आज साउन १ गते साउने संक्रान्ती पर्व देशका विभिन्न ठाउँहरुमा मनाइदैछ । कृषी प्रधान देश नेपालमा असार महिनाभर गरेको खेती पातीको कामबाट थकित किसानले हिलो मैलो पखाली आफ्ना इष्टमित्रकासाथ रमाइलो गरी भोज खाने प्रचलन छ । असारे हिलोबाट पर्न सक्ने असर तथा रोगबाट जोगीन लुतो फाल्ने उदेश्यले यो चाड मनाइदै आएको धार्मिक विश्वास रहिआएको छ ।
आजको दिन विभिन्न फलफुल चढाएर कण्डारक नामक राक्षुसको पुजा गर्नाले दाद लुतोखटिरा जस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ विभिन्न औषधीका रुपमा प्रयोग हुने बनस्पतीको आगो बालेर आ आफना घर आँगनबाट चारै दिशामा अगुल्टो द्धारा लुतो फाल्ने गरीन्छ र आज खेतबारीमा पसे रोग लाग्छ भन्ने मान्यता अनुरुप खेतबारीको काम नगर्ने चलन रहेको छ ।
साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ|साउने संक्रान्ति किराती समुदाय बीच ‘सिसेक्पा तङ्नामको नामले मनाईन्छ|किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ। पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन्।
पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन्।साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन्।
अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो। यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टे्रलियामा, मलेसिया, दुवई, साउदी, कतार आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन्। नेपालभित्र, मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन्।



