काठमाडौं – मस्कोको एक विमानस्थलबाट उड्न लागेको एयरोफ्लोट विमान अर्को विमानसँग ठोकिएको छ । उक्त विमान धावनमार्गमा गुडिरहेको बेलामा रोयल फ्लाइट विमानसँग ठोकिएको हो ।
मंगलवार मस्कोको शेरेमेत्येभो अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । दुई विमानको पखेटामा क्षति भएपछि टुक्राटाक्री धावनमार्गमा छरिएको देखिन्छ ।
एयरोफ्लोटको एयरबस ए३३०–३०० विमान २२९ यात्रु लिएर बेइजिङ जान खोज्दै थियो । यात्रुहरूलाई विमानबाट निकालेर उडान स्थगित गरिएको थियो । पछि उनीहरूलाई अर्को विमानमा राखेर उडाइएको थियो ।
रोयल फ्लाइट विमानमा भने घटना हुँदा कुनै पनि यात्रु थिएनन् । फूटेज हेर्दा बोइङ ७७७–३००ईआर विमान पार्किङमा लगिँदै गर्दा अर्को विमानसँग ठोकिएको देखिन्छ ।



