इतिहासमा पृथ्वीनारायण शाहजस्तो सुुरवीर, दूरदर्शी र कूटनीतिक राजा अरू भएनन्। त्यस्ता राजा भएका भए एकीकरण त्यसअघि नै हुने थियो। टुुक्रे राज्यका राजाले आपसी कलहकै कारण राज्य एकीकरणमा ध्यान दिएका थिएनन्। केही राजाले राज्य विस्तार गरे पनि आआफ्ना छोरामा अंशबन्डा गरिदिए तर पृथ्वीनारायणले विशाल हृदय देखाए। उनले गोरखाजस्तो एउटा सानो पहाडी राज्यलाई विशाल नेपालमा परिणत गरे।
काठमाडौं उपत्यका विजयपश्चात् उनले गोरखा राज्य नाम नराखी नेपाल राखे। उपत्यकालाई तिनताक नेपाल मण्डल नै भनिन्थ्यो। त्यसैले नेपाल नै नाम रहन दिई राजधानी गोरखाबाट काठमाडौं सारे। यसरी गोरखालाई नेपाल राज्य विलयन गरी विशालताको परिचय दिए।
मकवानपुर राज्य अधीनमा आइसकेपछि त्यसले ओगटेको भूभागमाथि पृथ्वीनारायणले दाबी गर्न थाले। मकवानपुर राज्य र ब्रिटिस भारत सरकारबीच बेलाबेलामा सीमा विवाद हुँदै आएको थियो। खासगरी तराईका भूभाग जसलाई तरयानी भनिन्थ्यो। त्यसबारे खिचौला चल्दै आएको थियो। यस विवादलाई सुल्झाउन पृथ्वीनारायणले मकवानपुर राज्यको मालका सुब्बा दीनानाथ उपाध्याय (दाहाल) लाई झिकाए। यिनका पितापुर्खासमेत मकवानपुरका राजाका पालादेखि मालपोत विभागमा काम गर्दै आएकाले यस विषयका कागजपत्रका विषयमा राम्रो जानकारी थियो।
पृथ्वीनारायणलाई अंग्रेज शक्ति गलेको थाहा थियो। किनभने अंग्रेजको बंगाल, विहार र गोरखा राज्यसितको लडाइँमा ठूलो क्षति भएको थियो। सुब्बा दीनानाथ उपाध्यायसित परामर्श गर्दा मकवानपुरका स्रेस्ताबाट औरगंजेबको समयदेखि प्रतिवर्ष चौदह तमसुकको एकहात र त्यस्तो चौदह हातको एक हाथी मालपोतको रूपमा दिल्लीका बादशाहलाई पठाउने गरेको थियो। पछि पटनामा रहेका अफिसरहरूलाई बारह तमसुकको एक हात र त्यस्तो साढे वारह हातको हाथी बुझाउने गरेको देखिन्थ्यो र यसै स्रेस्ताका आधारमा अंग्रेजसँग सम्झौता गरेर तलहट्टी (तरयानी) को समस्या सामाधान गर्ने निधो भयो।
यस कामका लागि पृथ्वीनारायणले आवश्यक कागजातसहित सुब्बा दिनानाथलाई पठाए। पहिला दरभंगामा रहेका मेजर केलीछेउ सन् १७७१ ईको जनवरीमा गएर आफू आउनुको उद्देश्य बताए। पर्सादेखि महोत्तरीसम्मको तलहट्टी मकवानपुर राजाको अधीनमा थियो। अब गोरखा राज्यअन्तर्गत परेकोले मकवानपुरका राजाले तिरे उत्तरमा पटना काउन्सिलका हाकिमले स्रेस्ता जाँचेपछि दीनानाथका त्यस दाबी स्वीकार गरी औरंगजेवका समयदेखि बुझाउँदै आएको चौदह तमसुकको एकहात र त्यस्तो चौदह हाथको हाथीका साथ गत वर्षको बक्यौता रकम १५ हजारको माग गरे पहिला तलहट्टी (तराई) को आधा मालपोत सन् १७६७ ई. देखि अंग्रेज शासक किनलकले उठाउने गरेका पूर्वीतराईको आधाजति मालपोत मात्र मकवानपुरका सुब्बा दिनानाथले उठाउने गरेका थिए।
यसरी आधाआधी राजस्व उठाउने गरिए पनि सधैंका लागि कचिंगल मेटियोस्, भनेर सुब्बा दिनानाथले पन्ध्र हजार बक्यौता रकम दिन स्वीकार गरे। यस प्रकार कुराको टुंगो लाग्यो र दीनानाथले सन् १७६६ देखि सन् १७७० सम्म पाँच वर्षको बक्यौता पाँचवटा हाथी बुझाई बाँकी रहेको अरू रकमका विषयमा कबुलियत गरिदिए। त्यसपछि अंग्रेज मेजर किनलकले सन् १७७१ ईको अप्रिलमा आफ्ना मातहतका सैनिक पटना फिर्ता बोलाए। यसरी कचिंगल समाप्त भएको देखेर मेजर केलीको चित्त बुझेन पटनाको काउन्सिल हाकिमलाई २१ मई सन् १७७१ ईमा विरोधपत्र लेखी प्रतिवाद गरे। पछि बेतियामा रहेका अंग्रेजका वाणिज्यदूत गोल्डिङले पनि मेजर किनलकले गरेको निर्णयप्रति विरोध गरी १५ जुन सन् १७७१ ई. मा पटना काउन्सिलका हाकिमलाई विरोध पत्र लेखे।
मेजर केली र गोलिडङको पत्र पाएपछि पटना काउन्सिलका हाकिम विहारका मालपोत विभागका मुख्य अफिसर राजा सिताव रायसँग सल्लाह गरी आफ्नो रायसमेत लेखी कलकत्ताका गभर्नरकहाँ २० जुलाई १७७१ मा पठाए। उनले लेखेका विवरणको सारांश यस्तो विवादास्पद तौमतर प्रगन्नमा मकवानपुर राजाको अधिकार भएकाले यस नाताले उनीहरू कहिल्यै पनि विहार प्रान्तका जमिनदार मानिएको देखिँदैन।
नजरानाको हकमा आलमगिरको समयमा बाह्र हजार वार्षिक थियो। यस रकमलाई पछि दस हजार र पछि बाह्र हजार गरायो। तर कहिल्यै पनि यो रकम रुपैयाँका रूपमा बुझाएको छैन। सधैं हात्तीका रूपमा बुझाउने गरिएको छ।
पृथ्वीनारायणपछिका राजाले पनि अंग्रेज सरकारलाई उक्त रकम बुझाउँदै आएको देखिन्छ। पछि ३० अक्टोबर सन् १८०१ ईमा ब्रिटिस सरकार र नेपाल सरकारबीच सन्धि भयो। त्यस सन्धिमा १२ वटा धारा थिए। त्यसमध्ये धारा ७ महत्वपूर्ण रहेको छ। त्यसमा प्रस्टरूपमा यसरी लेखिएको छ– मकवानपुरको सट्टामा नेपाल सरकार कम्पनी सरकारलाई प्रतिवर्ष नापअनुसारको उपहार दिँदै आएकोमा अब नेपाल सरकारको सन्तुष्टिका लागि सो कर माफ गर्दै कम्पनी सरकारका वर्तमान अधिकारी र भविष्यमा पीठीमा नियुक्ति हुने अधिकारीलाई यो निर्देशन दिँदै अब नेपाल सरकारसित हात्ती उपहार मागिने छैन।
२ डिसेम्बर १८१५ ईमा भारत बिहारको सुगौली नामको स्थानमा सन्धि भएको थियो। नेपाल सरकारको तर्फबाट गजराज मि श्र र चन्द्रशेखर उपाध्यायले सन्धिमा हस्ताक्षर गरेका थिए। सन्धिपछि मेची नदीदेखि पूर्व तथा महाकाली नदीको सम्पूर्ण पश्चिमी भाग छोड्नुपरेको थियो। सुगौली सन्धिपछि नेपालको एकतिहाइ भूभाग भारतको अधीनमा पर्न गयो।
तराईको भूभाग नेपालभित्र पूर्णरूपमा गाभिए पनि त्यहाँका निवासीप्रति राज्यबाट समान व्यवहार गरिएन।
यस सन्धिले नेपाल र भारतबीच सधैंका लागि सीमा विवाद समाप्त भयो भने नेपालको भूभाग भारतमा गाभिएपछि नेपाल सरकारले यहाँका सैनिक जवानलाई दिँदै आएको जागिरवापत कम्पनी सरकारले वार्षिक दुई लाख रुपैयाँ भरणपोषणका लागि दिने सहमत भएको थियो। यो सन्धिको सातौं बुँदा महत्वपूर्ण छ।
यसमा लेखिएको छ– कम्पनी सरकारले तराईका केही भूभाग नेपाल सरकारलाई हस्तान्तरण गरपछि त्यहाँका नागरिक अब नेपाल सरकारका नागरिक भएकाले तिनीहरूमाथि कुनै किसिमको कारबाही वा भेदभाव गर्ने छैन भनी सहमति गरिएको थियो। यसरी तराईको भूभागमाथि पृथ्वीनारायणले सुरु गरिएको अधिकार दाबी सुगौली सन्धिपछि पूर्णता पाएको थियो। तराईको भूभाग नेपालभित्र पूर्णरूपमा गाभिए पनि त्यहाँका निवासीप्रति राज्यबाट समान व्यवहार गरिएन।
पृथ्वीनारायणपछिका शासकले तराईप्रति विजेताका रूपमा व्यवहार गर्दै त्यहाँका निवासीको भावनाको कदर गरिएन। पृथ्वीनारायणले गोरखा राज्य एकीकरण गरिएपछि ‘यो सानो दुःखले आज्र्याको मुलुक होइन, सबै जातका फूलबारी हो, सबैलाई चेतना भया’ भनी उपदेश दिएका थिए। तर अढाई सय वर्षपछि पनि नेपाल राज्य र सरकारले अहिलेसम्म पनि तराईलाई नेपाल राष्ट्रको मूलधारमा ल्याउन सकेका छैनन्।
अन्नपूर्ण पोस्ट बाट









