काठमाडौं – बेलायतीहरूलाई विदेशमा घुमाउने कम्पनी टमस कूक १७८ वर्षसम्म चलेपछि अहिले आएर बन्द भएको छ । यसले बैंकहरूबाट २८ अर्ब रुपैयाँ लिन नसकेपछि बन्द भएको हो । तर यो टूर अपरेटरको समस्या त्यसभन्दा पनि अघिदेखिकै हो । सन् २००७ मा मर्जरमा गएदेखि यसको पतन शुरू भएको हो अनि ऋण बढ्दै गएपछि र होलिडे बूकिङमा इन्टरनेट क्रान्ति आएपछि त्यसको शिकार यो बन्यो ।
त्यसमाथि ब्रेक्जिटका कारण अनिश्चितताले गर्दा यो विशाल कम्पनी कुनै पनि बेलामा कोल्याप्स हुने स्थितिमा पुगेको थियो । गत मे महिनामा कम्पनीले १.५ अर्ब पाउन्ड घाटा भएको बतायो अनि सन् २००७ मा माईट्राभलसँग मर्ज भएपछि अर्को १ अर्ब पाउन्ड घाटा लाग्यो ।
माईट्राभलसँग मिसिएपछि युरोपेली स्तरको ठूलो कम्पनी बनाउने लक्ष्य लिइएको थियो र साढे सात करोड पाउन्ड प्रतिवर्ष बचाउने अनि इन्टरनेट बूकिङका प्रतिस्पर्धीहरूलाई चुनौती दिने भनिएको थियो । तर वास्तविकता के हो भने टमस कूक विगत ६ वर्षमा एकपटक मात्र नाफा गरेको कम्पनीसँग मिसिन पुगेको थियो र यस सम्झौताका कारण ऊ विशाल ऋणको चक्करमा फस्यो ।
बेलायतीहरूले बिदा बस्न छोडेकाले टमस कूक कोल्याप्स भएको हैन । सन् २०१८ मा ६० प्रतिशत बेलायतीहरूले विदेशमा बिदा मनाएका थिए जुन अघिल्लो वर्षको ५७ प्रतिशतभन्दा माथि हो । तर अहिले बिदा मनाउने तरिकामा परिवर्तन आएको छ अनि समुद्री किनारमा छुट्टी मनाउनुको साटो शहरहरूमा घुम्ने प्रचलन बढेको छ ।
टमस कूक डुबेपछि रायनएयर, ईजीजेट र एयरबीएन्डबीलाई फाइदा भएको छ र उनीहरूका ग्राहक सबैले अन्लाइन बूकिङ गर्ने गरेका छन् । हाई स्ट्रीट चेनसँग जोडिएका प्याकेज होलिडे कम्पनीहरू चाहिँ घाटामा परेका छन् । टमस कूकसँग लगभग ५६० वटा हाई स्ट्रीट आउटलेटको स्वामित्व छ ।
अहिले सातमा एक बेलायती मात्र हाईस्ट्रीट ट्राभल एजेन्सीमा गएर छुट्टीको प्याकेज लिने गरेको ट्राभल एजेन्सी कारोबार संस्था अब्टाले जनाएको छ । ६५ वर्षमाथिका मानिस अनि कम पैसा खर्च गर्ने निम्न सामाजिक आर्थिक समूहका मानिसले मात्र त्यहाँ गएर टिकट लिने गरेका छन् ।
जलवायु संकटले पनि यसमा असर पारेको छ । युरोपभरि सन् २०१८ को मे महिनामा लू चलेपछि छुट्टीमा जाने मानिस घटे । ग्राहकहरूले बेलायतमै उच्च तापक्रम खप्दै छुट्टी लिने निर्णयमा ढिलाइ गरे । सन् २०१९ मा चाहिँ ब्रेक्जिटको अनिश्चितताका कारण बेलायती ग्राहकहरूले गर्मीमा यात्रा योजना स्थगित गरे ।
सन् २०११ मा टमस कूक झण्डै बन्द हुन लागेको थियो । उसको ऋण बढ्दै गएर १.१ अर्ब पाउन्ड पुगेको थियो र आकस्मिक रूपमा थप नगद प्रवाह गरिएपछि ऊ बौरिएको थियो तर यसले गर्दा उसले थप ऋणभार वहन गर्नुपरेको थियो ।
सन् २०११ देखि टमस कूकले १.२ अर्ब पाउन्ड ब्याज तिरेको छ जसको अर्थ हुन्छ उसले ग्राहकहरूबाट उठाएको रकम ऋणदाताहरूको खल्तीमा पुगेको छ ।
केही वर्षका लागि चिनियाँ समूह फोसुन इन्टरनेसनलले टमस कूकमा शेयर लियो अनि विश्वव्यापी छुट्टी र मनोरञ्जन कंग्लोमरेट (समूह) बनाउने योजना बनायो । उसले फ्रान्सको क्लब मेड र क्यानडाको सर्क डे सोलेल पनि किनिसकेको थियो ।
अगस्ट महिनामा टमस कूकले पुनःसंरचनाको विस्तृत विवरण प्रकाशित गर्यो जसमा फोसुनले बहुमत शेयरधनी बनाइने शर्तमा ४५० मिलियन पाउन्ड नगद दिने कुरा थियो । बैंकहरूले ऋणको १.७ अर्ब डलर पनि माफ गर्नुपर्ने थियो । अन्य शेयरधनीहरू चाहिँ पूरै हट्नुपर्ने भयो ।
यो सम्झौता टुटेपछि टमस कूक बन्द हुन लागेको हो ।
कम्पनीलाई राष्ट्रियकरण गरिनुपर्ने माग केही मानिसले राखेका छन् । तर सरकारले त्यसो गर्न मानेको छैन । यो निजी व्यवसायको समस्या भएको र ग्राहकहरूलाई एटोेल प्रोटेक्सन स्किम र बीमाले संरक्षण गर्ने सरकारको तर्क छ ।
टमस कूक बेलायती जीवनको अंग मानिएकाले दोस्रो विश्वयुद्धपछि दिवालिया भएपछि सन् १९४८ मा राष्ट्रियकरण गरिएको थियो । ब्रिटिश रेलवेजको एक अंगका रूपमा सन् १९७२ सम्म यो सार्वजनिक संस्था नै थियो । तर इन्टरनेट र बदलिँदो फेशनका कारण यो ध्वस्त भएको छ अनि ऋणको पहाडले थिचिएर पनि यसको पतनको बाटो खुलेको हो । द गार्डियनमा प्रकाशित प्याट्रिक कोलिनसनको विश्लेषण



