झापा। उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनले आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्न गयो । मृत्युको प्रमाणपत्र देखाउँदै उनले भने, ‘यही हो मेरो पासपोर्ट । यही पासपोर्ट नै मेरो मृत्यु भइसकेको प्रमाण बनेछ ।’ उनी कार्यरत होन्डाइ कम्पनीले उनको पासपोर्ट अर्कैको शवका बाकसमा राखिदिएछ । उनलाई साउदी पठाउने म्यानपावरले पनि यथार्थ बुझ्न तत्परता देखाएन । साउदीबाट आएको शवको बाकसमा उनको नाम र पासपोर्ट राखिएकै कारण परिवारले मृत्युसंस्कार ग¥यो ।
‘साउदीबाट आएको शवको बाकसमा मेरो नाम र पासपोर्ट राखिएकै कारण मेरो काजकिरिया गरिएको रहेछ म जिउँदो हुँदाहुँदै,’ तामाङले भने । साउदीमा उनीसँगै काम गर्दै आएका कपिलवस्तुका टेकेन्द्र भण्डारीसहित केही साथी चढेको ट्याक्सी २४ असार २०७२ मा दुर्घटनामा परेको थियो । उनीहरू कम्पनीबाट तलब बुझेर फर्किँदै थिए । त्यस दुर्घटनामा टेकेन्द्रसहित पाँच जनाको मृत्यु भयो । उनी घाइते भए । तामाङको साउदीकै एक अस्पतालमा उपचार भइरहेको थियो । तर, कम्पनीले भने टेकेन्द्रको शवको बाकसमा तामाङको नाम र पासपोर्ट राखिदियो । तामाङको परिवारलाई पनि उनको मृत्यु भइसकेको र शव पठाउन लागेको जानकारी कम्पनीले गरायो ।
तामाङको भनिएको शव उनकै घर बेलबारी लगेर जलाइएको थियो । ‘शव’ जलिरहँदा तामाङ भने कोमामा थिए । चार महिना कोमा पछि उनको होस खुलेको थियो । त्यसपछि मात्र श्रीमान् जीवितै रहेको सन्तोषीले थाहा पाएकी थिइन् । काजकिरिया सकिएको ६ महिनापछि तामाङलाई नेपाल पठाइएको थियो । त्यसयता उनी निरन्तर आफ्नै घरमा छन् । एकोहोरो हाँसिरहने र रिसाइरहने समस्या उनमा बढ्दै गएको छ ।
सन्तोषी पनि जीवित श्रीमान्को काजकिरिया गर्नुपर्दा अत्यन्तै दुःखित छिन् । श्रीमान्को भनिएको शव ल्याएर जलाउँदासम्म आफू बेहोस भएको र शव देख्ने कसैले पनि होइन नभनेकामा उनी आश्चर्यचकित छिन् । ‘त्यसबेला जलाइएको शव मेरो श्रीमान्को होइन भनेर कसैले पनि भनेनन् । म पनि हो नै भनेर मृत्युसंस्कारमा सहभागी भएँ । अहिले भने गाउँ परिवार र समाजले हामीलाई पहिला नै त्यो शव तिम्रो श्रीमान्को होइन भनेर थाहा थियो भन्ने गरेका छन् । उनीहरूका यस्ता कुराले पनि मेरो श्रीमान्को स्वास्थ्यमा मानसिक समस्या देखिन थालेको हो,’ सन्तोषीले भनिन्, ‘मलाई मेरो श्रीमान् जिउँदो छँदै किरिया गर्न किन बाध्य गराइयो रु एकपटक विधवा भएकी मैले पुनः जसको किरिया गरेको थिएँ, उसैको पोते र सिन्दुर लगाउनुप¥यो । खोजी गरी कारबाही अघि बढाइयोस्,’ सन्तोषीले भनिन् ।
हिन्दू धर्मशास्त्रअनुसार किरिया गरेको मान्छे जिउँदै आए पुनः जन्माउनुपर्ने, न्वारान र विवाह सबै गर्नुपर्ने परम्परा छ । दुई सन्तानका बाबु तामाङ सिटी रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् । उनले म्यानपावर कम्पनीका कारण आफू यो हालतमा पुगेको भन्दै क्षतिपूर्तिको मागसमेत गरेका छन् । तामाङको शव भन्दै टेकेन्द्र भण्डारीको दाहसंस्कार गरेलगत्तै तामाङ परिवारले जीवन बिमाबापतको १० लाख रुपैयाँ भुक्तानी लिइसकेको एसओएस म्यानपावरले जनाएको छ । तामाङकै शव भनेर मृत्यु प्रमाणपत्रसमेत आएपछि उनको जीवन बिमाबापतको सबै रकम नेपाल लाइफ इन्स्योरेन्सबाट उपलब्ध गराइएको सो म्यानपावरका प्रतिनिधिले बताएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ










