इन्टरनेटमा भाइरल भएको एक भिडियोका कारण उत्तरपश्चिम पाकिस्तानमा दुई युवतीहरूको हत्या गरिएको छ । यसलाई अनर किलिङ (इज्जतका लागि हत्या) नाम दिइएको छ ।
उत्तर र दक्षिण वजीरिस्तानको आदिवासी जिल्लाको सीमा नजिक एक गाउँमा दुवैको हत्या परिवारकै मानिसले गरेका हुन् । दुवैमाथि गोली प्रहार गरिएको हो ।
प्रहरीका अनुसार, भाइरल भएको भिडियोमा दुवै युवती एक युवकसँग देखिएका थिए । आइतवार प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमध्ये एक मृत युवतीका पिता अनि अर्का व्यक्ति चाहिँ अर्की युवतीका दाइ थिए ।
डन पत्रिकाले प्रहरीको रिपोर्टको आधारमा लेख्यो, ‘घटना बिहीवार अपराह्न खैबर पख्तुनख्वामा गैरीओम गाउँमा भएको हो ।’ रिपोर्टका अनुसार, दुई युवतीको उमेर १६ र १८ वर्ष थियो । भिडियोमा उनीहरू एक युवकका साथ कुनै एकान्त ठाउँमा गएर बसेको देखिन्छ ।
एक वरिष्ठ प्रहरी अधिकारीले बताए, ‘भिडियो लगभग एक वर्ष पुरानो हो र केही हप्ताअघि मात्र सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।’
उनले भने, ‘अहिले हाम्रो प्राथमकिता भिडियोमा देखिएकी तेस्री युवती र युवकलाई बचाउनुमा छ । पछि अर्को कारवाही गर्नेछौं ।’
ह्युमन राइट्स वाचका अनुसार, पाकिस्तानमा महिला र युवतीहरूविरुद्धको हिंसा गम्भीर समस्याका रूपमा रहेको छ ।
मानवअधिकार अभियन्ताहरूले देशभरि अनर किलिङका एक हजारवटा घटना वर्षैपिच्छे हुने गरेको बताएका छन् ।



