्णयमा पुगेँ,’ त्यसवेलाको हाल बताइरहँदा सुजाताको आँखामा त्रास स्पष्ट देखिन्थ्यो ।
परिवारका सदस्यसँग रमाइलो गर्ने र फ्रेस हुने उद्देश्यका साथ मलेसिया गएको कोइराला परिवारमा एक्कासि चिन्ताको बादल ढपक्क ढाक्यो । एकछिनअघिसम्म रमाइरहेका परिवारजन अस्पतालले क्यान्सर भएको शंकासहित थमाएको कागज लिएर टोलाउन थाले । उनीहरूलाई आफ्नो सुख नै खोसिएजस्तो भयो । पारिवारिक सल्लाह भयो, प्रारम्भिक चरण छ, उपचार गरेर मात्रै नेपाल जाऊँ ।
कोइराला सोही अस्पतालमा तत्कालै भर्ना भइन् ।

कहिलेकाहीँ जीवनमा नभोेगेका र नसोचेका घटना पनि हुने गर्छन् । जीवनको यात्रामा अगाडि बढ्दै जाँदा मानिसको जीवनमा सुख र दुुःख बराबरी हुने गरेको छ । तथापि, सबैमा त्यो बराबरीचाहिँ आउँदैन । कसैले धेरै दुःख पाएका हुन्छन् भने कसैले थोरै ।
सुजाता जीवनशैलीबारे खासै चासो राख्दिनथिन् । बिहानीको झिसमिसेदेखि बेलुका अबेरसम्म नेता तथा कार्यकर्तासँगै हुन्थिन् । उनलाई लाग्थ्यो, क्रियाशीलता भएपछि नाथे रोग त्यसै भाग्नेछन् । तर, उनको जीवनमा सोचेस्तो भएन । नभन्दै एक दिन उनको स्वास्थ्यले उनलाई नै धोका दियो । राजनीतिक संघर्षमा त धेरैले धोका दिएका थिए नै एक दिन उनी आफ्नै शरीरबाट धोका खान पुगिन् । स्वास्थ्यले दिएको धोका उनका लागि अविस्मरणीय छ ।
०७३ सालको सुरुवात उनका लागि त्यति सुखद रहेन । स्वास्थ्यमा कता–कता असहजता पैदा हुँदै गएको थियो ।
‘तर, मैले स्वास्थ्यलाई भन्दा कामलाई बढी प्राथमिकता दिँदै गएँ । एक दिन, दुई दिन गर्दै मेरो स्वास्थ्यमा थप असहजता देखिँदै जान थाल्यो ।’
आफ्नो वंश परिवारमा धेरैलाई क्यान्सर भए पनि कोइरालालाई यो डरलाग्दो रोगबारे खासै जानकारी थिएन । उनी अन्य रोगलाई पनि बेवास्ता नै गर्थिन् । तर, अचानक आफैँमा क्यान्सर देखियो ।
डाक्टरले रिपोर्ट दिँदै क्यान्सरको शंका छ भन्दा जीवनमा त्यस्तो पीडा उनलाई कहिल्यै भएको थिएन रे । त्यसैका कारण सुतेको ठाउँबाट उठ्नसमेत छाडिन् कोइरालाले ।
‘मलाई उठ्नै मन लाग्दैन थियो । बिस्तारै बिस्तारै मन काप्न थाल्यो । शरीरका अंगले बिस्तारै काम गर्न छाडेजस्तो लाग्न थाल्यो ।’
सुजातालाई अस्पतालको बेड छाडेर बाहिर निस्कन नपरे पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो । जीवनप्रतिको चिन्ताले कोइरालाको दिनमै एक केजीका दरले वजन घट्दै जान थाल्यो । चिकित्सकहरू पनि डराउन थाले ।

‘मानिसको शरीरमा रोग लागेपछि केही न केही संकेत देखिँदो रहेछ । केही समयअघिदेखि मलाई धेरै निद्रा लाग्ने र मान्छे भेट्न मन नलाग्ने हुन थालेको थियो । स्वास्थ्य अवस्था असहज भएपछि म संसद्मा जान पनि बिस्तारै कम गर्न थालेँ । सुतेको अवस्थामा निद्रा पर्न छाड्यो । तर, बिहानपख अस्वाभाविक निद्राले मलाई सताउँदै गइरहेको थियो । यस्तो समस्या ममा यसअघि कहिल्यै देखिएको थिएन ।’
सुरुवातमा सुजाताको दाहिने स्तन बिस्तारै दुख्न थाल्यो । तर, उनले त्यसलाई खासै महत्व दिइनन् । दुखाइ बढ्दै गएपछि मलेसिया गएका वेला उनी स्वास्थ्य परीक्षण गराउने निर्णयमा पुगेकी थिइन् ।
परिवारका सबैजसो सदस्यमा क्यान्सर रोग लागेका कारण कहिलेकाहीँ मेमोग्राम गराउनुपर्छ भन्ने सोचाइ पनि नआएको होइन सुजातामा । तर, कोइरालाले त्यसलाई गम्भीरताका साथ कहिल्यै लिइनन् । अन्ततः सो लापरबाहीको परिणाम आयो नकारात्मक रूपमा ।
मानिसलाई कुनै रोग अरूलाई पो लाग्ने हो, मलाई त के लाग्ला भन्ने भ्रम झैँ हुन्छ । सुजालाई पनि त्यस्तै थियो ।
‘क्यान्सर वंशाणुगत रहे पनि मैले आफूलाई यस्तो होला भन्ने कल्पना गरेकी थिइनँ । धेरैले चिनीरोगका कारण पनि अत्यधिक निद्रा लाग्छ भनेपछि स्वास्थ्य परीक्षण गराउन लागेकी थिएँ ।’
त्यसो त सबैभन्दा पहिले क्यान्सर भएको शंकासहितको रिपार्ट आउँदा पनि उनी बरु मधुमेह भएको होस् भन्ने चाहन्न् ि। तर, जिन्दगीमा मानिसले चाहेजस्तो मात्र कहाँ हुन्छ र ?
प्रारम्भिक रिपोर्टलगत्तै कोइरालाले मेमोग्राम गराइन् । त्यसमा पनि क्यान्सर भएको शंका निस्कियो । उनलाई मेमोग्रामको रिपोर्टमा पनि त्यति विश्वास लागेन । कालो दाग, बोसो पनि हुन सक्छ । उनले आफैँलाई आश्वस्त बनाउन खोजिन् । भगवान् पुकार्न थालिन् ।
भाग्यवश, कोइरालाको क्यान्सर सुरुवाती चरणमा थियो, चिकित्सकले त्यो दुई सेन्टिमिटर रहेको जानकारी गराए । तत्कालै उनले अप्रेसन गराइन् र सुरुवाती चरणमा देखिएको क्यान्सरलाई फालिन् ।
धेरै दुःख भए पनि सुजाताले केमो लिनुपर्दैन, जुन अलिकति राहतको कुरा हो । कोइराला आफूलाई यस मानेमा भाग्यमानी ठान्छिन् ।

क्यान्सर शारीरिक रोग मात्र थिएन । त्यो मानसिक समस्या पनि बनेर आइदियो । त्यसैले, क्यान्सरका कारण हर्मोनको असन्तुलन हुँदा वेलावेला मानसिक तनावमा पनि परिन् कोइराला । उनलाई वेलावेला मानिस देख्दा डर लाग्ने र एकान्तमा रमाउन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो ।
कोइराला स्तन क्यान्सरको शल्यक्रिया गरेर आराम गरिरहेकी थिइन् । थप स्वास्थ्य परीक्षण गराउँदा अर्को बज्रपात पर्‍यो । पाठेघरमा पनि क्यान्सरको लक्षण देखियो । एकपछि अर्को अंगमा क्यान्सर देखिँदै जान थालेपछि कोइरालाको मनमा झन्–झन् त्रास बढ्न थाल्यो । परिणाम, उनलाई मानसिक रूपमा समेत असर पर्न थाल्यो ।
उनी चिकित्सक आउँदा पनि आत्तिने, डराउने गर्न थालिन् । मानसिक समस्या बढेपछि चिकित्सकले खान दिएको औषधिसमेत लुकाएर राखिन् उनले । पाँच दिनसम्म औषधि लुकाउँदा कोइरालाई गाह्रो हुँदै गयो । कोही मानिससँग फेस गर्न सक्ने अवस्थामा पुग्न छाडिन् ।
‘क्यान्सरभन्दा मानसिक रोग झन् ठूलो पो रहेछ । डाक्टरले निको भयो, जानुस् भनेर पटक–पटक आग्रह गर्थे । तर, म डराएर अस्पतालबाट निस्कनै मान्दिनथेँ । दिनहुँजसो चिकित्सकले यही कुरा दोहोर्‍याउन थालेपछि आफैँलाई असहजता पैदा भयो । म घर फर्कें । गम्भीर रोगले सताएपछि मनमा एक प्रकारको डर हुँदो रहेछ ।’
एक दिन कोही नभएका वेला उनले ठुलाबाकी नातिनी मनीषा कोइरालालाई फोन गरिन् । मनीषा केही वर्षअघि मात्र पाठेघरको क्यान्सरबाट पीडित भएकी थिएन् । कोइरालाले मनीषासँग आफ्नो समस्या सुनाइन् । मनीषाले यस्तै हुन्छ, औषधि खानुपर्छ, ठीक हुन्छ भनेपछि सुजाताले चिकित्सकले दिएको औषधि सेवन गर्न थालिन् । कोइराला भन्छिन्, ‘वास्तवमा ठीक भयो, मानसिक समस्या पनि बिस्तारै हट्दै गयो ।
‘तर, औषधि सेवनलगत्तै दिसामा इन्फेक्सन भएर रगत देखा प¥यो । म झन् आतिएँ । मनीषालाई फोन गरेर सोधेँ । मनीषाले आफूलाई पनि त्यस्तै भएको बताएपछि मन केही शान्त भयो ।’

क्यान्सरले सुजाताको जीवनशैलीमा पूरै परिवर्तन ल्याइदिएको छ । विगतमा चाँडै उठेर नेता तथा कार्यकर्ताको भेटमा रमाउने कोइराला यतिवेला योगमा रमाउन थालेकी छिन् । योगले शरीरमा सहजता ल्याउन सहयोग गरिरहेको छ, जीवनशैलीलाई सामान्य बनाउन मद्दत गरिरहेको छ ।
क्यान्सर रोगको उपचार गराएपछि यतिवेला सुजाताको खानपानमा समेत परिवर्तन भएको छ । उनी साकाहारी भोजनमा जोड दिन थालेकी छिन् । भन्छिन्, ‘माछामासुसँगको सम्बन्धलाई पूर्ण रूपमा विच्छेद गरेँ भन्दा पनि फरक पर्दैन । युट्युबमा गएर क्यान्सर लागेका मानिसले कस्तो परिकार खाने भनेर खोज्ने गर्छु र त्यस्तै खानेकुरा मगाउँछु ।’
के खाने के नखाने भनेर कोइराला चिकित्सकको परामर्शमा बारम्बार बस्ने गर्छिन् । यतिवेला उनलाई आफ्नो घर नै हस्पिटलजस्तो लाग्न थालेको छ । उनको स्वास्थ्यबारे सल्लाह दिन स्वदेश तथा विदेशबाट चिकित्सक पनि आउने गरेका छन् ।
उनी अहिले फलफूलका रसमा बढी जोड दिन थालेकी छिन् । धेरै समय क्यान्सर रोगीले प्रयोग गर्ने खाद्यवस्तुको खोजीमा सामाजिक सञ्जालमा समेत व्यस्त हुने गरेकी छिन् ।
‘काली जिरा, आलसको तेल साह्रै उपयोगी हुँदो रहेछ ।’ कुरा गर्दागर्दै कोइराला भित्री कोठाभित्र पसिन् र एउटा बट्टा लिएर बाहिर आइन् । आलसको तेल भएको बट्टा देखाउँदै भनिन्, ‘यो क्यान्सर रोग भएकाले खाने कुरा हो । यही खान थालेको छु । यो खाँदा शरीरमा बिस्तारै स्फुर्ती आउने रहेछ ।’
भनिन्छ, पढेरभन्दा परेर जानिन्छ । सुजाताको हकमा पनि त्यस्तै भएको छ । कोइराला आफूलाई परेको समस्याबाट सिकेर अहिले अरूलाई शिक्षा दिने भएकी छिन् । भेट्ने जो कसैलाई भन्न थालेकी छिन्– महिलालाई स्तन क्यान्सर बढी हुने रहेछ ।
सुजाता महिलामा हुने स्तन र पाठेघरको क्यान्सरको विषयमा काउन्सेलिङ दिन थालेकी छिन् । भन्छिन्, ‘मैले आफ्नो जीवनमा भोगेका घटना सबैलाई भन्नुपर्छ भन्ने भावना जाग्रित हुन थाल्यो । आफूले देखेका र भोगेका कुराले अरूलाई सुसूचित र सचेत गराउन सकियोस् भन्ने लाग्न थालेको छ । मानिसलाई सूचना र सचेतना दुवै भयो भने रोगविरुद्ध लड्न सक्ने तागत पैदा हुँदो रहेछ ।’

क्यान्सर कोइरालाका लागि एउटा ठूलो मोड बनेर आइदियो । उनी जसै क्यान्सरको उपचार गरेर आइन्, राजनीतिमा बिस्तारै हराउँदै जान थालिन् । उनी अहिले नेता तथा कार्यकर्तासँगको भेट घटाउन थालेकी छन् । कार्यक्रममा कमै मात्रामा निस्कन्छिन् ।
कोइराला आफूलाई जे गर्दा खुसी लाग्छ, त्यही काम गर्ने सोचमा पुगेकी छन् । राजनीति उनका लागि अबको रोजाइको बाटो रहेन । उनको मनले राजनीति हैन, समाजसेवा रोज्न थालेको छ । तर, पूरै निको हुन कोइरालालाई केही समय अझै लाग्नेछ । त्यसवेलासम्म उनी बाहिर निस्कन सक्ने अवस्थामा हुनेछैनन् ।
जिपी कोइराला फाउन्डेसनलाई सक्रिय बनाएर अगाडि बढाउने सोच छ उनमा । भन्छिन्, ‘राजनीतिले हैन, अब फाउन्डेसनबाट सक्रिय रूपमा जनताको सेवा गर्नेछु । फाउन्डेसनलाई एकेडेमिक बनाएर अगाडि लानुमा मेरो खुसी देख्दै छु ।’
‘मानिसले आफू जे गर्दा खुसी हुन्छ, त्यही गर्नुपर्छ । जिन्दगी त खुसीमा जिउने चिज न रहेछ ।’ क्यान्सरले कोइरालाको जीवनशैली मात्रै होइन, सोचाइमा पनि परिवर्तन ल्याइदिए जस्तो छ ।
सुजाताले जिपी कोइराला र सुष्मा कोइराला फाउन्डेसनमार्फत क्यान्सर पीडितलाई हौसला दिने किसिमका कार्यक्रम चलाउने सोच अगाडि बढाउन चाहेकी छिन्।

निकै दुब्लाएकी छिन् कोइराला । साथीसंगीहरूले माया गरेको झलझली सम्झनामा आउँछ रे उनलाई । स्वास्थ्यले साथ नदिएपछि साथीहरूसँग रमाउन नपाएको पीडा पनि थियो उनको अभिव्यक्तिमा । रोगकै कारण साथीहरूबाट टाढा हुने पो हो कि भन्ने चिन्ताले पनि वेलावेला सताउने गर्छ रे ।
क्यान्सरले घाटा मात्र गरेको छैन, सुजाताका जीवनमा । धेरै रिस उठ्ने स्वभावमा ठूलो परिवर्तन भएको छ । क्यान्सर उपचारपछि पूरै रिस मरेकोप्रति आफैँ छक्क पर्छिन रे सुजाता । अहिले आफन्तहरूले पनि जिस्क्याउँछन् उनलाई, ‘कतै तिमीले ड्रक्स खाएकी त छैनौ ? तिमी त अर्कै दुनियाँमा रमाइरहेकी छौ ।’
सुजाताको जीवनमा अहिले न रिस छ, न राग । उनलाई नै लाग्छ, कहिलेकाहीँ, ‘कतै म ह्याप्पी मेडिसिन खाइरहेकी त छैन ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah