दक्षिण कोरियामा कोरोनाभाइरस लागेर निको भइसकेका ५१ जना रोगी फेरि कोरेना पोजिटिभ पाइएका छन् । यसले भाइरस पुनः सक्रिय हुन्छ कि भनी डर बढाएको छ ।
देशमा सबभन्दा बढी प्रभावित शहर दाएगुका ती रोगीलाई भाइरस लागेको पाइएपछि क्वारेन्टीनमा राखिएको थियो । क्वारेन्टीनबाट निस्केको केही दिनपछि उनीहरूमा फेरि भाइरस देखियो ।
कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीहरूमा पुनः संक्रमण भएको नभई भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको जनाएको छ ।
मानव कोशिकामा यो भाइरस पत्ता नलाग्ने गरी लुकेको विश्वास गरिएको छ । अज्ञात कारणले भाइरसका सूक्ष्म कणहरू पुनः सक्रिय हुने देखिएको उनीहरू बताउँछन् तर रोगीहरू संक्रामक हुने नहुने स्पष्ट नभएको उनीहरूको भनाइ छ ।
तर भाइरसले यस्तो व्यवहार देखाउने कुनै प्रमाण फेला नपरेको र बाँदरहरूमा गरिएको अध्ययनले यसभन्दा फरक नतिजा देखाएको विज्ञहरू बताउँछन् ।
एउटै बिरामीलाई दुईपटक कोरोना पोजिटभ पाइएमा परीक्षणले गलत नतिजा दिएकाले हुन सक्ने उनीहरूले बताए । युनिभर्सिटी अफ ईस्ट एंग्लियाका सरुवा रोग प्राध्यापक पल हन्टरले भने, ‘यी पुनः संक्रमणका केस नहोलान् तर यी केसमा भाइरस पुनः सक्रिय भएको जस्तो मलाई लाग्दैन ।’



