इरानमा दोस्रो दिन पनि विरोध प्रदर्शन हुँदा देशको नेतृत्व अप्ठ्यारोमा परेको छ । बुधवार १७६ यात्रु सवार युक्रेनी विमानमा भूलवश क्षेप्यास्त्र प्रहार गरेको भनी शनिवार बल्ल स्वीकार गरेपछि इरानी नेतृत्वविरुद्ध जनताको आक्रोश विस्फोट भएको छ । विमानका अधिकांश यात्रु इरानी थिए ।
‘हाम्रो शत्रु अमेरिका हो भन्दै उनीहरू झूटो बोलिरहेका छन्, हाम्रो शत्रु त यहीँ छ,’ विरोधकर्ताहरूको एक समूहले तेहरान विश्वविद्यालय अगाडि नारा लगाउँदै भन्यो ।
अन्य विश्वविद्यालयहरूमा पनि विरोधकर्ताहरू भेला भएका थिए भने एक समूहले तेहरानको आजादी चोकसम्म जुलूस लगेको थियो । अन्य शहरमा पनि प्रदर्शन भइरहेका छन् ।
तेहरानवासीहरूले प्रहरी बललाई आइतवार ठाउँ ठाउँमा तैनाथ गरिएको बताए । केही विरोधकर्ताले आजादी चोकमा अधिकारीहरूलाई विरोधमा भाग लिन आह्वान गरे अनि त्यसपछि आफ्नो आक्रोश अधिकारीहरू समक्ष पोखे ।
उनीहरू ‘तानाशाह मूर्दाबाद’ भन्दै सरकारविरोधी नारा लगाए । तानाशाह भनेर उनीहरूले आयातोल्लाह अली खमेनीलाई इंगित गरेका हुन् ।
अर्धसरकारी समाचार संस्था इल्नाले विरोधकर्ताहरूलाई प्रहरीले तितरबितर पारेको लेख्यो । अन्लाइनमा पोस्ट गरिएका भिडियोहरूमा लट्ठी र अश्रूग्यास बोकेका प्रहरीबाट प्रदर्शनकारीहरू टाढा भागेको देखिन्छ ।
रोयटर्सबाट



