महाशाखाले जारी गरेको तीन दिने मौसम चेतावनी बुलेटिनअनुसार आगामी तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
बुधबारको मौसम: बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको आँकलन गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा मधेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। राति कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बिहीबारको मौसम: बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरी चल्नसक्छ।
बिहीबार राति भने वर्षाको मात्रा अझ बढ्नेछ। कोशी, मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ।
शुक्रबारको मौसम: शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको जोखिम रहेको छ।
शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।











