कोरोना भाइरस सङ्क्रमणको संभावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित संकटमा परेका छन्। आफ्नो ‘आविष्कार’ को परीक्षण गर्न खोज्दा चुम्बक नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति आयो।
डा. ड्यान्यल रिएर्डन नामका ती खगोल भौतिकशास्त्री मानिसले हात अनुहार नजिक पुर्याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए। तर उनले सोचे जस्तो भएन।
‘मेरो आविष्कारको उल्टो प्रभाव भयो। चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो, ‘उनले भने, ‘मैले आफू समस्यामा परेको थाहा पाएँ।’
‘म हाँसे र केही बेर काम गरिनँ,’ उनले बीबीसीलाई भने।
‘अनि मैले केही नसोचीकन अनुहारमा चुम्बक राख्न थालेँ। पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र चुम्बकका मुन्द्राजसरी।’ ‘नाकको अर्को प्वालमा चुम्बक राखेपछि समस्या भयो। ती सँगै टाँसिए र नाकेहाडमा चुम्बक अड्किए।’
‘पहिला दुख्यो तर म धेरै आत्तिइनँ, ‘उनले भने, ‘तर ती (चुम्बक) हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ।’ ‘बाँकी दुईटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो।’
तर आफै त्यस परिस्थितिबाट मुक्त हुने उनले प्रयास गरे। तार च्याप्ने औजार पनि उपयोगी भएन। उनले भने, ‘त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो। अनि नाक तानिँदाको बल पीडादायी थियो।’
त्यति बेला बल्ल उनलाई अस्पताल गएको भयो हुन्थ्यो भन्ने लाग्यो। उनी मेल्बर्नस्थित एउटा स्थानीय अस्पताल गए। उनलाई देखेपछि चिकित्सक अचम्ममा परे। हाँसेर उनीहरूले सोधे, ‘नाकमा किन त्यति धेरै चुम्बक हालेको?’
चिकित्सकले उनको नाकबाट सबै चुम्बक निकालिदिए।अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ।
-बीबीसी



