जेन्सी– पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दन भर्धमानलाई भारतलाई सुम्पिएको छ । अभिनन्दनलाई नेपाली समयानुसार रातको करिब ९:३० बजे आसपासमा भारती वायु सेनाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
उनलाई भारत–पाकिस्तान सिमाना वागामा हस्तान्तरण गरिएको थियो । उनलाई ग्रहण गर्नको लागि भारतीय वायु सेनाका वरिष्ठ अधिकारी पाकिस्तान–भारत सीमामा पुगेका थिए । अभिनन्दनको स्वागतका लागि उनका परिवारजन पनि वागा पुगेका थिए । तर अभिनन्दनले केही समयको लागि मात्र परिवारजनलाई भेट्न पाउनेछन् ।
भारतले ग्रहण गरेपछि, अभिनन्दनमा गर्नेछ यी परीक्षण
भारतीय अनलाइन पहिलोपोस्टका अनुसार भारतीय वायु सेनाका प्रतिनिधिले अभिनन्दनलाई ग्रहण गरिसकेपछि उनी विभिन्न प्रक्रियाबाट गुज्रनेछन् । यस प्रक्रिया अन्तर्गत सबैभन्दा पहिले पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदा उनलाई यातना दिए नदिएको जाँच हुनेछ ।
त्यसपछि भारतीय वायुसेनाको एक समितिले उनको विमान दुर्घटना हुनु अघिको अवस्थाको ससानो डिटेल सोधेर, त्यो समयको एक चित्र बनाउनेछ । यसमार्फत पाकिस्तानी पक्षको तयारी तथा तत्परताबारेमा अनुमान गर्न सहयोग पुग्नेछ ।
अन्त्यमा गुप्तचर एजेन्सीहरुः ‘र’, आइबी र विदेश मन्त्रालयले अभिनन्दनलाई सोधपुछ गर्नेछन् । यी सबै प्रक्रिया सकिएपछि उनलाई हवाईमार्गबाट दिल्ली लगिने कार्यक्रम छ ।
अभिनन्दनको रिहाः पाकिस्तानको भारतलाई ‘शान्तिको सन्देश’
विहिबार पाकिस्तानको संसदलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अभिनन्दन भारतलाई सुम्पने बताएका थिए । इमरानले ‘शान्तिको सन्देश’ दिनको लागि अभिनन्दनलाई छाड्न लागेको बताएको थियो ।
बुधबार अभिनन्दनले उडाएको लडाकू विमान पाकिस्तान भूभागमा दुर्घटनाग्रस्त भएको थियो । तर अभिनन्दन लडाकू विमानमा जडान हुने प्यारासुटको मद्दतबाट सुरक्षित अवतरण गरेका थिए । त्यसपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका थिए ।
अभिनन्दनलाई हस्तान्तरण गरिने कार्यक्रम अवलोकन गर्न तथा उनलाई स्वागत गर्नका लागि भारत–पाकिस्तानको वागा सीमा नाकामा हजारौं भारतीय जम्मा भएका थिए । उनीहरु बिहानैदेखि देशभक्तिपूर्ण गीत गाउँदैं नाचगान गरिरहेका थिए । त्यहाँ उपस्थित कयैनका हातमा भारतको झण्डा थियो ।
हिरोजस्तै स्वागत
भारतले विशेष विमानबाट फिर्ता ल्याउन खोजेको तर पाकिस्तानले वागा सीमानामा हस्तान्तरण गरेको अभिनन्दनको सुरक्षित घर फिर्तीले भारतमा उत्सवको जस्तै माहोल बनेको छ । एउटा युद्ध जितेर फर्केका योद्धा सरह नै उनको स्वागत गरिएको छ । उनको भव्य स्वागत गरिएको छ । प्रायशः सबै राजनीतिक दलका नेताहरुले उनलाई स्वागत गर्दै सामाजिक सञ्जालहरुमा खुसीको सन्देश दिइरहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीटर सन्देशमा अभिनन्दनलाई स्वागत गर्दै ‘राष्ट्र उनको उदाहरणीय साहसको लागि गर्वित बनेको’ उल्लेख गरेका छन् ।




