कोरोनाभाइरसका विषयमा अमेरिका र चीनबीचको विवाद बढ्दै गएको छ । दुवै देशले भाइरसको उत्पत्तिका लागि एकअर्कालाई जिम्मेवार ठहर्याएका छन् ।
सोमवार फ्रान्समा रहेको चिनियाँ दूतावासले कोरोनाको शुरूआत अमेरिकाबाट नै भएको आरोप लगायो ।
दूतावासले ट्वीट गरेर इशारा दियो– अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प जसलाई चिनियाँ भाइरस भन्छन्, त्यो अमेरिकामा नै उत्पत्ति भएको हो ।
ट्वीटमा लेखिएको छ, ‘अमेरिकामा सन् २०१९ को सेप्टेम्बर महिनामा शुरू भएको फ्लुबाट २० हजार मानिस मारिए । तीमध्ये कतिवटा कोरोनाभाइरसका केस हुन् ? अमेरिकाले नयाँ कोरोनाभाइरसका निमोनियाका केसलाई फ्लु भनेर पेश गर्ने कोशिश गरेको हैन ?’
तर चिनियाँ दूतावासले यस दाबीको प्रमाण भने पेश गरेको छैन ।
दूतावासले थप लेख्यो, ‘जुलाई महिनामा अमेरिकाले मेरील्यान्डमा फोर्ट डेट्रिक बेसस्थित बायोकेमिकल वेपन्स रिसर्च सेन्टर अचानक बन्द गरिदियो । त्यो ल्याब बन्द भएपछि अमेरिकामा निमोनियाका अनेकौं केस देखिए ।’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र परराष्ट्रमन्त्री माइक पम्पिओले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्ने गरेकोमा चीन आक्रोशित छ । चीनको वुहान शहरमा कोरोनाभाइरसको पहिलो केस देखिएको भए पनि यो कसरी उत्पत्ति भयो र कहाँबाट फैलियो भन्ने निश्चित भइसकेको छैन । एजेन्सी



