भद्रपुर । जंगली हात्तीले घर भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्याउन थालेपछि साइरन गाडीसहित सशस्त्र प्रहरीको गस्ती टोली परिचालन गरिएको छ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा गस्ती शुरु गरेको जनाएको छ ।
विगत एक महिनादेखि हात्तीले सताउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जंगली हात्ती रहेको अनुमान गरिएको छ ।
हात्ती दिनभर आदर्श, नमूना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतंकित तुल्याउने गरेको बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बताउनुभयो । बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेतीले गाउँको बीचमा रहेको जंगलमा हात्तीको बासस्थान भएका कारण गाउँवासीको अन्नबाली मात्र नभएर ज्यानै जोगिन गाह्रो भइरहेको बताउनुभयो ।
स्थानीय आदर्श सामुदायिक वन समितिको कार्यालयमा वनको गस्ती टोली बस्दै आएको छ भने टोलीले हरेक दिन हात्ती गाउँ पस्ने भएकाले साँझ पर्नासाथ स्थानीयवासीलाई घरबाट ननिस्कन माइकिङसमेत गर्दै आएको छ ।










