भारतमा कोरोनाभाइरस फैलिन नदिन लगाइएको “लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।
शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए जसका क्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हलचलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।
दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने बिहीवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएको थिए।
तर उनले त्यसबारे थप जानकारी दिएनन्।
महाराष्ट्र राज्यले ३० एप्रिल सम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको बीबीसी हिन्दीले जनाएको छ।
चिन्ताहरू
भारतमा कोरोनभाइरसका कारण लगाइएका प्रतिबन्धहरूका कारण मानिसहरूले सास्ती पाएका र अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।
भारतका विभिन्न राज्यमा भाइरसको असर फरक फरक रहेको छ।
कुनै राज्यमा लकडाउन चल्दाचल्दै पनि त्यसको प्रभाव धेरै परेको छ। दशौँ लाख आप्रवासी कामदारहरूले रोजगारी गुमाएका छन् र उनीहरूले धेरै दु:ख पाइरहेका छन्।
भारतमा अहिलेसम्म ७६०० जना सङ्क्रमित भएका छन् र त्यहाँ २४९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ। तर वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने ठानिएको छ। बिबिसी नेपाली



