कोभिड–१९ को गम्भीरता र मृत्युदर महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । एक अध्ययनमा देखिएअनुसार, कोरोनाभाइरसको असर महिला र पुरुषमा फरक फरक हुन्छ ।
अमेरिकाका टेक्सस विश्वविद्यालय, ह्युस्टन मेथोडिस्ट रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टेनेसी हेल्थ साइन्स सेन्टरका अनुसन्धाताहरूका अनुसार, मृत्युदरमा लैंगिक भिन्नताका पछाडि विभिन्न कारक तत्त्व हुन्छन् । दुवै लिंगको जेनेटिक संरचना र बानी यसका लागि जिम्मेवार हुन्छन् ।

पुराना कोरोनाभाइरसहरूबाट भएका सार्स र मर्स जस्ता महामारीमा पनि पुरुषहरूको मृत्युदर बढी भएको अध्ययनमा पाइएको छ । अनुसन्धानका अनुसार, पुरुष र महिलामा कोरोनाभाइरसको प्रतिरोधक रेस्पोन्स फरक फरक हुन्छन् । धेरै पुरुषहरू धूम्रपान गर्ने तथा पहिलेदेखि नै मुटुको समस्याको ग्रस्त भएकाले पनि उनीहरूमको मृत्युदर बढी देखिएको हुन सक्छ ।
अनि हात धुने बानीको अध्ययन गर्दा पनि पुरुषहरूको तुलनामा महिलाहरू हात बढी धुन्छन् । तर महिलाहरूमा थप राम्रो प्रतिरोधक सुरक्षा दिने सम्भावित जैविक तत्त्वहरूमा अझै अनुसन्धान गर्नुपर्ने देखिएको छ ।



