एजेन्सी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग प्रस्तावको औपचारिक प्रक्रिया शुरु भएको छ । प्रस्ताव पारित हुन भने रिपब्लिकन पार्टीबाट समेत २० सांसदको समर्थन आवश्यक रहनेछ ।
राष्ट्रपति ट्रम्प विरुद्ध डेमोक्र्याट्स नेताहरुले महाअभियोग प्रस्तावको औपचारिक शुरुवात गरेका हुन् ।
प्रतिनिधिसभा प्रमुख न्यान्सी पलोसीले ट्रम्पबाट संविधान र कानूनका थुप्रै बुँदाहरु उलंघन भएको आरोप लगाउँदै महाअभियोग प्रस्तावको लागि औपचारिक शुरुवात गरिएको जनाएकी छिन् । प्रतिनिधिसभा प्रमुखले यसरी अभिव्यक्ति दिने नमिल्ने भएपनि पलोसीले राष्ट्रपति कानूनभन्दा माथि नभएको भन्दै जिम्मेवार रहनुपर्ने बताएकी छन् ।
उता राष्ट्रपति ट्रम्पले भने प्रतिक्रियामा लगातार ट्वीटमार्फत आफूमाथिको सम्पूर्ण आरोप मिथ्या रहेको जिकिर गर्दै डेमोक्र्याट्सहरुले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । अमेरिकी इतिहासमा हालसम्म कुनै पनि राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट हटाइएको छैन ।
ट्रम्पमाथिको महाअभियोग प्रस्ताव तल्लो अमेरिकी सदनबाट पारित भएपनि रिपब्लिकनको बहुमत रहेको माथिल्लो सिनेटबाट पनि पारित भए मात्र लागु हुनेछ । महाअभियोग प्रस्ताव पारित गराउन रिपब्लिकन पार्टीका २० जना सांसदको समेत समथन आवश्यक पर्नेछ ।
के हो पूरा घटना ?
गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक वाचडगलाई ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुन् भनेर पत्ता लाग्यो ।
इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना प्रदाता (ह्विसल ब्लोअर) को उक्त जानकारी ‘तत्काल ध्यानमा लिन योग्य’ र विश्वसनीय मानेका थिए । उक्त जानकारीको कपीलाई डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति प्रदान गर्न अस्विकार गरेका थिए ।



