लक्जमबर्ग सार्वजनिक यातायात निःशुल्क बनाउने संसारकै पहिलो देश बनेको छ । अब यो देशमा शनिबारदेखि ट्रेन, ट्राम र बस चढेको पैसा लाग्दैन । त्यहाँको सरकारले ट्राफिक व्यवस्थापन गर्न, प्रदुषण कम गर्न र कम आय भएका जनतालाई सहयोगका निमित्त यस्तो निर्णय लिएको बताएको छ ।
यो सानो तर धनी युरोपेली देशमा सार्वजनिक यातायातको ‘स्ट्यान्डर्ड क्लास’ निःशुल्क बनाइएको छ । यद्यपि, यात्रीले फर्स्ट क्लासको लागि भने प्रतिवर्ष ६६० युरो ( करिब ८४ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।
सार्वजनिक यातायातमा निःशुल्क सेवा दिने संसारकै पहिलो देश
‘जसको कमाई न्यूनतम छ, यसले निकै सघाउ पुर्याउनेछ,’ यातायातमन्त्री फ्रान्कोइस बाउस्चले रोयटर्सलाई भने ।
लक्जम्बर्गको जनसंख्या ६ लाख छ । फ्रान्स, बेल्जियम र जर्मनीमा बस्ने लगभग दुई लाख जनसंख्या दैनिक रुपमा सीमा पार गर्दै कामका लागि लक्जमबर्ग भित्रिने गर्छन् ।



