काठमाडौं – बेलायतमा बिहीवार अत्यधिक गर्मी हुने अपेक्षा गरिएको छ । सडकहरू पग्लन सक्ने भन्दै प्रहरीले मानिसहरूलाई घरैमा बस्न सचेत गराएको छ । बिहान १० बजे नै लन्डनको तापक्रम ३२ डिग्री सेल्सियस थियो । गर्मीका कारण मानिसहरूलाई सुत्नै गाह्रो परेको थियो । अपराह्नमा झन् आर्द्रता बढेर तापक्रम ४३ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरूले गरेका छन् ।
रेलका ट्य्राकहरू धसिने अनि सडकहरू पग्लिने सम्भावना रहेकाले मानिसलाई घरै बस्न भनिएको छ । पौडी खेल्ने विषयमा पनि प्रहरीले चेतावनी जारी गरेको छ किनकि गर्मीका कारण पौडी खेल्न गएका तीन मानिसको डुबेर मृत्यु भएको छ भने एकजना हराइरहेका छन् ।
यातायात संगठनहरूलाई कडा गर्मीका कारण सडकहरू चकलेट पग्ले झैं पग्लिने सम्भावना रहेको चेतावनी दिइएको छ । गर्मी धेर बढेपछि मानिसहरूले धमाधम पंखा किन्न थालेका छन् । पंखा कम्पनीहरूले बुधवार मिनेटको ६ वटा पंखा बिकिरहेको जनाएका छन् । एजेन्सी



