दमक/पाँच दिनदेखि लखनपुरमा जारी रहेको प्रथम राष्ट्रिय बालमहोत्सव भब्यताका साथ सम्पन्न भएको छ । महोत्सवको अन्तिमदिन महोत्सव स्थलमा थामिनसक्नुको भिड रहेको थियो भने बालबालिकाका रोचक रोचक प्रस्तुतीहरु रहेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्यमा महोत्सवको समापन समारोह भएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीका अनुसार महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । उदेश्य अनुरुप महोत्सव सफल भएको र उत्साहजनक सहभागिता रहेको उनले बताए । उज्यालो बाल क्लव लखनपुरको आयोजनमा भएको बालमहोत्सवले बालबालिकामा भएको प्रतिभालाई बाहिर ल्याउन सफल भएको आयोजकको दाबी रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाल क्लबहरुको स्टलहरु प्रमुख आकर्षण बनेका थिए । बिज्ञान प्रदर्शनी र बालबालिकाहरुले महोत्सव सञ्चालनमा देखाएको गतिबिधिले सबैलाई आकर्षण गरेको मूल आयोजक समितिका सदस्य दीनेश संग्रौलाले बताए । सबैको साथ र सहयोगका कारण महोत्सव सफल भएको उनले जनाए ।

महोत्सव मूल आयोजक समितिका सदस्य त्रीलोचन कोइरालाले महोत्सवको अवधिमा कहि कुनै प्रकारको पनि नराम्रो गतिबिधि नभएको र यस प्रकारको महोत्सवलाई निरन्तरता दिनका लागि सुझाव आएको बताए । महोत्सवले लखनपुर र उज्यालो बालक्लवलाईमात्र नभएर झापालाइ नै चिनाएको उनले दाबी गरे ।

आयोजक उज्यालो बाल क्लवकी अध्यक्ष टेलिना खनालले पहिलो पटक भएकाले महोत्सवमा केहि कमीकमजोरी भएपनि सफल भएको र यसबाट धेरै कुराहरु सिकीएको बताईन् । यसलाई सिकाइको रुपमा लिएर आउदा दिनहरुमा अझ प्रभावकारी रुपमा काम गर्ने उनले जनाईन् । महोत्सवलाई ५० हजारभन्दा बढिले अवलोकन गरेको आयोजकको भनाइ छ ।