काठमाडौं। ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । विश्वमा सबै भन्दा बढी संक्रमित हुने देशमा ब्राजिल दोस्रो देश हो ।
त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघेको छ भने मृतकको संख्या ४९ हजार बढी रहेको छ । गत २४ घण्टामा मात्र ब्राजिलमा ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । संसारभर भने ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गुमाउन बाध्य भए । सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजारको मृत्यु भएको छ ।
संसारभर संक्रमितको संख्या साढे ८७ लाख कटेको छ । अमेरिकामा मात्र करिब २३ लाख मानिस संक्रमित छन् । तेस्रो स्थानमा रहेको रुसमा ५ लाख ६९ हजार संक्रमित भएका छन् । त्यहाँ मृतकको संख्या ७ हजार ८ सय रहेको छ । संक्रमितको दृष्टिले भारत चौथो स्थानमा रहेको छ । भारतमा संक्रमित ३ लाख ९५ हजार र मृतक करिब १३ हजार पुगेका छन् ।
बेलायतमा ३ लाखभन्दा बढी संक्रमित र मृतक साढे ४२ हजार पुगेका छन् । स्पेनमा संक्रमित २ लाख ९२ हजार र मृतक २८ हजार नाघेका छन् । त्यस्तै पेरुमा संक्रमित २ लाख ४७ हजार र मृतक ७ हजार ६ सय नाघेका छन् भने इटालीमा २ लाख ३८ हजार संक्रमित र मृतक साढे ३४ हजार पुगेका छन् ।



