चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीलाई गए राति स्वाथ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको छ । झापामा अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बारे धेरैले चासो लिए । मिडियामा पनि उनको अनसन र स्वास्थ्य बारे चर्चा भइरहन्छ । तर झापामै अर्का एक युवा पनि आठ दिन देखि अनसनमा छन् । चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित आमरण अनशनमा बसेका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि हेलिकोप्टरमा काठमाडौं ल्याउन लागिएको छ ।

विधेयकको विरुद्धमा अनशन बसेका डा गोविन्द केसीलाई शुक्रबार बिहान काठमाडौं पुर्याएपछि थापालाई पनि ल्याउन लागिएको हो । बिहीबार राति डा. केसीसँगै थापालाई पनि अर्को एम्बुलेन्समा झापाको चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । तर डा. केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत ल्याउन सम्भव हुन सकेन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापालाई काठमाडौं पुर्याउनका लागि हेलिकोप्टर बिहान १० बजेतिर आउने झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । थापालाई पनि हाल डा. केसीको उपचार भइरहेको काठमाडौंस्थित शिक्षण अस्पतालमा नै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिए ।