जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सिमानामा ब्यापक कडाइ गर्ने तथा आवतजावत बन्द गर्ने हो भने आन्तरिक रुपमा नेपालीलाई खतरा नभएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले एक लेख लेख्दै कोरोना विरुद्ध आशाको किरण देखिएको बताएका हुन् ।
जनस्वास्थ्य विज्ञ डा. पाण्डेको लेख
नेपालमा कोरोना संक्रमण अहिलेसम्म २१७ जनामा देखिएको छ ।
नेपालसंगै कोरोना संक्रमण देखिएको बंगलादेशमा हालसम्म १६,६००, अफगानिस्तानमा ४९६३, माल्दिभ्समा ९०४, श्रीलंकामा ८८९ जनामा संक्रमण देखिएको छ । तसर्थ हामीहरु अझै पनि बलियो स्थितिमा छौं । सिमानामा ब्यापक कडाइ गर्ने तथा आवतजावत बन्द गर्ने हो भने आन्तरिक रुपमा हामी खतराको अवस्थामा छैनौं ।
१. स्विजरल्याण्डको अस्पतालमा कार्यरत डा. बिनय श्रेष्ठ भन्छन्– यदि नेपालमा कोरोना संक्रमण जोखिम स्तरमा पुग्यो भने बिदेशमा रहेका हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्नो देशमा आएर सेवा गर्न जहिले पनि तयार छौं ।
२. न्युयोर्कमा रहेका तथा कोरोना संक्रमण पोजिटिभ देखिएर निको हुँदै गरेका सरगम भट्टराई भन्छन्– तपाईँ आफ्नो घरभित्र बसिरहने र छुट्टै ट्वाईलेट बाथरुम प्रयोग गर्ने हो भने पल्लो घरको छिमेकी त के अर्को कोठामा बस्ने तपाईँकै परिवारको सदस्यलाई कोरोना पोजिटिभ देखिएपनि तपाईँलाई सर्दैन। संक्रमितको संख्या यति पुग्यो भनेर त्रसित नहुनुहोला।
३. अष्ट्रियाको भिएना निवासी, कोभिडको उपचारमा फ्रन्टलाइनमा काम गरिरहेका सागर सुबेदीले भन्छन्– कोरोना संक्रमितसंग १५ मिनेटभन्दा छोंटो कुराकानी गर्दा संक्रमण नसर्न सक्छ । यसको अर्थ क्लोज कन्ट्याक्ट नभएमा नसर्न पनि सक्छ ।
४. कुनै व्यक्तिलाई कोरोना संक्रमण भयो भने उसले औसतमा ३ जनालाई मात्र संक्रमण सार्न सक्छ ।
५. कोरोना संक्रमण लाग्दैमा मृत्यु हुँदैन । ८० % भन्दा धेरै संक्रमितलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १० % अस्पतालको आइसोलेसन वेडमा बसेर लाक्षणिक उपचार गरेपछि निको हुन्छ । बाँकी १० % लाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ । त्यसमा बाँकी ७ % लाई निको हुन्छ भने ३ % को मात्र मृत्यु हुनसक्छ । त्यो पनि उमेर र दीर्घरोगमा भर पर्दछ ।
६. नेपालमा कोरोना संक्रमण अन्य देशभन्दा निकै ढिलो शुरू भएको छ । हामीले रोकथामका उपाय, क्वारेन्टाइन, आइसोलेसन, उपचारका धेरै पक्ष, PPE लगायतका सुरक्षा सामग्री आदिको ब्यबस्था गर्न पायौं । त्यो बेला युरोपमा स्वास्थ्यकर्मीलाई मास्कको समेत उपलब्धता थिएन । हामीले त्यो चरम अभाव बेहोर्नु पर्ने छैन ।
७. अहिले चीन कोरोना संक्रमणको चपेटाबाट लगभग मुक्त भएको छ । चीनले ठूलो मात्रामा रोकथामका सामग्री उत्पादन गरेर विश्वलाई सहयोग गरिरहेको छ । यदि नेपालमा कोरोना संक्रमण भयाबह भयो भने पनि चीन, भारत, जापान, कोरिया, युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशबाट औषधि उपकरण, जनशक्ति आदि सहयोग लागि हात बढाउने छन् ।
८. यो ४-५ महिनामा कोरोना उपचारले फड्को मारेको छ । इबोला, जापानिज इन्फ्लुएन्जा, मलेरिया, सार्स आदि रोगमा प्रयोग भएका औषधिले राम्रो काम गरेका छन् । यी औषधिको कारण कोरोना संक्रमणबाट गम्भीर हुनेको संख्या निकै कम भएको छ । लाखौँ संक्रमित निको भएका छन् । यी औषधि नेपालमा पनि उपलब्ध छन् / हुनेछन् ।
९. चीन, भारत, इरान, श्रीलंका, मदागास्कर आदि देशले स्थानीय जडिबुटीको प्रयोग गरेर इम्युनिटी पावर बढाउने तथा रोगको उपचार गर्ने अभ्यास गरेका छन् । खास गरेर बेसार, तुलसी, गुर्जो, पाती, दालचिनी, लसुन, मरिच आदिको प्रयोग इम्युनिटी पावर बढाउन सफल देखिएका छन् ।
१०. चीन, अमेरिका, बेलायत, इटाली, इजरायल लगायतका देशहरु खोप परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।
११. निको भएको संक्रमितको प्लाज्मा संक्रमितलाई चढाएर उपचार गर्ने प्लाज्मा थेरापी भारत लगायतका देशमा सफल भएको छ ।
१२. संक्रमण बढ्यो भने निश्चित जनसंख्याले हर्ड इम्युनिटी प्राप्त गर्नेछ । यो जनसंख्यालाई कोरोना संक्रमण हुँदैन । भएपनि खतरा हुँदैन ।
१३. हामी घरमै बस्ने, हात धोइरहने, बाहिर जानु परेमा मास्क, चस्मा, पंजा, आउटर लगाउने, स्यनिटाइजर प्रयोग गर्ने तथा ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने हो भने कोरोना भाइरस हामीलाई सर्दैन ।
१४. सरकारले खरिद गरेका, स्विजरल्याण्ड तथा चीनबाट आएका करिब १ लाख परिक्षण किट हामीसंग छ । ती किटलाई पुलिंग मेथडबाट परिक्षण गर्दा दश लाख जनालाई कोरोना संक्रमण परिक्षण गर्न सकिन्छ । यसबाट संक्रमित पत्ता लाग्ने तथा संक्रमितलाई आइसोलेसनमा राख्ने काम गर्दा समुदायमा संक्रमण फैलिन पाउंदैन ।



