माघ ३, २०७५ काठमाडौं-प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभरका ७५३ वटै स्थानीय निकायमा एक/एक दरबन्दी रहने गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘रोजगार संयोजक’को आवेदन माग गर्ने भएको छ ।
श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक तथा श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले देशभर सबै स्थानीय निकायमा करारमा रोजगार संयोजकका लागि शुक्रबारदेखि आवेदन माग गर्ने तयारी रहेको बताएका हुन् ।
१० हजार भन्दा कम जनसंख्या भएका स्थानीय निकायमा नायब सुब्बा वा सो सरहको र १० हजार भन्दा बढी जनसंख्या भएका स्थानीय निकायमा शाखा अधिकृत सरहको करार दरबन्दीमा कर्मचारी भर्ना गर्ने तयारी रहेको दाहालले जानकारी दिए । करार अवधि एक वर्षको हुने छ । १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय निकायको संख्या ४८ रहेको छ ।
रोजगारीका लागि आवेदकले अनलाइन मार्फत फारम भर्ने व्यवस्था मिलाइएको छ । ‘लोकसेवा आयोगले तोकिएको योग्यता अनुसार नै रोजगार संयोजकको आवेदन लिइनेछ’ दाहालले भने, ‘आवेदकहरूको छनौट कम्प्युटर प्रणालीबाट गरिनेछ । छनोटका लागि न्यूनतम शैक्षिक योग्यताका आधारमा आवेदकले ७० अंक पाउने, त्यो भन्दा माथिको योग्यता छ भने स्वतः २० अंक थपिने र कम्तिमा २ वर्षको अनुभव भएका आवेदकको स्वतः १० अंक पाउने व्यवस्था गरिएको छ । यो सबै काम कम्प्युटर प्रणालीले गर्नेछ ।’
१०० पूर्णाङ्कमा छनौट भएका आवेदकहरूलाई ‘स्किल टेस्ट’का रूपमा कम्प्युटरबाट नै जम्मा २५ वटा प्रश्न सोधिने छ । रोजगार संयोजकको आवेदनका लागि ७ वटै प्रदेशमा स्किल टेस्ट हुनेछ ।
देशभरिका आवेदकहरूले जुन प्रदेशमा गएर काम गर्न चाहेको हो त्यही गएर आवेदन र स्किल टेस्ट दिन सक्नेछन्। तर यसमा आरक्षणको व्यवस्था भने गरिएको छैन ।
रोजगार संयोजकको काम के हो ?
१. छनौट भएका रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्नुपर्छ २. सूचीकृत बेरोजगार व्याक्तिलाई परिचयपत्र वितरण गर्ने ३. स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरूको पहिचान् गरी सोको सूचना प्रवाह गर्ने ४. स्थानीय टहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने ५. रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने ६. रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने ७. बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने ८. आफ्ना कामकारवाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा प्रतिवेदन पेश गर्ने ९. ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारवाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धि विषय हेर्ने मन्त्रालया मासिक रूपमा प्रतिवेदन पठाउने १०. आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने ११. वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता विवरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने १२. बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने १३. रोजगारसम्बन्धि सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने










