धनगढी, पुस ६ । कैलालीको जानकी गाँउपालिकाका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका हुन् । चौधरीले ४ दिन देखि खुकुरी, बञ्चरो लिएर गाँउमा डुल्ने गरेको स्थानीयको भनाई उद्धत गर्दै प्रहरीले जनाएको छ । उनीहरुको १८ र ६ वर्षको २ छोरा रहेका छन् ।
हत्याको थप कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । दुवैको शव टीकापुर अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । नयाँपत्रिकाबाट










