अमेरिका, २० बैसाख । अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारका लागि ‘रेम्डिसिभियर’ नामको एन्टिभाइरल औषधिलाई स्वीकृति प्रदान गरेको छ ।
अमेरिकाकै औषधि कम्पनी ‘गिलियाड साइन्स ’ले बनाएको औषधिलाई अमेरिकी सरकारले बिरामीमा प्रयोगका लागि शुक्रबार स्वीकृति दिएको हो । मानिसमा गरिएको परीक्षण क्रममा ‘रेम्डिसिभियर’ औषधिले कोरोना भाइरस नष्ट गरेको अनुसन्धाकर्ताले दाबी गरेका छन् ।
कोरोनाको औषधिलाई अमेरिकी केन्द्रीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय द फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन स्वीकृतिका रूपमा अनुमति प्रदान गरेको हो ।
अब यो औषधि इन्जेक्सनमार्फत बिरामीलाई दिइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर यो औषधिले कोरोनाबाट हुने मृत्युदरलाई कति हदसम्म कम गर्छ भन्ने कुरा अहिल्यै स्पष्ट भइनसकेको विज्ञले बताएका छन् ।
प्रारम्भिक रूपमा एक लाख ४० हजार बिरामीका लागि ‘रेम्डिसिभियर’ औषधि बनाइएको कम्पनीले जनाएको छ । यसले ११ दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।
शुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलो पटक बनाइएको थियो । तर त्यसमा यसले खासै प्रभाव गर्न नसकेको विज्ञको भनाइ छ ।
अहिले विश्वमै कोरोना भाइरसको संक्रमणबाट पीडित देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ‘रेम्डिसिभियर’ औषधिले महत्वपूर्ण काम गर्ने भन्दै खुशी व्यक्त गरेका छन् ।



