इजिप्टमा सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा करिब दुई हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । आन्दोलनको दोस्रो साता चलिरहँदा शुक्रबारसम्म मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै प्रदर्शनकारीहरुलाई पक्राउ गर्ने क्रम तिव्र पारिएको छ ।
राष्ट्रपति अब्देल फताह एल-सिसि विरुद्ध ‘मिलियन-म्यान-मार्च’ (लाखौं मानिसहरुको र्याली) को आह्वान गरिएपछि मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो । इजिप्टका गृहमन्त्रीले बिहीबार शान्ति र स्थिरतालाई खलब्याउने कुनै पनि किसिमका गतिविधि भएमा ‘निर्णायक’ कदम चालिने चेतावनी दिएका थिए । राष्ट्रपतिको राजीनामा माग गर्दै थालिएको प्रदर्शनका क्रममा दुई साताको अवधिमा दुई हजार बढी पक्राउ परिसकेका छन् ।
ट्विटरमा राष्ट्रपतिले पद त्याग गर्नुपर्ने लेखेका काइरो विश्वविद्यालयका राजनीतिक शास्त्रका प्रोफेसर हसन नाफासमेत पक्राउ परेका छन् । नाफाले लेखेका छन्, “राष्ट्रपति एल-सिसिको निरन्तरताले मुलुकमा संकट निम्त्याउछ । त्यसकारण इजिप्टबासीहरुले राष्ट्रपतिको बर्हिगमन माग गरेका छन् ।” त्यसैगरी सेनाका पूर्व प्रवक्ता समी अनान, अल-डउस्टर पार्टीका प्रमुख खालिद दवउडसमेत पक्राउ परेका छन् ।
संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अमेरिका पुगेका राष्ट्रपति एल-सिसि शुक्रबार स्वदेश फर्किने भएका हुन् । यही अवसरमा प्रदर्शनकारीहरुले आन्दोलन सुरु गरेका हुन् । त्यहाँ आन्दोलनका समाचार अथवा आन्दोलनको पक्षमा वकालत गर्ने वेबसाइटसमेत बन्द गरिएको छ ।



