कञ्चनपुर, माघ ६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्ने क्रममा प्रहरीले उनका छिमेकीहरूको नै डीएनए परीक्षणका लागि रगत संकलन गर्न थालेपछि उनको परिवार एक्लिन थालेको छ ।

प्रहरीले घटनाको सुरुवातदेखि नै पन्त परिवारलाई सघाइरहेकाहरू माथि पनि शंका गर्न थालेपछि छिमेकीहरू निर्मलाकी आमासँग रुष्ट भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छिमेकीहरूले आमाले नै नाम दिएकाले प्रहरीले आफूहरुको डीएनए परीक्षण गर्न रगतको नमुना लिएको आरोप लगाएका छन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीले रगत संकलन गरेपछि छिमेकीहरु आफूसँग रुष्ट बनेको गुनासो गरिन् । ‘सुरुमै प्रहरीको लापरवाहीका कारण अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, उनले भनिन्, ‘दोषी पत्ता लगाउन भन्दै प्रहरीले स्थानीय युवाको रगत संकलन गरेपछि छिमेकीहरु मसँग रुष्ट हुन थाले, मैले नै नाम भनेर प्रहरीले रगतको नमूना संकलन गरेको उनीहरुको बुझाइ छ ।’

कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने अनुसन्धानका क्रममा शंकास्पद देखिएका व्यक्तिको मात्रै डिएनए परीक्षण गरिएको भन्दै परिवार वा अन्य कसैले छिमेकीको नाम नदिएको स्पष्ट पारे ।

अनुसन्धानका क्रममा शंकास्पद देखिएको भन्दै प्रहरीले झन्डै दुई दर्जन छिमेकीसहित एक सय जनाको डीएनए परीक्षण गरिसकेको छ । तर हालसम्म घटनामा संलग्न व्यक्तिको भने पहिचान हुन सकेको छैन । इमेजखबरबाट