काठमाडौं – चन्द्रयान–२ को विक्रम ल्यान्डरसँग सम्पर्क स्थापना गर्ने आशा भारतीयहरूले गरिरहेको भए पनि चन्द्रमामा ओर्लन लाग्दा नै त्यो नष्ट भइसकेको वैज्ञानिकहरूले खुलासा गरेका छन् ।
अटोम्याटिक ल्यान्डिङ प्रोग्राममा गडबडी भएका कारण विक्रम ल्यान्डर दुर्घटनाग्रस्त भएको भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोको आकलन छ ।
१४ सय १७ किलो तौल भएको विक्रम र त्यससँग जोडिएको २७ किलोको रोवर प्रज्ञान चन्द्रमाको सतहभन्दा केही माथि मात्र दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्मको अनुसन्धानबाट अब विक्रम ल्यान्डरले कामै गर्न नसक्ने निश्चित भएको छ । क्य्राश ल्यान्डिङ गर्दा त्यो पल्टिएको वा बांगिएको हुन सक्ने वैज्ञानिकहरूको राय छ । तर चिन्नै नसकिने गरी त्यो क्षतिग्रस्त पनि नभएको वैज्ञानिकहरू बताउँछन् ।
विक्रमको असफलताको कारण जाँच्ने एक वैज्ञानिकले विक्रमसँगको सम्पर्क निश्चित रूपमा १० किलोमिटर भन्दा पनि कम दूरीमै टुटेको बताए ।
दुईजना वैज्ञानिकले ल्यान्डिङ प्रोग्राममा केही गडबडी रहेको अनुसन्धानले देखाएको बताए ।
चन्द्रमामा सफ्ट ल्यान्डिङ निकै ठूलो चुनौती हो । अमेरिका र रुस जस्ता अन्तरिक्ष विज्ञानका अग्रणी देशहरूका लागि पनि यो चुनौती हो । चन्द्रमामा गुरुत्वाकर्षणको अभाव र अत्यधिक गतिका कारण सफ्ट ल्यान्डिङ मुश्किल काम हो ।एजेन्सी



