शेरधन राइ

म निर्धारित कार्यक्रम अनुसार टम्के मयुँ गाउँपालिकामा रहेको चुनावी सभामा जाँदै थिएँ । हाम्रो कार्यक्रम आज दिउँसो १२ बजे गोगने भन्ने ठाउँमा थियो । त्यही कार्यक्रममा जाँदै गर्दा हामी दलगाउँ र कोटको बीचमा पिखुवा भन्ने ठाउँ, जुन, गुम्बाभन्दा एक किलोमिटरमाथि पर्छ । त्यहाँ माओवादी केन्द्रका नेताहरु चढ्नुभएको गाडी १५ मिनेट अगाडी पास भएको थियो । म त्योभन्दा पछाडी थिएँ ।

मेरो सुरक्षामा एक जना पिएसओबाहेक कोही हुनुहुन्न थियो । कलाकारहरुको तीन वटा गाडी थियो । अगाडी बाइकहरु पनि थिए । उनीहरु क्रस पनि भइसकेका थिए । त्यहाँ पुगेपछि मेरो गाडीमा बम र गोली प्रहार भयो । गाडीको अगाडीको भाग ध्वस्त भएको छ ।

त्यो एम्बुस थिएन, बम नै प्रहार गरिएको हो । त्यसपछि गोली पनि प्रहार भयो । उनीहरु तीनदेखि ५ जनाको समूहमा थिए भन्ने छ । घटनामा प्रहरी सहायक निरीक्षक घाइते हुनु भएको छ । वहाँलाई बमको छर्रा लागेको छ । घाइते अवस्थामा नै वहाँले फायरिङ गर्नुभयो । त्यसपछि आक्रमणकारीहरु भागे ।

घटना भएको स्थान जंगल नजिक छ र भिरालो पनि छ । सुरक्षा निकायलाई घटनाबारे खबर भइसकेको छ । वहाँहरु आउन अलिकति समय लाग्ने बताउनु भएको छ । हामी भएको ठाउँ आइपुग्नसदरमुकामबाट एक डेढ घण्टा लाग्छ । अहिले हामी सुरक्षित स्थानमा नै छौँ ।

यो आक्रमणलाई हाम्रो पार्टी, गठबन्धन र मैले गम्भिर रुपमा लिएको छु । विगत १०–१५ देखि म यो जिल्लामा नैतिकताको राजनीति गर्दै आइरहेको छु । म इमान्दार मान्छे हुँ । मेरो राजनीतिक जीवनमा मैले अहिलेसम्म कुनै पनि प्रश्न उठाउने ठाउँ राखेको छैन । जिल्लामा स्वच्छ छवि भएको नेताको पहिचान छ । प्रदेशकै मुख्यमन्त्रीको रुपमा मेरो दाबेदारी रहेको छ ।

यस्तो अवस्थामा मेरो र बाम गठबन्धनको लोकप्रियताबाट आत्तिएर आपराधिक समूहबाट अभिप्रेरित भएर मलाई मुख्यमन्त्री हुनबाट रोक्न आक्रमणको प्रयास भएको छ । मलाई भौतिक रुपबाट सिध्याउन, यो सुनियोजित आक्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय