भद्रपुर । दुईवटा जंगली हात्तीले झापाको अर्जुनधारामा आइतबार आधा दर्जन घरमा क्षति पुर्याएको छ। अर्जुनधारा नगरपालिका ८ स्थित हात्तीकिल्ला बस्तीमा निस्किएको जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याउँदा करिब ३५ हजार मूल्य बराबरको क्षति पुगेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार हात्तीले अर्जुनधारा ८ निवासी चेतनाथ बजगाईंको घरको बाँसको बेरा र रनविर तामाङको किचन घरको बाँसले बारेको बेरा भत्काएको छ। त्यस्तै सोही ठाउँका पुर्ण प्रसाद चापगाईंको किचन घरको बाँसले बारेको बेरा र सेवन्त ढकालको घरको झ्यालको सिसा फुटाइ दिएको छ।
राम लुइंटेलको र जमुनादेवि गड्तौलाको किचन घरको बाँसले बारेको बेरा भत्काई दिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। हात्तीले कुनै मानवीय क्षति नगरेको उनको भनाई छ। गाउँमा हात्ती निस्किएपछि वन कर्मचारी, प्रहरी र स्थानीयबासी मिलेर हात्ती धपाएका थिए। यता गाउँमा हात्ती आउन थालेपछि स्थानीय त्रसिद बनेका छन्।










