२३ वर्षीय सैनिक जवान जोन गुडीनफले सन् १९४६ मा भौतिक शास्त्र पढ्ने बिचार बनाइ सिकागो युनिभर्सिटीको बाटो समाए। जब उनी त्यहाँ पुगे, एक प्रोफेसरले उनलाई भौतिक शास्त्रमा केही उपलब्धि गर्नको लागि उनको उमेर अलि धेरै भैसकेको बताए।
हालसालै, यो घटना मलाइ सुनाउदै गर्दा डा. गुडीनफ मज्जाले हाँसे। उनले ती प्रोफेसरको सुझावलाइ नकारे, र अहिले ९४ वर्षीय उनले आफ्नो गजवको सिर्जनशीलताका कारण प्राविधिक समुदायमा उथलपुथल ल्याएका छन्। उनी र उनको टेक्सस युनिभर्सिटी, अस्टिनमा रहेको वैज्ञानिक समूहले एउटा यस्तो ब्याट्रीको खोज गरेको निवेदन गरेको छ, जुन ब्याट्री उनीहरुले वाचा गरे जस्तै हुने हो भने त्यस्तो हल्का, सस्तो र सुरक्षित हुनेछ कि विद्युतीय सवारी साधनको क्षेत्रमा क्रान्ति आउनेछ र पेट्रोलबाट चल्ने साधनहरु लोप हुनसक्नेछन्। उनको यो घोषणाले सबैको ध्यान किनपनि आकर्षण गरेको छ भने डा. गुडीनफले पहिले पनि यस्तै केही गरिसकेका छन्। १९८०मा, ५७ वर्षको उमेरमा उनले लिथिएम-आयन ब्याट्रीको आविष्कार गरे जसले बिजुलीलाई एउटा सानो पोकामा अटाइदियो, जुन ब्याट्री अहिलेका अधिकांश मोबाइल फोनमा पनि प्रयोग हुन्छ।
हामी धेरैजसो सोच्छौं बढ्दो उमेरसंगै सिर्जनशीलता घट्दै जान्छ। तर डा. गुडीनफको सत्यकथाले संकेत गर्छ – केही व्यक्तिहरुको उमेर ढल्कदै जाँदा झन् सिर्जनशीलता हुर्कदै जान्छ।
तर, दुर्भाग्यवश, उनी जस्ता पाका प्रतिभाहरुले धेरै प्रतिकूल परिस्थितिको सामना गर्नु पर्दछ।
“अरु भन्दा युवाहरु अलि तेजिला नै हुन्छन,” २००७ मा फेसबुकका सस्थापक २२ वर्षीय मार्क जकरबर्गले स्ट्यानफोर्डमा एक कार्यक्रममा भने। “म संग सम्पतिको नाममा एउटा ओछ्यान मात्र छ,” मार्कले एक भेन्चरबिट लेखक संगको गफमा यो पनि थपिदिए, जवानी र सिर्जनशीलताको सम्बन्ध दर्शाउदै। उनको यो विचार धेरै तर्कसंगत थिएन(यसका उनले पछि माफी पनि मागे), तर उनको अर्थ प्रष्ट थियो; मध्यम उमेरका व्यक्तिहरु पट्यार लाग्दा सम्पति, सामान र बासी विचारहरुको बन्धक हुन्छन्।
मार्कको अभिव्यक्तिपछि विश्वको प्राविधिक सदरमुकाम सिलिकन भ्यालीमा साना उमेरका प्रतिभाहरुको पुजा ह्वात्तै बढ्यो। भर्खरै एक १२ बर्षीय आविष्कारक शुभम ब्यानर्जीमाथि इन्टेल ब्राण्डले एक नया कम्पनीको सुरुवातका लागि पुंजी लगानी गर्यो।
अहिलेको अवस्थाले मध्यम उमेरका मानिसहरुलाई यो विश्वास गर्न सजिलो बनाइदिएको छ की हाम्रो कल्पनाशक्तिको उत्कर्षबाट हामी अघि बढिसक्यौं र अहिलेको समय अहिलेका युवाहरुकै हो।
तर माथिको तर्कको विपरित, धेरै प्रमाणहरुबाट मानिसहरुले ढल्कदो उमेरमा आफ्नो सिर्जनशीलता भेट्नु पनि कुनै अनौठो घटना नभएको कुरा देखिन्छ। २०१६ मा एक संचार प्रविधि र नवाचार फाउन्डेसनको अध्ययनले आविष्कारकहरु आफ्नो ४० वर्षपछिको दशकमा सबैभन्दा बढी क्रियाशील हुने र आफ्नो पेशाको पछिल्ला वर्षहरुमा झन् धेरै उत्पादन उन्मुख हुने तथ्य देखाएको छ। त्यसैगरी, अमेरिकी जोर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजी र जापानी हितोत्सुबाशी युनिभर्सिटी ले प्याटेन्ट अर्थात् आविष्कार दर्ता रेकर्डको अध्ययन गर्दा के पत्ता लगाएका छन् भने, औसत आविष्कारकले आफ्नो प्याटेन्ट निवेदन ४७ वर्षको उमेरमा पठाउँछन्, अनि सबैभन्दा महत्वपुर्ण प्याटेन्टहरु धेरैजसो ५५ वर्ष काटिसकेका आविष्कारकबाट आउँछन।
जोन पी. वाल्श, एक प्रोफेसरले जिस्किदै भने कि प्याटेन्ट कार्यालयले “बृद्ध छुट” दिनु पर्दछ किनभने,”यो त प्रष्ट नै छ की ज्येस्ठ उमेरकाहरुले नै आविष्कारको संसारमा सबैभन्दा महत्वपूर्ण योगदान पुर्याउँछन्।”
१९८० देखिका नोबेल पुरस्कार विजेताहरुमाथि गरिएको अध्ययनले पनि यो कुरा अगाडि आएको छ की औसतमा सबै विजेताका खोजहरु ५० वर्षपछिको उमेरमा सफल भएका थिए। अध्ययनले यो पनि पत्ता लगायो की हरेक वर्ष नोबेल पुरस्कार जित्नेहरुको उमेर बढ्दो छ। धेरै वर्ष देखि जोन गुडीनफले पनि नोबेल पुरस्कार पाउने अनुमान मानिसहरुले लगाएका छन् तर अहिले सम्म स्टकहोमबाट त्यस्तो खबर भने आएको छैन। जोनलाई रसायन शास्त्रको सुज्यान् लुचि भने पनि हुन्छ। यदि जोनले नोबेल पुरस्कार पाए भने उनि सो पुरस्कार पाउने सबैभन्दा जेठा व्यक्ति हुनेछन र शायद त्यो चलनको शुरुवातकर्ता पनि।
मैले जति डा. गुडीनफसंग कुरा गर्दै गएँ, मलाई त्यति लाग्न थाल्यो कि सायद उनको ज्ञान र उनको उमेरको सिधा सम्बध छ। हुन पनि हो, उर्जा शक्तिको बारेमा उनले जति धेरै समयसम्म पृथ्वीमा अरु कसैले पनि सोचेको छैन।
उनि पेट्रोलियमको युगको सुरुवाततिर जन्मे, उनको कनेक्टिकटको गोठघरमा मट्टीतेलको स्टोभ र खानेकुराका लागि बरफको बाकस थियो। सानो हुँदा उनले हेनरी फोर्डले बनाएका सबै भन्दा पहिलेका गाडीहरु चढे। “हाम्रो घरमा भएको पहिलो गाडी मोडेल ‘ए’ थियो,” उनले भने, जसमा सबै भन्दा पुराना जमानाका ब्याट्री प्रयोग हुन्थे।
१९७० तिरको उर्जा संकटले उनलाई उर्जालाई कसरी साना पोकामा संचित गरेर राख्न सकिन्छ भन्ने कुरा सोच्न प्रोत्साहित गरिदियो। आज उनकै लिथियम-आयन प्रविधि हाम्रो ल्यापटप, फोन, र कारहरुमा प्रयोग गर्छौं। तर डा. गुडीनफ आफ्नो पुरानो आविष्कार देखि पूर्णत: सन्तुष्ट छैनन्, र कसरी त्यसलाई सुधार्न सकिन्छ भनेर कसरत गरिरहेका छन्। “हाम्रो समाजका लागि अहिले एकदम जरूरी कुरा भनेको हाम्रो जिवाश्म इन्धनमा रहेको निर्भरता हटाउनु हो, र यदि हामीले एउटा यस्तो कार बनाउन सक्यौं जो इन्धन जत्तिकै सरल र सस्तो हुनेछ भने, हामीले कार्बनडाइअक्साइड उत्पादनलाइ सडक देखि पर धकेल्न सक्छौं,” उनले भने।
उनका अनुसार उनको पहिलेको लिथियम-आयन ब्याट्री धेरै महँगो, कमजोर र असुरक्षित छ, हामीलाई त्यो भविष्यसम्म पुर्याउनका लागि।
त्यसैले वर्षौ अघि उनले एउटा ठोस ब्याट्री बनाउने निर्णय गरे, जसलाई उनी पड्कने सम्भावना बाट सुरक्षित बनाउन चाहन्थे। उनको कल्पनामा यो “ठोस” ब्याट्री सस्तो अनि हल्का पनि थियो। करिब दुइ वर्ष अघि उनले एक पोर्चुगिज भौतिक शास्त्री मारिया हेलेना ब्रागाको खोजको बारेमा थाहा पाए। मारियाले आफ्नो सहकर्मीको साथमा एउटा काँचको आविष्कार गरेकी थिइन् जसले साधारण ब्याट्रीभित्र हुने तरल पदार्थको जस्तै काम गर्न सक्दथ्यो।
डा. गुडीनफले डा. ब्रागालाई आफ्नो अस्टिनको प्रयोगशालामा आउन मनाए। “हामीले केही प्रयोगहरु गर्यौँ, अनि काँचको सुख्खापनको बारेमा निश्चित भएपछि हामी काममा लागिहल्यौं,” उनले भने।
उनका केही सहकर्मीलाई भने उनले सो काम गर्न सक्लान भन्ने कुरामा शंका थियो। तर डा. गुडीनफ त्यसले हतोत्साहित भएनन्। “ म यति बुढो भैसके कि म बुझ्छु की नयाँ उपायहरु आउने बाटोलाई बन्द छोड्नु हुदैन। केही नयाँ कुराको खोज गर्ने हो भने हरेक सम्भाव्यतालाइ परीक्षण गर्नु जरुरी हुन्छ।”
जब उनलाई उनको बुढेसकालको सफलताको बारेमा सोधियो, उनले भने: “हामी कोही कोही कछुवाहरु जस्तै हुन्छौं; सायद ३० वर्ष हुँदासम्म हामीले आफ्नो जीवनलाई बुझी सकेका हुन्नौं। तर कछुवाहरुले हिंडिरहनु पर्दछ।” उनले थपे की यो कछुवा यात्रा कतै कतै निकै साहसपूर्ण पनि हुने गर्दछ, विशेषत: यदि कोही एउटा देखि अर्को क्षेत्रमा डुलिरहन्छ, सुराकहरुको खोजीमा। डा. गुडीनफले भौतिकशास्त्रबाट सुरुवात गरे अनि त्यसपछि रसायन शास्त्र, अनि वस्तु विज्ञानतिर पनि छलांग लगाइरहे, त्यतिनै बेला उनको नजर हरित अर्थ निर्माणका लागि उपयुक्त सामाजिक र राजनीतिक अवस्थाको खोजीमा पनि थियो। “धेरै उपायहरुलाई जोडेर केही ठोस बनाउन अनुभव जरुरी हुन्छ,” उनले भने।
उनी आफ्नो प्रदुषणलाई हराउने र पेट्रोलियमलाइ त्याग्ने लक्ष्यप्रतिको लगाव भइरहनुको श्रेय आफ्नो आस्थालाई पनि दिन्छन।
उनको प्रयोगशालामा “द लास्ट सप्पर” को टेपेस्ट्री चित्र झुन्डिएको छ, जसलाई झट्ट हेर्दा, धेरै वैज्ञानिकहरु कुनै सिद्धान्तको लागि वादविवाद गरिरहे जस्तो देखिन्छ। सो चित्रले उनलाई आफ्नो दिमागलाई कुनै विशाल इश्वरीय शक्तिले चलाइरहेको अनुभव गराउँछ।
“म मैले जीवनमा पाएका अवसरहरुप्रति कृतज्ञ छु,” उनले भने। उनी विश्वास गर्छन की डा. ब्रागाको काँचको आविष्कार पनि उनको जीवनमा आएका खुसीका समाचार मध्येको एक हो: “ठ्याक्कै त्यही बेला, म केही कुराको खोजीमा थिए, अनि त्यो कुरा मेरो ढोकैमा आइपुग्यो।”
अन्तिममा, उनले वृद्धावस्थालाई आफूमा एउटा बौद्धिक स्वतन्त्रता ल्याईदिनुको श्रेय दिए। ९४ वर्षीय उनले परिहास गर्दै भने,” यो उमेरमा जागिर खोसिएला कि भन्ने डर रहन्न।”
स्रोतः न्यूयोर्क टाइम्स



