बीबीसी । के कोही आफ्नो श्रीमान वा श्रीमतीबाट एक घण्टा टाढाको दुरीमा बस्न सक्छ ? तर हङकङको महङ्गो हाउजिङ बजारमा नचाहेर पनि एकै परिवारका सदस्य छुट्टिएर बस्न बाध्य छन् ।
लाम लोक र जेसन छाउ २०१२ मा डिज्नील्यान्डमा काम गर्दैगर्दा प्रेममा परेका थिए र त्यसको तीन वर्षमा उनीहरुले विवाह गरे । तर उनीहरुको वैवाहिक जीवन सोचेजस्तो रहेन । किनकि ३१ वर्षीया लोक हङकङको पूर्वी जिल्लामा आफ्ना आमाबुवासँग बस्छिन् भने ३५ वर्षीय उनका पति सिङ यि एक घण्टा टाढा आफ्ना अभिभावकसँग बस्छन् । यस्तोमा उनीहरुकी तीन वर्षीया छोरी युले सोमबारदेखि बिहीबार लोकसँग बिताउने गरेकी छन् भने शुक्रबारदेखि आइतबार छाउकहाँ बस्ने गर्छिन् । दुवैजना उनीहरुमध्ये एकजनाको परिवार भएठाउँ सर्न सक्दैनन् किनकि दुईजना वयश्क र एउटा बच्चाका लागि दुवै परिवारको घर अत्यन्तै सानो रहेको लोक बताउँछिन् ।
उनले बीबीसीसँग भनेकी छन्, “सुरुसुरुमा मैले यो सहनै सकिनँ । किनकि हामीलाई धेरैपटक विवाह गरेजस्तो अनुभूति नै हुँदैनथ्यो । यसरी छुट्टाछुट्टै बस्नुपर्दा हामीलाई अझै एक्लो भएजस्तो आभास हुन्थ्यो र एक वर्षपछि मात्र हामीलाई यसरी बस्ने बानी परेको हो ।”
विशेषगरी छोरी यु जन्मने समयमा दुवै परिवारले थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए । टाढा बस्ने र निरन्तर काममा व्यस्त भएकाले पतिले छोरीको ख्याल राख्न नसकेको लोकको भनाइ छ । उनले थप भनेकी छन्, “हामीले आफ्नी छोरीलाई सँगसँगै हुर्काउन पनि सकेनौँ न ऊ ठूलो भएको हेर्न पार्यौँ ।”
वास्तवमा यो घटना असाधारण लागे पनि हङकङमा सो समस्या सामान्य मानिन्छ । हाउजिङ बजार अत्यन्तै महङ्गो भएकाले नै धेरैले आफ्ना लागि छुट्टै घर खरिद गर्न सक्दैनन् । यस्तोमा लोक र छाउ बढ्दो सङ्ख्याका ती जोडीहरुमा पर्छन् जो विवाहित हुँदाहुँदै पनि सँगै एउटै घरमा बस्न सकेका छैनन् । २०१८ को सरकारी तथ्याङ्कअनुसार १० मध्ये एक विवाहित जोडि आफ्नो पार्टनरसँग बस्दैनन् भने सँगै बस्नेहरु अभिभावकसँगै संकुचित घरमा बस्न बाध्य छन् । लोकले यसका लागि हङकङको महङ्गो बजारलाई जिम्मेवार ठहर्याएकी हुन् जुन पछिल्लो नौ वर्षदेखि विश्वकै सबैभन्दा बढी मूल्यको बजार रहँदै आएको छ ।
‘डेमोग्राफिया इन्टरनेस्नल हाउजिङ अर्फोडेबिलिटी को २०१९ को अध्ययनमा आठवटा देशका ३०९ शहरलाई सूचाङ्कित गरिएको छ जसमा हङकङको बजार सबैभन्दा कम ‘अर्फोर्डेबल’ मा पर्दछ । जस्तै त्यहाँ वार्षिक घरेलु आम्दानीको तुलनामा एउटा मध्यम स्तरको घरको मूल्य २१ गुणा बढी छ । उदाहरणका लागि युरोपेली बजारको महङ्गो घर हेर्ने हो भने त्यो केबल ८.३ गुणा बढी दामको रहेको छ ।
यस्तोमा एउटा साधारण सिङ्गो फ्ल्याट एक भन्दा बढी परिवारले बाँडेर प्रयोग गर्दा पनि त्यसको मूल्य हङकङको ४ हजार डलर प्रति महिना अर्थात ५१० अमेरिकी डलर पर्दछ । त्यसमा प्रायः एउटा खाट मात्र अटाउँछ । यता १५ देखि २४ वर्षका कामदारहरुको मासिक पारिश्रमिक करिब ११ हजार हङकङ डलर रहेको छ भने ३० देखि ३९ वर्षका कामदारहरुको २१ हजार हङकङ डलर रहेको छ ।
यस्तोमा दुवै विवादित जोडिको राम्रो कमाइ भए पनि मध्यम स्तरका कमै परिवारले मात्र ठीक्क आकारको घर खरिद गर्न सक्ने सरकारको इन्भेस्ट हङकङ कार्यक्रमका अध्यक्ष माइकेल रोज बताउँछन् । हाल जारी प्रदर्शनमा घरको मूल्य सम्बन्धी कुरा पनि उठाइएको छ । सरकारको नीति बासिन्दा भन्दा सम्पत्तिका मालिकको पक्षमा रहेको हङकङवासीहरुको गुनासो छ ।
लोक, मिडियाकर्मी र छाउ, डिज्नीका कर्मचारी हुन् र दुवैले औसत भन्दा केही कम कमाइ गर्छन् । उनीहरुले आफ्ना अभिभावकलाई घरको भाँडा तिर्नु नपरे पनि पैसा बचाउन संघर्ष गर्नुपर्छ भने उता छोरीको पनि सबै खर्च उठाउनुपर्छ । छाउ भन्छन्, “हामीले सँगै बस्ने योजना बनाइरहेकाछौँ तर छोटो समयमा यो सम्भव छैन । ”
यसको विकल्पको रुपमा धेरै जोडिहरुले निजी वासस्थानलाई छाडेर सार्वजनिक हाउजिङ रोज्ने गरेको पनि पाइन्छ तर सार्वजनिक फ्ल्याटको माग उच्च हुने तर अत्यन्तै कम सङ्ख्यामा उपलब्ध हुने हुँदा प्रायः मानिसहरुले औसतमा पाँच देखि ६ वर्षसम्म आफ्नो पालो कुर्नुपर्ने हुन्छ । गत जुलाईमा मात्र यसका लागि १ लाख ४७ हजारले निवेदन दिएका थिए ।
२८ वर्षीया क्याथी टाम र ३५ वर्षीया उनका पति लुइस ली सार्वजानिक हाउजिङमा स्थान पाउन सफल भएका हुन् किनकी पति लुइसले २०१२ मै यसका लागि निवेदन दिएका थिए जसबेला उनीहरुको विवाह भएकै थिएन । टाम भन्छिन्, “विवाह नभएता पनि हामी एकअर्काबारे निर्धक्क थियौँ । ” यसरी लीले पहिले नै केबल एक वर्षका लागि मात्र आफूहरु छुटिएर बस्ने सोचेका थिए ।
अहिले भने उनीहरु २१ वर्ग मिटरको फ्ल्याटमा बस्छन् । उनी भन्छिन्, “लामो समय सँगै नबस्नुले परिवार नै अधुरो भएको महसुस गराउँथ्यो । त्यसैले अहिले हामी साथ बस्न पाएकामा धेरै आभारी छौँ । यस्तो नभएको भए हामी छोराछोरीबारे सोच्न सक्ने थिएनौँ ।” यसरी एउटै घरमा नबसुन्जेल बच्चा जन्माउन नचाहने विषयले हङ्कङको घट्दो प्रजनन दर माथि पनि प्रकाश पार्दछ । किनकि त्यहाँका अधिकांश जोडिहरु यसरी नै अलग बस्नु परिरहेको छ जसले जन्मदर १९८१ को तुलनामा ५० प्रतिशत कम गराइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
यसरी जनसङ्ख्यात्मक कारणले मात्र नभएर वैवाहिक सम्बन्धलाई स्वस्थ राख्ने सम्बन्धी पनि यसले चिन्ता बढाएको छ । यसरी छुटिएर बसेका विवाहित जोडीहरुले आफ्नो सम्बन्ध जोगाउन नियमित फोन सम्पर्कमा रहने र बेलाबेलामा घुम्न जाने गरेका छन् । तरपनि आफ्नो पार्टनरबाट अलग बस्नुले धेरैलाई एक्लो महसुस गराउँछ ।
जस्तै ६९ वर्षीय मा होइ–सिङ आफ्नी ६२ वर्षीया पत्नी जीन गुओ फिबाट छुट्टिएर बस्न बाध्य छन् र उनी अत्यन्तै एक्लो महसुस गर्ने गरेको बताउँछन् । घर खरिद गर्न असक्षम भएकाले नै उनीहरु अलग बसिरहेका छन् । उनीहरु सरकारी घरका लागि तेस्रोपटक पर्खिरहेका छन् ।



