काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र बाबु यज्ञराज पन्तबीच विहीबार बिहान एक्कासी विवाद उत्पन्न भएकोमा परिवारका सदस्यहरुबीच दिनभरी सहमतिको प्रयास भयो । निर्मलाको हत्याको विषयमा अनुसन्धानमा संलग्न टोलीले दुर्गादेवीको रगतको स्याम्पल लिएकोमा यज्ञराजले बिहानै दुर्गादेवीको घरमा गएर किन स्याम्पल दिएको भनेर झगडा गरेका थिए ।

दुर्गादेवीले बाह्रखरीसँग कुरा गर्दै भनिन्,“उहाँले आएर किन रगत दिइस् भनेर मेरो घाँटी समात्न खोजेपछि म भागेर घरबाट निस्केँ । बाहिर निस्केपछि गाउँलेले छुट्याए ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्मलाको हत्याका क्रममा शुरुदेखि नै स्थानीय प्रहरीले प्रमाण नष्ट गरेको र निर्मलाको भनिएको भेजाइनल स्वाव नै उनको हो कि होइन भनेर समेत प्रश्न उठेकोले सही स्याम्पल हो कि होइन भन्ने थाहा पाउनका आमा वा बाबुको स्याम्पल म्याच हुन्छ कि हुन्न भनेर अनुसन्धान टोलीले परीक्षण गर्न लागेको हो । तर, बाबु यज्ञराजले भने प्रहरीले अहिलेसम्म भएको अनुसन्धानको बारेमा जानकारी गराएर आफ्नो रगत लिएको भन्ने व्यहोराको पत्र दिएमात्रै त्यसप्रकारको स्याम्पल दिने शर्त राखेका थिए । अनुसन्धान टोलीले त्यस्तो पत्र नदिएपछि उनले रगत दिन अस्वीकार गरेका थिए ।

दुर्गादेवीलाई रगत लिने क्रममा अनुसन्धान टोलीले राहतको रकम पनि अब लिनुहुन्छ कि भनेर सोधेकोमा उनले सकारात्मक जवाफ दिएकी थिइन् । उनले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “मैले हुन्छ भनेकै हो । किनकी एउटी छोरी मारिएपनि अरु बालबच्चाको पनि मैले रेखदेख गर्नुपर्छ । त्यसैले अनुसन्धान हुँदै गरोस् । अरु बालबच्चालाई पनि सहयोग पुगोस् भनेर मैले हुन्छ भनेकी हुँ ।”

ad ad ad तर, यो कुरा सार्वजनिक भएपछि आक्रोशित भएका पति यज्ञराज भोलिपल्ट बिहानै घरमा गएर किन रगत दिएको र किन राहत लिन्छु भनेको भन्दै विवाद गरेका थिए । उनले १८ लाख रुपैयाँ राहत रकम लिएमा आफूले पत्नीलाई मार्ने वा आफैंले घरमा आएर आत्महत्या गर्ने धम्की दिएका थिए । यज्ञराज कान्छी पत्नीसँग अन्यत्रै बस्दै आएका छन् ।

के भयो सहमति ?

बिहानको विवादले गर्दा दुर्गादेवीलाई राति कुनै समश्या आउने हो कि भन्ने सुरक्षा चिन्ता परेको थियो । त्यसैले दुर्गादेवीले यज्ञराजकी कान्छी पत्नी अर्थात् ‘सौता’ लक्ष्मीदेवीसँग कुराकानी गरेकी थिइन् । त्यो भन्दा अघि उनले स्थानीय अधिकारकर्मीसँग पनि कुरा गरेकी थिइन् । उनले लक्ष्मीसँगको कुराकानीमा सुरक्षाका लागि प्रहरीमा उजुरी दिऔं कि के गरुम् भनेर सोधेकी थिइन् । उनले त्यसो भन्दा कान्छी लक्ष्मीले त्यसरी उजुरी नदिन बरु आफूले पति यज्ञराजलाई संझाउँछु भनेकी थिइन् । उनले श्रीमान् लाई बुझाउने जिम्बेवारी आफूले लिने बताएपछि दुर्गादेवीले प्रहरीमा लिखित उजुरी हालिनन् । उनले लिखित रुपमा उजुरी नदिएपनि मौखिक रुपमा भने प्रहरीसँग कुरा भएको बताइन् । लक्ष्मीले अहिले नै राहत रकम नलिन आग्रह गरेकी थिइन् । उनले राहत रकम लिएमा प्रहरीले अनुसन्धान नै नगर्ने सम्भावना भएकोले कम्तिमा १ महिना रकम नलिइ आन्दोलन गरेर दबाब दिऔं भन्ने प्रस्ताव गरेकी थिइन् । दुर्गादेवीले उनलाई जवाफ दिएकी थिइन्, “छोरीलाई न्याय प्राप्त हुन्छ भने १ महिना त के २ महिनापनि राहत रकम लिन्न भन्ने जवाफ दिएँ ।” दुर्गादेवीका अनुसार राहत रकम १ महिना नलिने विषयमा दुई दिदीबहिनीबीच सहमति भएको छ ।

‘स्याम्पल हाम्रै लागि हो’

दुर्गादेवीले अनुसन्धानका लागि आफ्नो रगतको स्याम्पलले आफ्नै छोरीको हत्याको अनुसन्धानको क्रममा के भइरहेको छ भन्ने खुलाउन पनि मद्यत गर्ने ठानेर आफूले अधिकारकर्मीहरुसँगको परामर्शमा नै स्याम्पल दिएको बताइन् । “उहाँ (यज्ञराज)ले भने मान्नु भएन । तर, त्यो स्याम्पलले प्रहरीले पहिला संकलन गरेको स्याम्पल सही थियो कि थिएन भनेर समेत पत्ता लाग्ने भएकोले मैले मद्यत गरेकी हुँ ।”

रकमको झगडा हो ?

राहत रकम दुर्गादेवीले लिन लागिन् भनेर कतै कान्छी पत्नी र पति यज्ञराजले सो रकम बाँडफाँड गर्न खोजेको त होइन भन्ने प्रश्न समेत आम रुपमा उठिरहेको छ । यसबारेमा दुर्गादेवीले बाह्रखरीसँगको कुराकानीमा पति तथा कान्छी पत्नी लक्ष्मीले आफूसँग त्यसरी मुखै फोरेर रकमको कुरा नगरेको बताइन् । उनीहरुले रकम लिएपछि अनुसन्धान नगर्लान् भनेर भनेका हुन् । तर, भित्री आशय के हो मैले बुझेको छैन ।

डा केसीसँग अपेक्षा

निर्मलाकी आमा दुर्गादेवी र कान्छी आमा लक्ष्मीले निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै डा गोविन्द केसी अनशनमा बसेका कारण अब हत्यारा पत्ता लगाउन पनि सरकारलाई दबाब सिर्जना हुने भएकाले आफूहरुलाई आशा पलाएको समेत बाह्रखरीसँगको कुराकानीमा बताएका छन् ।

बाह्रखरी बाट साभार