अयोध्यामा हिन्दू र मुसलमानहरूको बीचमा भूमि आधिपत्यका विषयमा दशकौंसम्म विवाद चलेको भए पनि राम मन्दिर निर्माणबाट दुवै धर्मावलम्बीहरू नजिकिएको देखिएको छ । भगवान रामका मुसलमान भक्तहरूमा पनि मन्दिर निर्माणप्रति उत्साह छ ।
फैज खान नाम गरेका भक्तले छत्तीसगढबाट मन्दिर निर्माणका लागि इँटा ल्याएका छन् भने तीन अन्य मुसलमानहरू अगस्ट ५ मा हुने भूमिपूजनमा सहभागी हुनेछन् ।
मुसलमानहरू रामलाई इमाम–ए–हिन्द र अनेकौं राजपूतहरूका पूर्वज मान्छन् । रामभक्तहरूले नै पछि इस्लाम कबुलेका हुन् । फैजाबादमा बस्ने जमशेद खानले भने, ‘हामीले इस्लाम अपनायौं र इस्लामिक प्रार्थना गर्छौं तर धर्म परिवर्तन गर्दैैमा हाम्रा पूर्वजहरू बदलिँदैनन् । राम हाम्रा पूर्वज थिए र हामी हिन्दूहरूसँगै मन्दिर निर्माणको उत्सव मनाउँछौं ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट ५ मा अयोध्यामा आयोजन गरिने शिलान्यास तथा भूमिपूजन समारोहमा उपस्थित हुँदैछन् । समारोहमा १५० जना आमन्त्रित गरी २०० जना मानिस सहभागी हुनेछन् ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष नृत्यगोपाल दासका उत्तराधिकारी हमन्त कमलनयन दासले भने, ‘प्रधानमन्त्रीले गर्ने शिलान्यासको समय हिन्दू पात्रो अनुसार निश्चित गरिएको हो । अगस्ट ५ मा सबभन्दा शुभ समय १२ः१५ हो ।’
भूमिपूजनका लागि वैदिक अनुष्ठानको आरम्भ अगस्ट ३ मा भगवान गणेशको विशेष पूजाबाट हुनेछ । त्यसको भोलिपल्ट पुजारी रामाचार्यले पूजा गर्नेछन् अनि अगस्ट ५ मा पुनः भूमिपूजन गरिनेछ र त्यसमा प्रधानमन्त्री सहभागी हुनेछन् ।



